Monday, October 10, 2016

‘यसकारण दसैं मगरको मौलिक पर्व हुँदै होइन’ - एमएस थापा मगर


MS  Thapa Magar
मगर समाजमा दशैं र तिहार मनाउने चलन कहिलेबाट सुरु भयो ? यसको ऐतिहासिक महत्व र कारण के हो ? यस सम्बन्धमा वास्तविक खोजी नगरी पुर्खाले मान्दै आएको भनी सबै मगरहरुले आँखा चिम्ली मान्दै आएको बुझिन्छ ।

रामायण र दशैं
हिन्दू साहित्य ‘रामायण’ को कथनअनुसार अयोध्याको रामले लङ्काका राक्षस राजा रावणलाई दशौं दिनमा हराई लंका विजय गरी अयोध्यामा राम फर्केको खुसियालीमा दशैं अर्थात् विजया दशमी मनाएको भनी मगरहरुमा हिन्दु बाहुनहरुले प्रचार गरेको बुझिन्छ ।

दशैंमा पशुबली र त्यस जीवको रगतमा हात चोपली पाँच औंला छाप घरको भित्तामा लगाउन शासकहरुले आदेश दिएअनुसार राजाका कर्मचारी घरगाउँमा जाँच्न आउँदा जसको घरमा रगतको पाँच औंलाको छाप देखिन्थ्यो, उसले राजाज्ञा मानी काटमार गरेको ठहरी स्याबासी पाउने प्रचलन थियो । आजकल पनि मगरहरुले दशैंमा सुँगुर काटी त्यसको रगतमा हात चोपली घरको भित्तामा छाप हान्ने चलन हटेको छैन ।
वास्तवमा ऐतिहासिक दृष्टिले हेर्ने हो भने आर्यहरुको अनार्य भारतीयहरुमाथि विजयको रुपमा रामायणको कथा लेखिएको स्पष्ट हुन्छ । अर्थात् इरानबाट भारत बसाइँ सरेका आर्यहरुको पुरानो भारतीय बासिन्दा भील, द्रविड, गौड र कोलहरुका बीचको लडाइँको कथा रामायणको कथा हो । ऋग्वेदको पात्र इन्द्र र वृत्रको कथालाई रामायणमा इन्द्रलाई राम र वृत्र (अनार्य) लाई रावणको नाम दिई लेखिएको कथा रामायण हो भनिएको छ (The study of caste, P.L. Narsu, page 34) ।
अर्कोतर्फ रामायणको कथालाई भारतका महान् शासक अशोक (ई.पु.३७२–३३२ को कथा हो, अशोकको छोरा कुणालको श्रीमती कञ्चनमालालाई सीताको नाउँ लिई लेखिएको कथा हो र यसमा बौद्ध जातक कथाहरु (जातक संख्या ४६१) मिसाएर लेखिएको हो भनेको पाइन्छ (बैद्धिक मतका सुख मर्दन, पृष्ठ ११) ।
उपरोक्त उदाहरणबाट के स्पष्ट हुन्छ भने रामायणको कथा वास्तविकतामा आधारित नभई अधिकांश काल्पनिक कथा वा एउटा कथाको काल्पनिक, कथ्यौरी मात्र हो । भारतमा १६ औं शताब्दीभन्दा अघि राम मन्दिर बनेको वा रामलाई ईश्वरको रुपमा पूजा गरेको पाइँदैन । सन् १५५४ वा १५३२ मा जन्मेका तुल्सीदासको इष्टदेव रामको महिमालाई ईश्वरतुल्य बनाई तुल्सीदासको रामायण लेखेपछि मात्र रामलाई ईश्वरको अवतारको रुपमा मानिने वा पूजा गरिने चलन भारतमा चलेको हो (नवभारत टाइम्स, ४ जनावरी १९९०) । कालान्तरमा आएर रामायणको कथामा देश, काल, परिस्थितिअनुसार विभिन्न अन्धविश्वास, परम्परा र प्रचलन थपिँदै गएर आज विकृत रुपमा रामायणको कथा हाम्रो सामु छ । पहिले पहिले दशैंमा मार हान्ने दिनमा बाहुनहरु मगरको घरमा आई मालश्री गाउने गर्थे तर पछि तिनीहरुले छोडी स्वयं मगरहरुले गाउन सुरु गरे । यस्ता कुराहरु लेख्दै जाने हो भने धेरै छन् ।
मगर र दशैं

नेपालमा मगर जातिहरुको इतिहास हेर्दा मगरहरु सुरुमा हिन्दु चाडपर्व मान्ने जाति थिएनन् । तेह्रौं शताब्दीमा मुसलमानहरुको भारत प्रवेशपछि नेपाल पसेका शरणार्थी बाहुनहरुको चपेटामा सबैभन्दा पहिले यहाँका खसहरु (बाहुनबाट खसेको क्षेत्री होइन) थारुहरु र मगरहरु परेका हुन् । मध्य–नेपाल हालको गण्डक–लुम्बिनी, गण्डकको, धौलागिरी क्षेत्रमा बाहुनहरुले प्रवेश गर्दा सर्वप्रथम यस क्षेत्रका मगर राजाहरु र मगर मुखियाहरुलाई प्रभावित पारी हिन्दू क्षेत्री बनाए । फलस्वरुप आज अमरसिंह थापा, भीमसेन थापाहरु थापा क्षेत्री भनी बाहुनहरुले लेखेको इतिहासमा पढ्न पाइन्छ । वास्तवमा यिनीहरु मगर हुन् (Gurkhas, Vansitart, पृष्ठ ६१) ।

पाल्पाका मुकुन्द सेन मगर नै हुन् (Nepal, Daniel Right, पृष्ठ १०२) । यहाँसम्म कि गोरखाको राजालाई पनि मगर हो भनी प्रस्ट उल्लेख गरेको पाइन्छ (हिमपत साँस्कृतिक, वि.सं २०१६, पृष्ठ ९) । जेहोस्, बाहुनहरुको हिन्दुकरणको अभियानबाट सबैभन्दा बढी मगरहरु प्रभावित भएका छन् ।
नेपालमा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेपछि मात्र खस भाषाको विकास भएको देखिन्छ । पृथ्वीनारायण शाहको समयदेखि नै नेपालमा हिन्दुवादको विस्तार भएको मात्र भएको होइन, यहाँका आदिवासी जनजातिहरुका संस्कृति तथा चाडपर्वलाई पनि विकृत पार्ने काम भयो र कतिपय चाड मनाउन बाध्य पारियो । भानुभक्त आचार्यले रामायणलाई खस भाषामा लेखी नेपालमा प्रचार गरेपछि रामायण वा रामको विजयादशमी मनाउने चलन अझ व्यापक भएको पाइन्छ ।
प्राचीन भारतमा देउतालाई खुशी पार्न फलफूलले पूजा गरिन्थ्यो भने पछि बसाइँ सरी भारत र त्यसपछि नेपालमा प्रवेश गर्ने हिन्दूहरुले देउतालाई खुशी पार्न जीवजन्तुको बली चढाएर “होम” गर्ने चलन थियो । त्यसप्रकार पूजा प्रथा अनार्य र होम प्रथा आर्य हिन्दूहरुको प्रचलन हो (Kirat Janakriti, Suniti Kumar Chaterjee) ।
प्राचीन भाषामा “फाइलो” भनेको हामीले बचायौं भनेको हो । “देउसी” भनेको धमात्मा पुजारी र “रे” भनेको राजा हो । कालान्तरमा यो प्राचीन मगर भाषा “फाइलो” बिग्रँदै गई “भइलो” भएको इमानसिं चेम्जोङले लेखेका छन् ।
नेपालमा हिंसापूर्ण बली प्रथा प्रचलनमा ल्याउन दशैं चाडको सुरुवात गरिएको हो । दशैंमा पशुबली र त्यस जीवको रगतमा हात चोपली पाँच औंला छाप घरको भित्तामा लगाउन शासकहरुले आदेश दिएअनुसार पछि राजाका कर्मचारी घर गाउँमा जाँच्न आउँदा जसको घरमा रगतको पाँच औंलाको छाप देखिन्थ्यो, उसले राजाज्ञा मानी काटमार गरेको ठहरी स्याबासी पाउने प्रचलन थियो । आजकल पनि मगरहरुले दशैंमा सुँगुर काटी त्यसको रगतमा हात चोपली घरको भित्तामा छाप हान्ने चलन हटेको छैन ।
पहिले पहिले दशैंमा मार हान्ने दिनमा बाहुनहरु मगरको घरमा आई मालश्री गाउने गर्थे तर पछि तिनीहरुले छोडी स्वयं मगरहरुले गाउन सुरु गरे । यस्ता कुराहरु लेख्दै जाने हो भने धेरै छन् । यहाँ छोटकरीमा भन्न खोजिएको के हो भने दशैं चाड मगरहरुको पर्व होइन र यसलाई नमानेमा कुनै मगर नक पस्दैन । मगर जातिको पूर्व इतिहास, परम्परा र संस्कृतिसँग दशैं पर्वको कुनै सम्बन्ध छैन ।
मगर र तिहार
तिहार (त्योहार, दीपावली) पर्व सम्बन्धमा भने अझै अनुसन्धान गर्न बाँकी छ । किराँतीहरुको मुन्धुममा तिहार मगरहरुले चलाएको चाड हो भन्ने उल्लेख गरिएको छ । श्री इमानसिंह चेम्जोङले लेख्नुभएको History and Culture of the Kirat People नामक पुस्तकको पृष्ठ ७७–८१ मा किराँतहरुको मुन्धुममा दीपावलीसम्बन्धी कथा उल्लेख छ । त्यसलाई यहाँ छोटकरीमा उल्लेख गरिएको छ :
“प्राचीन नेपालमा हालको पोखरादेखि गोरखपुरसम्मको राज्य बलिहाङ नामको राजा थिए । उनी धर्मात्मा र भविष्यसम्बन्धी जान्ने पुजारी पनि थिए । उनलाई प्रजाले ज्यादै माया गर्थे ।
“बलिहाङ राजाले आफू अब मर्ने कुरा थाहा पाई यो कुरा प्रजालाई भनिदिए । आफ्नो प्यारो राजा छिटै मर्ने भए भनी प्रजाले साह्रै पीर मानी बाँच्ने उपाय के छ भनी प्रजाहरुले राजालाई सोध्दा ‘मंसिर महिनाको पूर्णिमाको अन्त्य र औंसीको सुरुवातमा म मर्ने भएकोले त्यस दिन राती यमदूतले लिन आउँछ । यमदूत आउँदा सबैले रोइकराइ बिन्ती गरी बत्ती बाली मेरा प्राण माग्नू । यमदूत खुशी भएमा मलाई प्राणदान दिई बचाउनेछ’ भनेकोले सोही दिन राती सबै प्रजाले आआफ्नो घरमा बत्ती बाली नुहाई चोखो भई जागा बसे ।
“राजाले भनेको समयमा यमदूत आउँदा सबै प्रजाले रोइकराइ राजाको प्राणदान माग्दा यमदूत खुशी भई राजालाई प्राणदान दिई फिर्ता भएकोले सो दिनको सम्झनाको खुशीयालीमा मगर प्रजाहरुले घरमा बत्ती बाली नाच्दै गाउँदै हिँडेका थिए ।”
प्राचीन भाषामा “फाइलो” भनेको हामीले बचायौं भनेको हो । “देउसी” भनेको धमात्मा पुजारी र “रे” भनेको राजा हो । कालान्तरमा यो प्राचीन मगर भाषा “फाइलो” बिग्रँदै गई “भइलो” भएको भनी चेम्जोङको उक्त किताबमा उल्लेख भएको छ ।
वास्तवमा आज पनि देउसी र भैलो खेल्दा हामी त्यसै आएका होइनौं बलिराजाले पठाएको भनी तिहारमा भट्याउने चलन छ । तर यस पर्वलाई पनि कौवा पूजा, कुकुर पुजा, पशु मार्ने प्रथा चलाई गाईको तिहार भनी बाहुनहरुले विकृत पारेको बुझिन्छ । त्यसैमा उल्टै जुवा, तास खेल्ने प्रचलन घुसाएको बुझिन्छ ।
माथि उल्लेखित कथामा कत्तिको सत्यता छ त्यसबारे अध्ययन र अनुसन्धानको खाँचो छ । तापनि तिहारमा मगर राजा बलिहाङ (हाङ भनेको किराँत भाषामा राजा, राज्य आदि हुन्छ) को उल्लेख भएकोले धेरैजसो सत्यताको नजिक देखिन्छ ।
साभारः मगर जागरण, वर्ष २, अङ्क २
(संस्कृतिविद तथा राजनीतिकर्मी थापा पूर्वमन्त्री हुन ।)

http://opedpost.com बाट साभार 

दसैं हिन्दुको होइन मगरकै हो, होइन भन्ने को ? - ज्ञानेन्द्र पुन मगर, सचिव, नेपाल मगर संघ


Gyanendra Pun
अनुसन्धान कर्ताहरुको अनुसन्धान प्रतिवेदन अनुसार दशैँ मगरहरुको प्रचिन पर्व थियो। आदिम, प्राचिनकाल देखि नै नेपालका आदिवासी मगरहरुले दशैँ पर्वलाइ मौलिक र परम्परागत ढंगले मनाउदै आएको थिए । मगरहरु प्राकृतिक पुजक नै हुन, मगर समुदाय रुख, ढुंगा, माटो र पानीको मुहानलाई पूजा गर्ने र त्यहि जल, जमिन र जंगलमा आश्रित रहेको समुदाय हो । प्राचिन पर्वको रुपमा रहेको दशैँमा मगरहरुले आफ्नो पितृहरुलाई पूजा गर्ने, कुलकुलानको पूजा गर्ने, मान्यजन र अग्रजहरुबाट सेतो टिका र पहेलो जमरा लगाइ आशिर्वाद लिदै आफ्नै मौलिक परम्परा मनाउने प्रचन रहेको पाइन्छ । हामी मगरहरु प्रकृति पूजक नै हौ, नेपालमा आज भन्दा २५५९ बर्ष पहिले गौतम बुद्धको जन्म र उहाको बुद्ध दर्शन प्रतिपादन पश्चात हामीहरु बौद्ध मार्गी बन्न पुगेउ।

नेपालमा धेरै बर्ष पछि (१२ औ सताब्दी तिर) आर्यहरुको प्रवेस भयो र उनीहरुसंगै हिन्दु धर्मको पनि प्रवेस भयो। क्रमश हिन्दुधर्मलाई सबैको बिचमा लोकप्रिय बनाउन यहाका मगरहरुले मान्दै आएको विभिन्न चाड, पर्व र परम्पराहरुलाई हिन्दुकरण गर्न कै लागि हिन्दुग्रन्थ बमोजीम हस्तक्षेपपूर्ण ढंगले ब्याख्या र विश्लेषण सहितको दस्तावेज बनाइयो र कालान्तरणमा गएर नेपालको तथाकथित एकीकरण पश्चात मगरहरुको प्रचित मौलिक पर्व दशैँलाई हिन्दुकारण सहितको ब्याख्या सहित राज्यको प्रमुख पर्व बनाई राष्ट्रियकरण गरियो। र अहिले हिन्दुहरुको प्रमुख चाड भन्ने सबैमा प्रभाव पारियो । किन कि नेपालको तथाकथित एकीकरण पश्चात अहिलेसम्म प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राज्यको सबै चावी आर्यहरु कै कब्जा मा नै छ उनीहरु जे चाहन्छन सोहि अनुसार राज्य सरकारको नीति नियम बनाइन्छ र भैरहेको छ।
त्यसकारण तथ्य अनुसार दशैँ मगरहरुको प्राचिन मौलिक पर्व (चाड) नै हो अहिले दशैँको खास मौलिकतालाई तोडमोड गरेर आर्यले अर्को समुदाय प्रति बिजय प्राप्त गरेको खुशियालीमा यो पर्व मनाउने भनेर पुरै हिन्दुकारण गरे गलत ब्याख्या चलाइयो । अहिले हामी सबैलाई दशैँ हिन्दुहरुको पर्व हो भन्ने प्रभाव परेको छ। मगर पुजारी बिना विभिन्न शक्तिपिठहरुको दशैँ पूजा रोकिन्छ। १२ मगरात क्षेत्र र १८ मगरात क्षेत्रको अधिक कोत वा दशैँको पूजा-आज्ञा गर्ने स्थानहरुमा मगर नै प्रमुख व्यक्तिको रुपमा भूमिका खेल्दै आइरहेको आहिले सम्म प्रचलन छ। सामान्य उदहारणका लागि स्यांग्जाको आलाम्देबी कोतमा, गोरखाको मनकामनामा, तनहुको भिरकोटमा, गुल्मीको मुशिकोट, खर्गकोट, इस्माकोट लगायतको स्थानमा मगरनै प्रमुख छन्। यस तथ्यबाट पनि के बुझ्न सकिन्छ भने दशैँ मगरहरुको प्राचिन पर्व हो हिन्दुको होइन भनेर।
मगरहरुले हिन्दुहरुको चाड-पर्व मान्ने पर्छ भन्ने हुदैन तर मगरको पर्व दशैलाई अपहरण गरेर हिन्दुहरुबाट हिन्दुकरण गरियो यो तीतो सत्य नै हो ।

सचिव, नेपाल मगर संघ 
http://opedpost.com बाट साभार 

यसकारण दशैँ परित्याग - डा. कृष्ण भट्टचन





आफ्नो चाडपर्वलाई चाहिँ निमिट्यान्न हुन नदिऊँ, र दशैं जस्तो चाडले जनजाति चाडहरूलाई सिध्याएको हुनाले सके बहिष्कार गरौं, नसके परित्याग गरौं त्यति पनि नभए आफ्नो चाडपर्व चाहिँ धुमधामले मनाऔं भन्ने कुरामा जनजाति आन्दोलन विगतका वर्षहरूदेखि निर्देशित देखिन्छ ।
दशैं धनी हिन्दूलाई खासा, गरिब हिन्दूलाई दशा र जनजातिलाई दुर्दशाको चाड हो । नेपालमा गएको दुई सय वर्षको अवधिमा हिन्दू धर्म संस्कृति र मूल्यमान्यता वा बाहुनवादको एकाधिकार रह्यो, राइदाइ र दलनमलन रह्यो । राज्यले नै हिन्दू धर्मको पक्ष लिएर हिन्दू अधिराज्य घोषणा गरेपछि देश धर्म निरपेक्ष हुनुभन्दा अघिसम्म हिन्दू धर्म र संस्कृतिलाई काखी च्याप्ने र बाँकीलाई पाखामा पार्ने वा बहिष्करणमा पार्ने नीति लिइयो । यसैलाई वाहुनवाद भनिएको हो । मैले यसको विरोध गर्ने गरेको हुँ । दशैं त्यसको रुप मात्र हो ।
नेपालमा सरकारले नै कानुनी रुपमा स्वीकार गरेका ५९ आदिवासी जनजाति छन् । त्यो बाहेक सूचीकरण हुन बाँकी अरु पनि छन् । आदिवासी जनजाति बाहेक मुस्लिम, सिख, बंगाली वा अरु धर्मावलम्बीहरू पनि छन् । यस्तो बहुधार्मिक बहुसांस्कृतिक बहुजातीय समाजमा एउटै धर्मको मूल्यमान्यता भएको दशैंको लागि मात्रै पहिले एक महिना सरकारी विदा हुन्थ्यो । एउटा धर्म संस्कृतिको चाडपर्वलाई चाहिँ राज्यले एकदम धुमधाम पूर्वक विदा दिने, अरु हिन्दू चाडपर्वमा पनि विदा दिने, अन्य आदिवासी जातजातिको धर्मसंस्कृतिको कुरा आयो भने चाहिँ राज्यले कुनै पनि लगानी नगर्ने, सहयोग पनि नगर्ने बरु त्यसलाई थिचोमिचो गरेर निमिट्यान्न गर्न खोज्ने ! सबैले दशैं चाहिँ मानिदिनुपर्ने, अनि दशैं मान्नेहरूले चाहिँ दशैं नमान्नेहरूको चाड चाहिँ मान्नु नपर्ने ! यस्तो विभेद र अन्याय रहिआयो । रोटी त एकोहोरो पाक्दैन । डढ्छ । नेपालमा दशैंले रोटी नै डढाइसकेको हुनाले विरोध गरिएको हो । बराबरी भए कसले विरोध गर्छ ?
धर्म निरपेक्ष राज्यमा सो राज्यले कुनै पनि धर्मको पक्ष लिनुहुँदैन, तर अहिले पनि हिन्दूअधिराज्य हुँदा जे थियो त्यसैको निरन्तरता छ । अलिकति परिवर्तन के भयो भने जनजातिको मौलिक चाडपर्वहरूमा विदा दिइएको छ । तामाङ, गुरुङको ल्होसार, किरातीहरूको उभौली उधौलीमा र मुसलमान तथा इसाईहरूको चाडमा पनि विदा दिइएको छ, यद्यपि यो बाहेक सबै जातिहरूलाई विदा दिइएको भने छैन । थकालीहरूको महान चाड तोरन–लमा विदा हुँदैन । मेरो छोराछोरी स्कुल कलेज पढ्ने बेलामा चाड मान्न घर आउन सक्दैनन् । आफ्नो चाडपर्वको बेला पनि बाहिरै बस्नुपर्छ । घर आए पढाइ छुट्छ, छुटेको पढाइको क्षतिपूर्ति छैन । यो विभेद हो ।
छोराछोरी दशैं किन महान चाड हो भनेर ब्याख्या गर्नुपर्ने गृहकार्य लिएर आउँछन् । अनि त्यसको बारेमा लेख्नुपर्छ । दशैं मेरो चाड होइन मलाई दशैंको बारे थाहा छैन, म तोरन–लको बारेमा लेख्छु भनेर धर पाइने होइन । आफ्नो चाडको बारेमा लेख्दा प्राप्ताङ्क आउने कुरै छैन । यो बराबरी न्याय भएन । विदा दिने भए सबैलाई बराबर दिनुप¥यो, अरु जातिलाई पनि दशैंमा जस्तै लामो विदा । वर्षभरिको विदाले ३ सय ६५ दिन नै नाघोस्, दिनुप¥यो । बराबरी र न्याय त सबै जनतालाई हुनुप¥यो नि । त्यसो होइन भने एउटा समुदायले उसको धार्मिक र संस्कृतिक चाडमा कति विदा दिइनुपर्छ भनेर विवेकपूर्ण निर्णय गर्न सकिन्छ । विदा कम भन्दा कम हुनु राम्रो हो । उत्पादनशील काममा लगाउनु पर्ने समय भोजभतेर र मस्तीमा लगाएर कुनै पनि व्यक्ति, समाज र राष्ट्र उँभो लाग्न सक्दैन, तर पनि चाड मान्न मान्छेलाई विदा चाहिन्छ । त्यसको लागि न्यायसंगत रुपमा विदाको निर्धारण गरिनुपर्दछ । विदा तोकिसकेपछि जुनजुन धर्मावलम्बीले जुन बेला आवश्यक हुन्छ त्यो बेला त्यो विदा उपयोग गर्न सक्ने गरी दिइनुपर्दछ । किरातहरूले उधौली र उभौली दुईपटक उपयोग गर्लान् । हिन्दूहरूले दशैं वा अरु चाडपर्वमा गर्लान् । गुरुङ, तामाङ, शेर्पाहरूले ल्होसारको बेला गर्लान् । थकालीहरूले तोरन–ल को बेला गर्लान् । मुसलमानहरूले इदुल फित्रको बेला गर्लान् । इसाइहरूले क्रिसमसको बेला गर्लान् । त्यो किसिमको समानता भयो भने सबैलाई न्याय हुन्छ । हिन्दूहरूको चाडमा चाहिँ विदाका ठेली दिने, राष्ट्रपति र राष्ट्रका पदाधिकारी त्यसैको पछाडि दौडने अनि देशका जनजातिको चाडलाई बेवास्ता गर्ने हो भने त त्यो त विभेदको पराकाष्ठाको निरन्तरता हो । यस्तो हुनुहुँदैन । न्यायको प्रत्याभूति भयो भने कसैले कसैको विरोध गर्दैन ।
दशैंको विरोध गरिनुमा यो चाडलाई जबर्जस्ती लादिएको पनि कारण हो । यो चाड गैरहिन्दूलाई जबर्जस्ती मान्न बाध्य पारिएको हो । राणाशासनकालमा घर–घरमा रगतको पञ्जाछाप लगाउनुपर्ने उर्दी थियो । शक्तिको पूजा वा हातहतियारको पूजा गर्ने बेलामा बलि दिनुपर्ने भयो । आदिवासी जनजातिहरूले दशैं माने कि मानेनन् भन्ने सूचक चाहिँ त्यो हातहतियारको पूजा ग¥यो कि गरेन वा घरमा पञ्जाछाप लगायो कि लगाएन भन्नेबाट राज्यलाई प्रष्ट पार्नुपर्ने भयो । त्यसो गर्दा राज्य खुशी हुने भयो । राज्यलाई खुशी पार्न त्यतिबेला जनजातिहरूको लागि आफ्नो धर्म, संस्कृति राज्यको सामु ध्वस्त पारेर देखाउनु पथ्र्यो । हिन्दू धर्म संस्कृतिमा त्वम शरणम् गर्नुपथ्र्यो, तर यो उनीहरूको रहर थिएन, राज्यको बाध्यकारी नियम थियो । त्यसो नगरे राज्यले गैरहिन्दूलाई कार्वाही वा मारिदिन पनि सक्थ्यो । दशैं माने नमानेको राज्यबाट अनुगमन हुन्थ्यो । यद्यपि जनजातिहरू बलि दिएको जनावरको रगत अरुको घरबाट सापटी लिएर घर बाहिर पञ्जाछाप चाहिँ लगाएर राज्यलाई देखाइदिने अनि घर भित्र चाहिँ आफ्नो चाडपर्वको बारेमा चिन्तन गर्ने गर्दथे । यसरी जबर्जस्ती लादिएको चाडको विरोध किन नगर्ने ?
अहिले पनि दशैंको बेलामा लामो समय सरकारी कार्यालयहरू विदा हुन्छन् । विद्यालय र क्याम्पसहरूमा लामो विदा हुन्छ । विदा भएपछि चाड नमान्नेहरू पनि मानेजस्तै देखियो । सप्तमी लागेपछि बजार बन्द हुन थाल्छ । सरकारी कार्यालयहरू पनि बन्द हुन्छन् । यातायात पनि चल्दैन । दशैं नमान्नेको लागि घरमा खानु र बस्नुको अर्को उपाय छैन । यो एकप्रकारको दशैं मान्न बाध्य पारिएको जस्तै नै हो । अहिले चाहिँ मानिसहरूको चेतनामा बदलाव आएको छ । पहिले मगरहरू ९८ प्रतिशत हिन्दू धर्म लेखाउँथे । मगर संघले अभियान नै चलाएर हिन्दू पुरोहितलाई बहिष्कार गरेर अहिले उनीहरू आफ्नै पुरोहितलाई मान्न थालेका छन् ।

दशैं बहिष्कारको अर्थ थाप्लामा थोपरिएको चाडलाई मिल्काउन खोजिएको हो । कतिले बहिष्कार नभनेर परित्याग गर्ने भन्ने कुरा गर्ने गर्छन् । कतिले परित्याग पनि किन गर्ने ? आफ्नो चाड धुमधामले मनाऊँ, अरुको चाड उनीहरूले नै मनाउन् भन्ने पनि छ । यी दृष्टिकोणका विविधता मात्र हुन् । मूल मुद्दा चाहिँ के हो भने आफ्नो चाडपर्वलाई चाहिँ निमिट्यान्न हुन नदिऊँ, र दशैं जस्तो चाडले जनजाति चाडहरूलाई सिध्याएको हुनाले सके बहिष्कार गरौं, नसके परित्याग गरौं त्यति पनि नभए आफ्नो चाडपर्व चाहिँ धुमधामले मनाऔं भन्ने कुरामा जनजाति आन्दोलन विगतका वर्षहरूदेखि निर्देशित देखिन्छ ।
सुरुमा तमुहरूले ल्होसार मनाउने बेलामा टुँडिखेलमा २० जना पनि हुँदैनथे । अहिले गाउँ–गाउँमा त्यो दिनमा चाहिँ उल्लासमय रुपमा घर बाहिर निस्केर मनाउन थालेका छन् । जनजातिहरूमध्ये मगरहरूले सबैभन्दा बढी दशैं मान्थे । केही समययता भूमि पूजा मनाउन थालेपछि अहिले हेर्ने हो भने भूमि पूजाको दिन माघमा धेरै मगरहरू जम्मा भएर सो पर्व मनाउन थालेका छन् । आदिवासी जनजातिले चाहिँ हिन्दूको चाड मनाइदिनुपर्ने ! आफ्नो चाहिँ राज्यबाट सहयोग नपाई निमिट्यान्न भएको टुलुटुलु हेर्नुपर्ने ? आदिवासी जनजातिको चाड पनि हिन्दूहरूले उत्तिकै भव्य रुपमा मनाइदिने, उत्तिकै समान हैसियतमा विदा र सेवा सुविधा हुने हो भने त एकअर्काको सद्भावको लागि दुवैले दुवैको चाड मान्न सक्छन्, तर देशमा त्यस्तो परिस्थिति कहाँ छ र ? हामीले हिन्दू धर्म मानिदिँदा के फरक पर्छ त भन्ने हो भने आफ्नो धर्म संस्कृति बिलाउने भो । अर्काको हाबी हुने भो भने आफ्नो चाहिँ सिद्धिने भो । किनभने बच्चाहरूले आफ्ना बाबुबाजे वा आफूभन्दा ठूलाले कुन चाहिँ चाड मान्छन् भनेर हेर्छन्, र सिक्छन् । हिन्दूको चाड मान्दा उनीहरूमा सो चाडकै गहिरो छाप पर्ने भो । आफ्नो चाडमा भन्दा अरुको चाडको भव्यता देख्दाखेरि बच्चाहरूमा पनि हिन्दू चाडमा बढी लगाव हुने भो । आफ्नो चाड धुमधामले मनायो भने आफ्नो चाडमा लगाव हुन छोड्छ । अहिले मेरो छोराछोरीहरूलाई दशैं जस्तो अरुको चाडमा कुनै लगाव छैन । किनभने हामी दशैं मान्दैनौं । तोरन–ल मात्रै मान्छौं । मेरो परिवारमा दशैं आउनु र कागलाई बेल पाक्नु एउटै कुरा हो ।
दशैंको सन्दर्भमा कतिपय जनजातिहरूमा पनि समस्या छ । राज्यको पकडमा भएकाहरू हिन्दूकरणमा पर्दा चाहिँ दशैं हाम्रो हो भन्न सुरु गरेको उदाहरणहरू छन् । स्वामी प्रपन्नाचार्य जस्ताले हामी आर्य हौं भन्ने गर्दछन् । उनी हिन्दू संस्कृति हाम्रो हो भन्दै पनि हिँड्छन् । जनजातिहरू जो शासकको नजिक परे वा हिन्दूकरणमा परे उनीहरूले यसलाई सहज रुपमा लिए । उनीहरूले आफ्नो धर्म र संस्कृतिहरू आफैले सिध्याउने काम गरे । जो चाहिँ राज्यबाट अलगथलग रहे, उनीहरूमा दशैंको प्रभाव उति छैन । मुस्लिमहरूको आक्रमणबाट ११ औं देखि १४ औं शताब्दीसम्ममा सबैभन्दा ठूलो जनसंख्या ब्राह्मण क्षेत्री हिन्दूहरू नेपाल आएका हुन् । त्यसबेला सबैभन्दा पहिले मगरातहरूसँग उनीहरूको टक्कर प¥यो । अहिले पनि बाहुनहरूको बाक्लो बस्ती मगरातमा छ । त्यसले कालान्तरमा मगरहरूसँग हिन्दूहरूको बढी सम्बन्ध रहन गयो । हिन्दू क्षेत्री बाहुनहरू छलछाम गर्न जान्ने, आदिवासीहरू इमान्दार र सोझा हुनाले पनि समस्या आयो । क्षेत्री बाहुनहरू बाठो मात्र होइन शासन गर्ने, राज्यसत्तामा वा राजनीतिमा बढी चासो भएकाहरू थिए किनभने उनीहरू अफगानिस्तान, पर्सिया देखि सिन्धुघाँटी भएर उत्तर भारतमा आइपुग्दासम्ममा त ठाउँठाउँको आदिवासीहरूलाई नियन्त्रण गर्दै, लडाइँ गर्दै आफ्नो प्रभुत्व स्थापित गर्दै आइपुगेका थिए । उनीहरू नेपालमा छिरिसकेपछि उनीहरूको बठ्याइँ उत्कर्षमा पुग्यो । यसै बेला मगरहरू बढी हिन्दू बनाइए । मगरात पछि तमुवान सुरु हुने हुँदा गुरुङ जातिमा बढी हिन्दूकरण भयो । अनि काठमाडौं उपत्यकाका नेवारहरूमा पनि हिन्दू शासकहरूको चलखेलको अखडा नै बन्यो । जब पूर्वी नेपालको कुरा आउँछ, हिन्दूकरण पातलिँदै जान्छ । शहरी क्षेत्र र प्रशासनिक क्षेत्रहरूमा रहेका तामाङहरू मात्रै बढी हिन्दूकरणमा परे, तर तामाङहरू बढी गाउँ–गाउँमा बस्ने हुनाले आनुपातिक रुपमा हिन्दूकरणले उनीहरूलाई असर परेन । त्यो भन्दा उता सुनुवार, राई र लिम्बूसम्म पुग्दा हिन्दूकरण त्यति व्याप्त भएको देखिँदैन । त्यसैले दशैं बहिष्कार, परित्याग वा आफ्नो चाड बढी मान्नुपर्छ भन्ने आन्दोलन चाहिँ लिम्बूहरूमा सबैभन्दा धेरै, अनि राईहरूमा अनि सुनुवार र त्यसपछि तामाङहरूमा हुँदै फेरि गुरुङ मगरहरूमा पातलिदै आएको छ, तर दशैं बहिष्कार, परित्याग, आफ्नो चाड धुमधामसँग मनाउने भन्ने आन्दोलन ०४६ पछि जातीय चेतना बढ्दै गएको कारणले अधिकारका सवाल र दाबीहरू बढ्दै गएपछि सघन हुँदै गएको हो । दशैं बहिष्कार वा परित्यागको आन्दोलन लिम्बुवानबाट मगरातसम्म पुग्दा अहिले मगर र गुरुङहरूमा पनि आफ्नो चाड मनाउने प्रवृत्ति ह्वात्तै बढेर गएको, र दशैं मनाउनेहरूको संख्या त्यसरी नै ह्वात्तै घटेर गएको छ । थकालीहरू हिन्दू शासकहरूको बढी नजिक रहेको हुनाले राणाहरूको पालामा उनीहरूलाई जनै नै लगाउन दिइएको थियो । उनीहरूलाई ठकुरी भनिएको थियो । कति थकालीहरू त अहिले पनि आफू ठकुरी नै हो भन्ने भ्रममा छन् । उनीहरू धुमधामले दशैं पनि मनाउने गर्दथे, तर अहिले खस नेपालीमा गौचन, शेरचन, तुलाचन, भट्टचन भनिने च्युकी, साल्की, धिम्चन, भुर्की सबै थकालीहरूले दशैं नमान्ने र तोरन–ल मान्ने निर्णय गरिसकेका छन् ।
दशैंको प्रसंगमा रामले रावणमाथि विजय गरेको कथा छ, तर रामायणको कुरा त पूरै काल्पनिक कथा हो । काल्पनिक कथामा प्रस्तुत गरिएको रावण पात्र जो हो, त्यो त आदिवासीहरूको कथा हो । रामलाई खस हिन्दूहरूको प्रतिनिधिको रुपमा ल्याइएको छ । यो दुईटाको लडाइँ चाहिँ दक्षिण एशियामा छँदै थियो । यो दशैं आदिवासीहरूलाई हराएरै सुरु गरिएको हो । त्यसमा पनि कुनै शंका छैन । अझ आदिवासीहरूकै ठाउँमा आएर उनीहरूलाई नै विभिन्न जालझेल र षड्यन्त्र, लडाइँ, साम दाम दण्ड भेद प्रयोग गरेरै आफ्नो नियन्त्रणमा लिएका हुन् आप्रवासी हिन्दूहरूले । अमेरिकामा एउटा थ्याङक्स गिभिङ (धन्यवाद ज्ञापन) भन्ने चाड मनाइन्छ । त्यो धन्यवाद चाहिँ आदिवासीहरूलाई गोराहरूले दिएका हुन् । यो चाडको खास कुरा के छ भने कोलम्बस अमेरिकामा पुगेपछि युरोपेली गोराहरू त्यता जान थाले, तर जति जान्थे उति मर्न थाले । यसरी आप्रवासीहरू मर्न थालेपछि त्यहाँका आदिवासीहरूलाई माया लागेर खेतीपाती कसरी गर्ने, रोगब्याधीबाट कसरी बच्ने, के खाने, के गर्ने वा नगर्ने भन्ने विधि गोराहरूलाई सिकाए, र तिनीहरू अब बाँच्न सक्ने भए । बाँचिसकेपछि आफ्नो प्रभुत्व लाद्न र शासन गर्न गोराहरूले तिनैलाई बचाउने आदिवासीहरूलाई लाखौंको संख्यामा मारे । त्यसपछि तिनीहरूको जमिनमा आफ्नो प्रभुत्व सथापित गरेर आदिवासीहरूलाई चिडियाखानामा राखे जस्तो विभिन्न ठाउँमा छरपष्ट बनाएर सीमित गरि बसाएका छन्, अनि अहिले चाहिँ गोराहरूले आफूलाई बचाएकोमा धन्यवाद दिएको रे ! उसैले बचाउने उसैलाई मार्ने अनि धन्यवाद ? यस्तो चाड त्यहाँको आदिवासीहरूले मान्छन् होला त ? दशैं नेपालका जनजातिहरूको लागि अमेरिकाको थ्याङ्क्स् गिभिङ चाड जस्तै हो ।
अर्को कुरा दशैंंमा राजनीति छ । त्यो के भने रावणको दशवटा टाउको, अनि बानर सेनाले गएर रामले बानरहरूको सहयोग लिएर युद्ध जितेको कथा वाहियात हो, र सीताकै कुरा पनि मान्छेले जन्माएको होइन, खेतमा फेला परेको भन्ने कुनै प्रमाणित कुरा होइन । महाभारतको कुरा पनि धेरै काल्पनिक हुन् । यस्ता काल्पनिक कुराहरू किन आउँछन् भने त्यसले समुदायको सदस्यहरूलाई जोडेर राख्छन् । जसले रामायणको विश्वास गर्छन्, उनीहरूलाई यसले एकठाउँमा जोड्छ । दक्षिण एशियामा खस आर्यहरू पाँच हजार वर्ष अगाडि आएका हुन् । दुई पक्षको बीचमा राजनीतिक, सामाजिक, सांस्कृतिक र धार्मिक प्रकारको द्वन्द्व त विगत पाँच हजार वर्षदेखि चलिआएको छ । त्यसको प्रतीक मध्येमा दशैं पनि एउटा भएको हुनाले गैरहिन्दू र हिन्दूहरूको बीचमा टकराव भइरहेको छ । धर्मनिरपेक्ष राज्य भइसके पछि पनि राज्यले पहिले हिन्दू अधिराज्य हुँदा दशैंमा जे गरिरहेको थियो त्यही गरिरहेको छ । एउटालाई काखा पार्दा अरु जातिका चाडपर्वहरू पाखा पार्ने काम जो भइरहेको छ, त्यसको विरोध नगर्ने प्रश्नै आउँदैन ।
अर्को कुरा दशैं धनी हिन्दूहरूको लागि मात्रै सुखदायी छ । दशैं मान्नेहरूलाई यसले एकठाउँमा जोड्छ । पुरानो पुस्ताले नयाँ पुस्तालाई आशीर्वाद दिन्छन् । यसले एकअर्कालाई बाँध्ने काम गर्छ । त्यसमा कतिले राजनीतिक आशिर्वाद पाउने र आर्थिक फाइदा लिने रुपमा पनि यो चाडको प्रतीक्षा गर्दछन्, तर के छ भने दशैं आयो कहाँ ऋण पाउँला र खाउँला जस्तो गरिबहरूको लागि बच्चालाई नयाँ लुगा किन्नैपर्ने, खसीको मासु खानैपर्ने र पाहुनाको सत्कार गर्नैपर्ने भएपछि गरिब हिन्दूहरूको लागि यो चाडले सुख ल्याउँदैन । हिन्दूहरू बढी गरिब छन्, कम धनी छन् त्यसैले बहुसंख्यक हिन्दूहरूको लागि पनि यो चाडले हर्ष ल्याउँदैन । अनावश्यक खर्च नगरिकन चाड मान्दा गरिबहरूलाई पनि यो राम्रो चाड हुन भने सक्छ । नयाँ लुगा र खसीको मासु नै किन चाहियो ? भेटघाट र आशीर्वाद मात्र लिने हो भने गरिब हिन्दूहरूको लागि पनि यो चाड राम्रो बन्न सक्छ ।
पञ्चायतको अन्त्यसम्म आइपुग्दा एउटा राजा एउटै देश, एउटै भाषा एउटा भेष भन्ने नारा उत्कर्षमा पुग्यो । धर्म माने पनि हिन्दूहरूको मात्रै मान्नुपर्ने, आदिवासी जनजाति वा मुस्लिम आदिको चाड मान्नै नहुने खालको नीति थियो । ०४७ सालको संविधानले नेपाल एउटा बहुसांस्कृतिक, बहुधार्मिक मुलुक हो भनेर स्वीकार गरिसकेपछि आदिवासी जनजातिहरूको चाडपर्वहरू मान्ने क्रम सुरु भयो । गैरहिन्दूहरूको चाड पनि स्वतः अगाडि आयो । नेपालमा बाहुनवाद पितृसत्ताबाट शोषण, दमन, उत्पीडन र विभेदहरू व्यापक भएको छ, र त्यसविरुद्ध संगठित रुपमा लड्नुपर्छ भन्ने चेतना आयो । आदिवासी जनजाति महासंघ जस्ता संस्थाहरू निर्माण भए । त्यसपछि त्यसले त्यो जनचेतनालाई बढाउँदै गएर दशैं बहिष्कार जस्तो आन्दोलनको रुप लिइसकेपछि आफ्नो चाडपर्व मनाउने कुराहरूमा व्यापकता र सघनता हुनु स्वभाविक नै थियो । आफ्नो चाड मान्न थालेपछि अर्काको चाड जुन मान्नुपर्ने बाध्यता थियो, त्यो स्वाभाविक रुपमा अर्थहीन भएर जान्छ । जनजातिहरूले आफ्नो चाड धुमधामले मनाउन थालिसकेपछि उनीहरूका लागि दशैंको औचित्य सकिँदै जान थाल्यो । यो क्रम अझ अगाडि बढिरहेको छ ।
मेरो सन्दर्भमा भने दशैंमा म आफ्नो नियमित काम गर्छु । विशेष अरु खान्की पनि खान्नँ । गाडी चल्दैन भने म हिँडेरै आफ्नो काम गर्नतिर लाग्छु । दशैं मेरो मनमा छैन ।


http://esamata.com बाट साभार 

Sunday, October 9, 2016

दसैं किन मनाउन मान्दैनन लिम्वूवानका लिम्बुहरु- केदार उप्रेती



केदार उप्रेती
















लिम्वूवुढापाकाहरुका अनुसार पहिले दशै लिम्वूहरुले मान्दैन थिए । लिम्वूहरु आफनो मौलिक चाड पर्वहरु मान्ने गर्दथे । वि सं १८३१ पछि लिम्वूहरुलाई दशै चाड मान्न लगाईएको विभिन्न लिम्वूवानमा पाईने पुराना कागजपत्रहरुमा उल्लेख गरिएको भेटिन्छ । पुर्वमा वसोवास गर्ने किरात लिम्वूहरुले दशै नमान्दा गोरखा राजावाट विभिन्न कार्वाहीहरु हुने भएकोले दशै पर्व लिम्वूहरुलाई जवरजस्ती मान्न लगाईएको मुन्धुमविद भरत तुङ्घङ वताउँछन् । वि स १८३१ सालमा लिम्वूवान गोरखाका शाह राजाले षडयन्त्रपुर्वक लिम्वूहरुसंग सम्झौता गरी अरुण कोशी पुर्वको लिम्वूवान भु–भाग माथि अधिकार जमाए । त्यस पछि लिम्वूवानका विभिन्न क्षेत्रहरुमा आफनो किल्ला निर्माण गर्न सुरु ग¥यो ।लिम्वूवान युद्ध गरेर जित्न नसकेपछि लिम्वूवानको जगरवगर, (जल, जंगल जमिन, जडिवुटी) खोलाको तितेमाछा, भीरमौरी आदि तिमीहरुकै हो भनि झुक्याएर सम्झौता गरे । त्यस पछि विस्तारै लिम्वूवानमा गोरखाको शासन वढदै गयो । यही क्रममा गोरखाले लिम्वूवानका लिम्वूहरुलाई दशै मान्न लगाईएको वताईन्छ ।

वि सं १८४३ मा रणवहादुर शाहले लिम्वूहरुलाई दशै अनिवार्य मान्नु भनि लालमोहर दिए । लालमोहर लिम्वूवानका लिम्वूहरुलाई दिएपछि वि सं १८४८ सालमा पुर्वमा वसोवास गर्ने लिम्वूहरुमा दशै मान्ने नमान्ने विवाद नै भयो ।हिन्दु धर्म मान्ने या आफनो परम्परा संस्कृति मान्ने भन्ने विच दुई समुह निर्माण गरी लिम्वूहरुलाई विभाजन गरियो । यत्तिमात्रै नभएर दशै नमान्ने लिम्वूहरुलाई कार्वाही गर्न सुरु गरियो । वि सं १८४८ पछि लिम्वूवानका लिम्वूहरुलाई दशै मान्न वाध्य वनाईयो । यदि दशै नमाने सुव्वाङगी र किपट खोस्ने जस्ता कार्य शाह राजाहरुले गर्न थाले । विस्तारै लिम्वूहरुको परम्परागत चाडवाड भन्दा वढी दशै मान्ने उर्दी जारी भयो । यसकारण दशै लिम्वूहरुको मौलिक चाड नभई लादिएको चाड भएको लिम्वूवानमा पाईने पुराना कागजहरुले प्रष्ट पार्छन् ।वि सं १८४८ साल पछि लिम्वूवानका सुव्वा, कार्वारी र जिम्मावालहरुले अनिवार्य नौ दुर्गा भवानीको पुजा आजा गर्नुपर्ने , दशै मान्नका लागि घर लिपपोत गर्नुपर्ने र नयाँ लिपपोत गरेको घरको भित्तामा अनिवार्य वलि दिएको खसी वोका, परेवा, राँगा, सुगुरको रगतमा हात तथा पैताला डुवाई छाप हान्नुपर्ने उर्दि जारी भयो । दशै सकिए पछि कार्तिक महिनामा लिम्वूवानमा वसोवास गर्ने लिम्वूहरुले दशै माने की मानेन् भनेर फेरीवाला जोगीको भेषमा जय गोरखनाथ भन्दै जासुस गर्न शाह राजाले पठाउँथे । लिम्वूवानको गाँउ गाँउ जोगीको भेषमा पुगेका गोरखनाथहरुले गरेको रिपोर्टिङको आधारमा लिम्वूहरु कार्वाहीको भागिदार वन्नु पथ्र्यो ।

यसरी लिम्वूवानमा वसोवास गर्ने लिम्वूहरुलाई दशै मान्न लगाईएको रणवहादुर शाहको पालामा लिम्वूहरुलाई दिएको लालमोहरले पनि प्रष्ट पार्दछ । प्रकृतिपुजक लिम्वूहरु यस भन्दा अगाडी आफनो कुल देवताको पुजा अर्चना गर्दथे । विशेष गरेर वाली भित्रयाउने समयमा चासोक (न्वागीपुजा) गर्दथे । त्यस्तै वाली लगाउने समयमा यक्वापुजा गर्ने गर्दथे । नयाँ वर्षकोरुपमा माघेसंक्रान्ती (कक्फेक्वा तङ्नाम्) मान्ने र साउने संक्रान्तीलाई (सिसेक्पा तङ्नाम) कोरुपमा मान्ने गर्दथे । लिम्वूहरु प्रकृति पुजक भएकोले मठमन्दिर र मुर्ति पुजा गर्देनथिए

 ।लिम्वूवानमा निशान पुर्वी नेपालको विभिन्न क्षेत्रमा दशैको समयमा निशान निकाल्ने चलन छ । पुर्वको मुख्य ऐतिहासिक गौडा मानिएको धनकुटामा ९ वटा निशान छन् । ती ९ वटा निशानलाई हरेक वर्षको दशैको सप्तमी तिथि अर्थात फुलपातीको दिन प्रर्दशन गरिन्छ । विभिन्न पुराना हात हतियार सहित हाल धनकुटामा रहेको निशान देवी मन्दिरवाट विषेश पुजा आज गरी नेपाली सेना र प्रहरीको सलामी पछि धनकुटाको टुडीखेल सम्म पु¥याएर पुजा आजा गर्ने गरिन्छ ।धनकुटामा रहेका ९ वटा निशान मध्ये एउटा जंगी निशान, श्रीजंग पल्टनका ४ वटा, ईन्द्रध्वज गणका ४ गरी जम्मा ९ वटा रहेका छन् । श्रीजंग पल्टन अहिले नेपालको रामेछाममा छ भने ईन्द्रध्वज गण झापामा रहेको छ । यसरी पुर्वको लिम्वूवानमा हुने युद्धहरुमा आँउदा यी निशानहरु धनकुटा ल्याईपु¥याएको मुन्धुमविद भरत तुङघङ वताउँछन् । यसैगरी धनकुटाको जस्तै अरु निशान लिम्वूवानको विभिन्न क्षेत्रमा छन् ।छथर, पान्थरका सुव्वाहरु संग अझै पनि निशानहरु छन् । जस अनुसार धनकुटा जिल्लाको छथर ताङखुवामा २ वटा नगरा, हातहतियार सहितको निशान छन् । ताङखुवामा पनि हरेक वर्ष दशैको नवमीको दिन विशेष पुजा आजा गरी मन्दिरवाट वाहिर निकाली करिव ३ किलोमिटर टाढा सम्म पु¥याएर मौलोडाँडा भन्ने स्थानमा पुजाआजा गर्ने गर्दछन् । ताङखुवाको निसान छथरका खजुम पारघरी लिम्वू र खजुम चोङवाङ लिम्वूहरुले राखेका छन् ।यस्तै अर्काे निशान लिम्वूवानकै छथर क्षेत्र अन्र्तगत तेह्रथुम जिल्लाको सुदाप र ओख्रेमा पनि छन् । ओख्रे गाविसमा नगरा, पुराना हात हतियार अनि तोप सहितको निशान छ । यो निसान खेवा तूम्वा लिम्वू संग छ भने भने अर्काे सुदाप गाविसमा पुराना हात हतियार र नगरा सहितको निशान छ । सो निशान खेवा मादेन लिम्वूहरु संग छ । त्यहाँ पनि हरेक सालको दशैको नवामीकै दिन पुजा आजा गर्ने र प्रर्दशन गर्ने गरिन्छ । त्यस्तै अर्काे निसान लिम्वूवानको छथर पोखरीमा पनि छ । यहाँ भने प्रर्दशन गर्ने गरिदैन । अर्काे निशान लिम्वूवानको पान्थर थुम हालको पाँँचथर जिल्लामा पनि छ । पाँचथरमा पनि योङहाङ लिम्वूहरुले हरेक वर्षको नवमीकै दिन प्रर्दशन गर्ने गर्दछन् । यहाँ भने निशान प्रर्दशन गरिनुका साथै नचाउने गरिन्छ ।वि सं १९४० सालमा चैनपुरवाट रणोद्धीपसिं राणाको पालामा धनकुटा लिम्वूवान हेर्ने गौडा सरे पछि वि सं १९४२ साल देखि निशानको पुजाआजा गर्न थालिएको वताईन्छ । विभिन्न शक्तिकोरुपमा मानिने निशान पुर्वी लिम्वूवानमा करिव १५ वटा छन् । लिम्वूवानमा रहेका सवै निशानहरु श्रीजंग पल्टनका निशानहरु हुन् भन्ने गरिन्छ । तर लिम्वूवानको पुर्खाैली भुमी र परम्परागत संस्था विषयमा विद्यावारिधी गर्दे गरेका कमल तिगेलाका अनुसार सरसर्ती हेर्दा १५ थान निशान देखिएता पनि धनकुटाका नौ थान निसानहरु वस्तवमा जंगी निसान, श्रीजंग पल्टनको निसान र ईन्द्रध्वज गणको निसान गरी तीनवटा मात्रै हुन । यसमा अनि र पनि हुने गर्दछ । जसको अर्थ अगाडी निसान र पछाडी निसान भनेर वुझिन्छ । यसमा चार थान निसानको प्रयोग हुन्छ । यी निसानहरुको साथमा पाले निसानहरु पनि हुन्छन् । जंगी निसान एउटै मात्र हुन्छ । धनकुटा वाहेक अरु क्षेत्रमा रहेका निसानहरु श्रीजंग पल्टन अन्र्तगत पछि राखिएका हुन् । सेन राजाकै पालामा समेत लिम्वूवानमा नगरा निसान दिने चलन भएकोले यि निसानहरुको वारेमा थप खोज अनुसन्धान गर्नुपर्ने देखिन्छ। 

दशै नमान्दा मृत्यूदण्ड 

शाह राजाहरुले पुर्व लिम्वूवानमा वसोवास गर्नेहरुलाई अनिवार्य दशै मान्नुपर्ने उर्दि जारी गरे पछि धनकुटाको आसपासमा वसोवास गर्ने अठप्रे (आठपरीय) जातिहरुले दशै नमान्दा दुई जनालाई मृत्यूदण्ड दिई शहिद वनाईयो । जंगवहादुर राणा प्रधानमन्त्री भएको समयमा दिईएको यो मृत्यूदण्डमा नाम्रीहाङ र रिदमा नाम गरेका दुई पुजारीलाई झुण्डाएर मारिएको हो । आठपरीया जातिहरु अहिले पनि दशै मान्दैनन् । उनीहरु वाली भित्रयाउने समयमा (कात्तिके पुर्णिमा) मा वाडाङमेट चाड मान्दछन् ।
 उनीहरुले यो चाडमा आठपरीयाहरुको घरघरमा पुगी च्यावु्रङ नाच्दैसि
पैले माग्यो सुनै पगरी…..
राजाले दियो कालो पगरी….
भावी कर्मले यस्तै लेख्यो …..
यही पगरीले खायो ज्यान …भन्दै गीत गाउने गर्दछन् ।
 यसरी पुर्वमा वसोवास गर्ने आदिवासी लिम्वूले मात्रै होईन धेरै जसो जनजातिहरुले पहिला दशै मान्दैन थिए । तर पछि जर्वजस्ती शाहवंसिय राजाले दशै पर्व मान्न भनी लगाएको उर्दीको कारण मान्न थालिएको हो । पछिल्लो समयमा केही सचेत आदिवासी जनजातिहरुले दशै आफनो चाड नभएको भन्दै मनाउन छाडेकाछन् ।

http://phaktaanglung.blogspot.com बाट साभार 

प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य अशोक सुवेदी चोरीको अभियोगमा लेखक सङ्घबाट निष्कासित




























अब म कम्युनिस्ट बन्दिनँ! भो पुग्यो मलाई मार्क्सवाद-लेनिनवाद अनि बाँकी सबै वादहरु - मिलन लिम्बू



mao
शनिबार बिहान एकीकृत माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा निम्तो थियो। पत्रकार भएको नाताले। कार्यक्रम थियो पार्टी प्रवेश। विभिन्न पार्टीमा आवद्ध नेता तथा कार्यकर्ताहरु एकीकृत माओवादीमा प्रवेश तथा स्वागत कार्यक्रम रहेछ। निर्धारित समय बिहानको साढे आठ बजे नै म त्यहाँ पुगिसकेको थिएँ। माओवादी अध्यक्ष प्रचण्ड तराईको कुनै क्षेत्रमा भाषण गर्न जान हतारोमा थिए। त्यसैले तोकेकै समयमा कार्यक्रम भयो। प्रत्येक शनिबार माओवादी प्रवक्ता अग्नि सापकोटाले पत्रकार भेटघाट गर्ने हलमा कार्यक्रम आयोजना गरिएको थियो। सानो हल खचाखच मानिस। लुसुक्क परेर सुकुल तानेँ र छेउमा बसेँ। संयोगले दौरा सुरुवाल र ढाकाटोपी लगाएका कलिला ३/४ केटा छेउमा परेछन्। निधारमा चन्दन पनि थियो, टुप्पी देखिनँ। मलाई थाहा थियो पण्डित पढ्ने विद्यार्थीहरु यस्तो भेषमा हुन्छन्। मनमनै सोचेँ केटोहरु पनि अब कम्युनिष्ट बन्ने भएछन्। कार्यक्रम प्रवक्ता सापकोटाले सञ्चालन गरेका थिए। पार्टी प्रवेश गर्नेहरुको नामावली वाचन गर्दै गए। भन्दै थिए अखिल नेपाल…एकछिन रोकिए।


अनि पूरा उच्चारण गरे- अखिल नेपाल पण्डित संघका मित्रहरु पनि पार्टी प्रवेश गर्दै हुनुन्छ। सँगै बसेका खिनौटे ३/४ केटाहरुलाई हेरेँ पक्का कम्युनिष्ट हुन आएका रैछन् केटाहरु, मनमनै भनेँ। मसँगै सुकुलमा बसेका पण्डित हुने कोसिसमा रहेका केटाहरुले पनि प्रचण्डको हातबाट अबिर लगाएर औपचारिक रुपमा कम्युनिष्ट बने। ठीकै छ, पण्डितहरु कम्युनिष्ट हुनै नपाउने भन्ने त कतै छैन्, मनमनै कुरा खेल्यो। कुरा नटुङ्गिने गरी बोल्न बानी परेका प्रवक्ता सापकोटाले कार्यक्रम अगाडि बढाइरहेका थिए। पार्टी प्रवेश गर्नेहरुलाई अबिर जात्रा सकिएको थियो। लगतै सापकोटाले आग्रह गरे – पण्डित मित्रहरु, शंख, घण्टी र स्वस्ति वाचन गरिदिनुहोस ….(आग्रह)। नव प्रवेशी पण्डित कमरेडहरुले दन्काइहाले – दोहोरो शंख बज्यो, घण्टी पनि बज्यो…..मन्त्र फररररररर।
अब भने म सामान्य रहन सकिनँ। कुनै दिन म कम्युनिष्ट पार्टीको प्योर कार्यकर्ता हुँदा मलाई घोकाइएको र मलाई बुझाइएको सबै विचार कता गयो ? म सुन्य बनेँ।
आस्थाले म कुनै समय कम्युनिष्ट विचारमा लिप्त भई युद्ध लड्नसम्म पुगेको मान्छे। हामीलाई स्कुलिङ यस्तो गरिन्थ्यो- धर्म अफिम जस्तै हो। त्यसको नसामा फँसेका जोकोही हत्तपत्त निस्कन सक्दैनन्। हामी कम्युनष्टिहरुले यो नशा त्यागिसकेका छौँ, त्यसैले हामी फरक धातुको मानिस बनिसकेका छौँ। यसरी नै हामीलाई राजनीतिक प्रशिक्षण दिँदै हाम्रो नेतृत्व गर्ने कमरेडहरु यतिखेर उनीहरुको भाषामा अफिमको नसामा चुर्लुम्म डुबेको भाव भएको छ।
जनयुद्धलाई सफल पर्नका लागि पार्टीका नेता तथा कार्यकर्ताले राम्रो उपाय रचेका रहेछन्। त्यो उपायले मलाई पनि शिकारल बनाएको थियो। कम्युनिष्टहरु भौतिकवादी हुन्छन्, विज्ञानका करा गर्छन् सबै भ्रम मात्रै। म सामान्य कम्युनिष्ट सर्मथकको मनमा यो भन्दा बढी केही खेल्न सकेन। तर एउटा कुरा पछिल्लो समयमा म अलिकति पहिचानवादी बन्न खोज्ने मान्छे, खुशी पनि भएँ। कम्तिमा पनि पण्डितहरुले आफ्नो पहिचान शंख, घण्टी र मन्त्र पनि लिएर कमरेड बने। कम्युनिष्ट पार्टीमा प्रवेश गरे। यो अर्थमा म सारै खुशी पनि भएँ। मेरो सहअस्तित्ववादी विचार हुनसक्छ। तर सारै चिन्ता लागेको कुरा अब भने आफूलाई कम्युनिष्ट भन्नेहरु विस्तारै वैचारिक रुपमा भ्रष्ट बन्न थालेछन्।
स्वस्ति शान्ति मन्त्र वाचन भइरहेको थियो। फनक्क फर्केर प्रचण्डको मुहारमा हेर्न भ्याएछु। बाक्ला जुङ्गेदार जनयुद्धका हाम्रा कमाण्डर मुसुक्क–मुसुक्क हाँसिरहेका थिए। भन्न मन लाग्यो, दुनियालाई भ्रममा राखेर यतिखेर आफ्नो असली रुप देखायौ। नजिकै बसेका सबैको मुहार हेरेँ, केही अचम्मित पाएँ। म जस्तै धेरै पूर्व र वर्तमान कार्यकर्ताहरु भ्रमित पाएँ। कोही मुस्कुराइरहेका थिए।
तत्कालीन नेकपा माओवादीका नेताहरुले म र म जस्ता धेरै नेपाली जनतालाई भ्रममा पारेर फाइदा लिएछन्। म लिम्बूको छोरा किरात भाषा, धर्म, संस्कार संस्कृति र रितिरिवाज सबै थाति राखेर जनयुद्धमा होमिएको थिएँ। आजको कार्यक्रमबाट म साँच्चिकै विगतबाट त्रसित बनेँ।
अहिले म पेशाले पत्रकार। पार्टीको कार्यकर्ता बन्न छोडेको पनि ७ वर्ष नै भइसक्यो। अब भने मैले कम्युनिष्ट विचारधारी हुने बाटो त्यागेँ। बरु आफ्नै पालाम, ख्याली, हाक्फारे र मुन्धुमहरु घोकेर बस्छु। भावी पुस्ताले जान्ने अवसर पाउँछन्। भो पुग्यो मार्क्सवाद, लेनिनवाद र बाँकी सबै वादहरु …..।
http://www.mysansar.com बाट साभार 

आदर्श रक्षाको चुनौती र इच्छुक साँस्कृतिक प्रतिष्ठान - ईश्वरचन्द्र ज्ञवाली


kkkk
- ईश्वरचन्द्र ज्ञवाली
भर्खरै इच्छुक साँस्कृतिक प्रतिष्ठानको साधारणसभा सम्पन्न भएको छ । इच्छुक प्रतिष्ठान प्रगतिशील धाराको साँस्कृतिक–साहित्यक धरोहर हो, विशेषतः माओवादी धाराको । किनकि, जनयुद्धमा वलिदान गर्ने साहित्यिक व्यक्तित्व कवि इच्छुकको नाममा यो स्थापित छ । इच्छुकका आदर्श अनुरुप सञ्चालन गर्ने ध्येयले नै यो स्थापित गरिएको हो । सम्भवतः सिंगो जनयुद्धको एउटा स्थापित स्मारकको भूमिका यसले पूरा गर्नुपर्नेछ । यसले समाज रुपान्तरणको कठोर यात्राको इतिहासलाई भण्डारण गर्ने जिम्मा पनि लिनु छ । सर्वहारा वर्गको मुक्तिको सपना बोकेर ताता गोली सहर्ष हृदयमा थाप्ने महान् सहिदका आदर्शको मूल्यलाई पनि यसले बोक्नु पर्नेछ । सर्वहारा साँस्कृतिक क्रान्तिको उद्देश्यको विस्तार र व्यापकताको अभिभारा पनि यसको काँधमा छ ।
मान्छेहरु भन्ने गर्छन्—इच्छुक साँस्कृतिक प्रतिष्ठान जनताबाट स्थापना भएको समानान्तर प्रज्ञा प्रतिष्ठान हो । त्यसैले यसमाथि धेरैका आँखा गडेका पनि छन् । हो, माओवादी कला, साहित्य, गीत, संगीत, चलचित्र आदिको श्रीवृद्धिमा यसले खेल्नुपर्ने भूमिका गहन छ । अहम् मूल्यको छ । किनकि, कुनै पनि पछौटे सत्ताले उत्पीडित वर्गको पक्षमा कला साहित्यको प्रवद्र्धन गर्न कहिल्यै सक्दैन, गर्दैन । त्यसको प्रवद्र्धन त जनताका पक्षधर साहित्यकर्मीले गर्ने हो । हामी इच्छुक प्रतिष्ठानसित सम्बद्ध साँस्कृतिककर्मीहरुले त्यो अभीष्ट पूरा गर्ने हो । त्यसैले त प्रखर सौन्दर्य चिन्तक चैतन्यले इच्छुकको साधारण सभामा उद्घोष गर्नु भोर्—इच्छुकका आदर्श, सहिदका आदर्श, जनताका र देशका आदर्श लाई पूरा गर्ने संंंंंकल्प र अभिभारा हामी इच्छुकका अनुयायीले लिनै पर्छ । क्रान्तिको कार्यभार पूरा भएको छैन । इच्छुक प्रतिष्ठानले क्रान्तिकारी परिवर्तन र संघर्षको पक्षमा अभिमत र चेतना सिर्जना र विस्तार गर्न पहल लिनु पर्छ । अर्को क्रान्तिको पूर्णताका लागि नयाँ जागरण पैदा गर्नु पर्छ”। यो सन्देश ज्यादै गहिरो छ । यसैसित इच्छुकको साइनो पनि छ । इच्छुक लगायत लगभग २०० जनाले साँस्कृतिक फाँटबाट वलिदान दिएका हुन्—जनयुद्धमा । प्लाटुन, कम्पनी र बटालियन स्तरसम्म उठेको साँस्कृतिक आन्दोलनको यो अथक, अविरल, उदात्त यात्राको उत्तुंग जोस र साहसको कीर्तिमान इच्छुकहरुले नै कायम राखे । उनलाई शब्द र कर्मको एकत्वका रुपमा व्याख्या गरिन्छ । इच्छुकको उदात्त चिन्तन, उदात्त भाव र उदात्त हृदयको सबैले मुक्तकण्ठले प्रशंशा गर्छन् । त्यसो गर्नुको पछाडि उनको आदर्श र आचरणवीचको मेल मूल कारक बनेको छ । उनले जे बोले त्यो व्यवहारमा अभिव्यक्त भयो । त्यहाँ एउटा इमान्दारिता थियो । त्याग र समर्पण थियो । नैतिक आदर्श र सरलता तथा सादगी थियो । त्यो नक्कली क्रान्तिकारिता थिएन । भ्रष्ट चरित्र तर उत्तम आदर्शको पाखण्ड पनि थिएन । त्यो जनताको र देशको पक्षमा समर्पित अभिमन्यू थियो । सधै धरातलमा टेकेर हिंड्ने जनदिशा समातेको एउटा क्रान्तिकारी आदर्श थियो—इच्छुक । जसमा सर्वहारा साँस्कृतिक चरित्र थियो । त्यही इच्छुकलाई प्रतिक मानेर सम्पूर्ण साँस्कृतिक सहिदहरुकै प्रतिबिम्बनको प्रतिक बनेको छ–इच्छुक साँस्कृतिक प्रतिष्ठान ।
kiran
जनयुद्धका सबै अवशेष मेटाउन, त्यसको इतिहास नै सिध्याउन, त्यसको गन्तव्यलाई भत्काउन अहिले लागि परेका छन्–पश्चगामीहरु । त्यसैले इच्छुक सबैको घेराबन्दीमा छ । अथवा यसो भनौ. क्रान्तिको दियोका वरिपरि आँधी र हुण्डरीले घेरिरहेको छ । ताकि यो निभोस् सदाको लागि र हाइसञ्चो होस् । नरहे बाँस नबजे वाँसुरी । यसको सानो झिल्को पनि बाँकी नरहोस् र सबै सुधारवादी बनुन्, सबै सत्ताको उपभोगमा लागुन् । सबै संशोधनवादी बनुन् अथवा देखावटी क्रान्तिकारी बनुन् जसले क्रान्तिका नाममा क्रान्तिलाई नै सिध्याउँछ । क्रान्तिकारी आवरण भिरेर क्रान्तिलाई नै असम्भव वा अतिरञ्जनाको वस्तु बनाउँछ । वा निम्नपुँजीवादीले झैं क्रान्तिलाई शीघ्रप्राप्य कुनै वस्तु झैं ठान्छ र तात्तातै खाई सिध्याउने एक प्लेट मःमः झैं सम्झन्छ । यस्ता सबैखाले प्रवृत्तिको मिसिने त्रिवेणी सत्ता नै हो यही पुरानो सत्ता । चाहे त्यो आधा–आधा होस् वा चौथाइ–चौथाइ । सामन्तवादी सत्ताको समूल अन्त्य नभई यो देश न त पूर्ण स्वाधीन हुन सक्छ न त पूर्ण जनतान्त्रिक । तर अहिले लोकतन्त्र र संसदवादको दलदलमा डुबेर केही हिंजोका माओवादीहरु सबथोक प्राप्त भएको बहाना गरिरहेका छन् । त्यही संसदवादी, सुधारवादी, अवसरवादी बाटो समातेर उनीहरु क्रान्ति पूरा भएको हौवा पनि पिटिरहेछन् । उनलाई संसदीय सत्ताको सुखभोग प्राप्त भएपछि क्रान्ति पूरा भएको भनिएको छ । हामी इच्छुकका अनुयायीहरु यीसंँग पनि लड्नु पर्ने अवस्था सिर्जना हुनेछ । आखिर वर्गमुक्ति र सत्यको बाटो रोजेपछि सबै पथविचलितहरुसंँग संघर्ष नगरी सुख कहाँ पाइन्छ र ? अन्ततः वर्गमुक्तिको युद्धमा जब दोहोरो भीडन्त सुरु हुन्छ, उनीहरु पनि प्रतिक्रियावादी कित्तामै सामेल हुन पुग्नेछन् । यही सत्य हो । त्यसैले इच्छुकका आदर्शलाई चारैतिरबाट घेराबन्दीमा पारिएको छ । प्रतिक्रियावादी, संशोधनवादी, सुधारवादी, साम्राज्यवादी, विस्तारवादी सबैको घेरावन्दीमा छ– इच्छुकको आदर्श । त्यसलाई बचाउनु छ ।
घनघोर कालोनीलो तुफानपूर्वको सन्नाटाका वीच वलिरहेको इच्छुक आदर्शको दियोलाई निभाउन चक्रव्युहको रचना भइरहेछ । आँधी र हुरी चलाइएको छ– त्यसविरुद्ध । त्यसैकारण हामी हिंजो जनयुद्धमा लडेकाहरुलाई संशोधनवादी, सुधारवादीहरुले हीनतावोध हुनेगरी अपमानित र तिरष्कृत गरिरहेका छन् । वहिष्करणमा पारेका छन् । यो इच्छुकको आदर्शमाथिको बुझिने, देखिने, जानिने आक्रमण हो । तर स्वघोषित एकदुई बुजु्रग “क्रान्तिकारी–वौद्धिकहरु” इच्छुक प्रतिष्ठान विरुद्ध लुकेर तीर हानिरहेका छन् । ज्यान छाडेर लागिरहेका छन् । उनीहरु कहिले कपोलकल्पित भ्रष्टाचारका कुरा गर्छन्, कहिले भ्रष्टीकरणका कुरा गर्छन्, कहिले अख्तियारमा गोप्य उजुरी हाल्छन् । वर्गदुश्मनको भूमिकामा उत्रेर, वर्गदुश्मनकै सत्ताका अवयवहरु प्रयोग गरेर, इच्छुकका अनुयायी विरुद्ध खनिनु आश्चर्य लाग्दो छ । वर्गशत्रुका काँधमा चढेर इच्छुकका विरुद्ध तीर चलाउनु आदर्शविरुद्धको प्रहार हो भन्ने सबैले बुझेका छन् ।
प्रतिवर्गका विरुद्ध एक शब्द पनि कहिल्यै नबोल्नेहरु सँधै इच्छुकका आदर्शमाथि किन प्रहार गर्छन् ? उनको उद्देश्य जानी नसक्नु छ । त्यसो त इच्छुक ज्युँदो छँदा पनि उनीहरुले यसै गरी घेरा हाले । भनिन्छ अहिले अख्तियारमा उजुरी हाल्नेले नै इच्छुकलाई पक्राउनमा महत्वपूर्ण क्रियाशीलता देखाएका थिए । यो मेरो भनाइ होइन, आम मानिसवीच चलिरहेको चर्चा हो । इच्छुककै वरिपरि घुम्ने तीनजना पत्रकारले नै इच्छुकलाई बोलाएर पक्राएको चर्चाको अन्त भएको छैन । अहिले फेरि तिनैले इच्छुकको भजनगान गरेर प्रायश्चित्त गर्न खोजिरहेका छन् । इच्छुकका नाममा पुस्तक संकलन, प्रकाशन गरेर व्यापार गरिरहेछन् । इच्छुकको नाम जप्दै इच्छुककै आदर्श विरुद्ध प्रहार केन्द्रित गरेका छन् । यसरी इच्छुक प्रतिष्ठानलाई कुण्ठाग्रस्त ‘क्रान्तिकारीे’ले पनि घेरावन्दी गरिरहेका छन् । तसर्थ इच्छुकका आदर्श र इच्छुक प्रतिष्ठान दुवै यरिखेर घेरावन्दीमा छन् भन्दा धेरै हुँदैन । अर्थात् माओवादी विचार घेरावन्दीमा छ । अभिमन्यूलाई झैं चक्रव्यूहमा पारेर चारैतिरबाट यसलाई सिध्याउने प्रयास जारी छ । तर हामीले त्यो आदर्शलाई जसरी पनि जोगाउनै पर्छ । हमी त्यही अभियानमा छौं । हामी आदर्शको मृत्यु, सपनाको मृत्यु हुन नदिन कृतसंकल्पित भएर फेरि पनि आँधी बेहरीका वीचमा विचारको दियो जोगाउन संघर्ष गरिरहेका छौं । कोही क्रान्तिकारी खोलमा प्रहार गर्छन्, कसैले खुला हमला गर्छन् । कोही मोर्चावन्दी गरेर आक्रमण गर्ने खेलमा छन् । यी सबैलाई हामीले चिनेका छौं । चाहे जुन खोलमा होस् । इच्छुकका आदर्श विरुद्ध उँभिनेहरु गलत नै हुन् । देश–जनताविरोधी शक्तिहरुलाई पराजित गरेर, वर्गमुक्ति अभियानविरुद्ध लागेकाहरुलाई परास्त गरेर मात्रै हामी इच्छुकका आदर्शलाई जीवित राख्न सक्छौं । इच्छुक प्रतिष्ठानको भर्खर सम्पन्न सभाले त्यही निर्देशन दिएको छ । क.चैतन्यको भनाइको सार पनि त्यही थियो । यो सत्यलाई सबै सदस्यहरुले पनि मनन गरिरहेका छन् । जेहोस् इच्छुक मरेर गएपनि उनका आदर्शको स्मारकका रुपमा प्रतिष्ठानलाई स्थापित गर्न र अघि बढाउन सबै लागि परौं ! अन्ततः इच्छुकका आदर्शको विजय अनिवार्य छ । 
http://moolbato.com बाट साभार