Thursday, October 26, 2023
Tuesday, October 24, 2023
बाल्मिकी रामायण अयोध्या काण्ड
दसैं : चाडसँगै धर्म–संस्कृति र राजनीतिक हतियार- निनाम लोवात्ती
असोज २८ गतेदेखि सुरु भएको दसैं कात्तिक ११ गते सकिन्छ । प्रतिपदाका दिन जमरा राखेर सुरु हुने दसैं अन्तिममा पूर्णिमाका दिन विधिवत रुपमा जमरा सेलाएर १५ दिन लामो (तिथिअनुसार १३–१४ दिन वा १६–१७ दिन पनि हुने !) दसैं सक्ने गरिन्छ ।
हुनत नेपालमा लामो समयदेखि (विसं २०४६ सालमा भएको राजनैतिक परिवर्तनपछि) दसैँ बडा दसैं, दशेरा, दशहरा आदि नामले चिनिने चाड हिन्दु धर्मालम्बीको मात्रै हो कि, सम्पूर्ण नेपालीको ? भन्ने सम्बन्धमा बहस र छलफल भइरहेको छ । निश्चय नै यो बहस र छलफल अनन्त कालसम्म रहने छ ।
वास्तवमा दसैँ चाड कसको हो ? हिन्दु धर्मालम्बीहरुको मात्रै हो कि, सबै नेपालीहरुको हो ? यसमा सकारात्मक ढंगले बहस, छलफल र तर्क–वितर्क हुनुलाई राम्रै मान्नुपर्ने हुन्छ । अझ आजभोलि सूचना, सञ्चार र प्रविधिको विकासका कारण दसैं चाडका बारेमा पुछारबाटै व्यापक रुपमा बहस र छलफल भइरहेको छ ।
हो, दसैँ नेपालको कुनकुन जातजाति वा वर्गका मान्छेहरुको चाड वा पर्व हो ? किटेर यसै भन्न नसकिने भएको छ ! किनभने, कोही दसैँ चाड हिन्दुहरुको मात्रै हो भन्छन् । कोही हिन्दुहरुको पनि चाड होइन ! भन्छन् । जस्तै लेखक पदम श्रेष्ठले सन् २०१९ अक्टोम्बरमा एक अनलाइनमा ‘दसैँ–तिहार हिन्दुहरुको चाड होइन’ शीर्षकमा विभिन्न उदाहरण र तर्कसहित एक लेख लेखेका थिए ।
१२ असोज २०७६ मा एक दैनिक पत्रिकामा डा.मदन रिमालले पनि ‘हिन्दुको मात्रै होइन दसैँ’ शीर्षकमा अर्को लेख लेखेका थिए । यसरी दसैँ चाड कुन–कुन जात, समूह, वर्ग र जाति वा समुदायको हो ? भनी लामो समससम्म बहस र छलफल गर्ने क्रममा विभिन्न तथ्य, तर्क, प्रमाण, आधार, उदाहरण दिने वा भनौं प्रस्तुत प्रयास पनि जारी नै छ ।
खासखास तथ्य, प्रमाण, उदाहण र परम्परा आदि हेर्दा बिना कुनै धकचक दशैंलाई हिन्दु धर्मालम्बीहरुको महान चाड भन्न सकिन्छ । जस्तै आर्य र खस समूहकाले (खासगरी बाहुन क्षेत्रीहरुले) दशमीको दिन रातो रंगले मुछेको चामलको टिको लगाउँछन् भने, उनीहरु दशमीलाई ‘विजया दशमी !’ भन्छन् । पश्चिमका खसहरुले दसैं मान्दैनौं भनी सार्वजनिक रुपमा भन्दै आएका छन् ।
यता आदिवासी जनजातिहरुले पनि बाध्यता रहरले दसैँ मनाउँथे÷मनाउँछन् । यहाँ वाध्यता शब्द किन प्रयोग गरिएको हो भने दसैं नमान्दा धनकुटाका आदिवासी आठपरियाहरुका प्रभावशाली व्यक्तिहरु ‘राई !’ रीदामा र ‘राई !’ रामलीहाङलाई राणा शासकहरुले मारेका थिए । ती ‘राई !’ द्वयको शालिक अहिले धनकुटाको सामुदायीक वन (चुली वन) मा राखिएको छ । विचरा ‘राई !’ द्वयले आप्mनै भूमिमा पनि मुख्य बजार (धनकुटा बजार) मा उभिने जग्गासम्म पाएनन् ! नामको अगाडि नै त्यो पनि सिंगल ईन्भर्टेड कमा राखेर ‘राई !’ लेखिएको हो भने ‘राई !’ कुनै जात वा जाति नभएर ‘पद–पदवी–पगरी’ मात्रै हो । जस्तै “सुब्बा, मुखिया, देवान–दिवान, खरदार, सरदार, सईस, माउते, डोके, हुक्के, बैठके, पिउन, हबल्दार, सिपाहीँ, ड्राईभर, खलासी, मास्टर, डोले, भरिया” आदि । जे होस्, कुनैबेला ‘राई !’ के भन्ने सम्बन्धमा छुट्टै लेख लेखिने
जे होस्, आदिवासी जनजातिहरुले पनि बाध्यताले वा रहरले दसैँ मनाउँथे÷मनाउँछन् । यहाँ बाध्यता शब्द किन प्रयोग गरिएको हो उनीहरुले बाहुन–क्षेत्रीले जस्तो रातो टीको नलगाएर दहीले मुछेको ‘सेतो टिको !’ लगाउने गर्छन् भने कुलुङ, शेर्पा, तामाङ, ह्योल्मो आदि जातिले त विगतदेखि नै दसैँ मनाउँदैन थिए÷मनाउँदैनन् । त्यस्तै घर लिपपोत गर्दा पनि सोही विधि अपनाउने गरेको देखिन्छ । त्यति मात्रै होइन, हिन्दुहरुले मर्यादा पुरुष मान्ने गरिएको रामले रावणलाई मारेको तिथिमा (पहिलेपहिले गाउँघरमा चैते दसैं भन्ने गरिन्थ्यो । किनभने, चैत महिनामा सो दसैँ मान्ने गरिन्थ्यो) अहिले पनि गाऊँघरमा सो तिथिलाई चैते दसैँ नै भन्ने गरिन्छ ।
केही दशक अघिसम्म नेपालको राज्य संयन्त्र अन्तर्गग रहेको अर्थात् सरकारी सञ्चारमाध्यमहरु जस्तै रेडियो नेपाल, गोरखापत्र दैनिक, नेपाल टेलिभिजनमा ‘सम्पूर्ण नेपालीहरुको मात्र महान चाड बडा दसैं !’ को अवसरमा हार्दिक मंगलमय शुभकमना व्यक्त गरिन्थ्यो । यो वर्ष पनि नेपाल टेलिकमले मोबाइल र फोनको ब्याक ट्युनमा जनगणनाको प्रचार बजाउन छाडेर मालश्री धून बजाइरहेको छ । यसरी हेर्दा धर्म निरपेक्ष भनिएको हाम्रो देश नेपालमा हिन्दु धर्मालम्बीहरुको महत्वपूर्ण धार्मिक धून मालश्री नेपाल टेलिकमले मोबाइल र फोनको ब्याक ट्युनमा बजाइरहेको छ ।
केही अतिवादी हिन्दुवादीहरु ‘बौद्ध, किरात र हिन्दुहरु एकै हुन्, उनीहरु ओम÷ऊँ कार परिवारका हुन्’ भन्ने मान्यता राख्छन् भन्ने त माथि नै पनि उल्लेख गरिएको छ । तर, यदि त्यसो हो भने, किरातीहरुले किन आप्mनो पिता–पूर्खालाई ‘गाई–गोरु’को मासु चढाउँछन् ?, बौद्ध धर्मालम्बीहरु, किन काटमार नै गर्दैनन् ?, सनातन हिन्दु धर्म वा ... हिन्दु धर्म भन्नेहरुले किन पशु–बलि दिन्छन् ? सोबारेमा उनीहरुले विस्तृत ढंगले व्याख्या गरेको देखिँदैन ।
तर, आजभोलि माथि उल्लेखित सरकारी सञ्चारमाध्यम रेडियो नेपाल, गोरखापत्र दैनिक, नेपाल टेलिभिजन बाहेक निजी क्षेत्रबाट पनि प्रशस्तै टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरु निक्लन्छन् । साथै निजी क्षेत्रबाट सञ्चालित ती टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरुले समय साक्षेप बडा दसैंलगायत हिन्दुहरुले मान्ने अन्य चाडबाडको अवसरमा छापिने, प्रसारित हुने र दृश्यमा देखिने शुभकामना विज्ञापन र सन्देशहरुमा ‘सम्पूर्ण नेपालीको महान चाड बडादसैं !’ को सट्टामा ‘हिन्दुहरुको महान चाड बडादसैं !’ को अवसरमा वा पावन अवसरमा ! शुभकामना विज्ञापन र सन्देशहरु छाप्ने, प्रसारित गर्ने र दृश्यमा देखाउन थाले । शुभकामना विज्ञापन र सन्देशहरु समय साक्षेप मान्न सकिन्छ ।
तर, केही अतिवादी हिन्दुहरुले निजी क्षेत्रको सञ्चारमाध्म जस्तै टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरुले समय साक्षेप बडा दसैंलगायत हिन्दुहरुले मान्ने अन्य चाडबाडको अवसरमा छाप्ने, प्रसार गर्ने र दृश्यमा देखाउने ती शुभकामना विज्ञापन र सन्देशहरुमा ‘सम्पूर्ण नेपालीहरुको मात्र महान चाड बडा दसैं !’ नभनेकोमा आक्रोशपूर्ण लेखहरु लेख्ने, प्रतिक्रिया दिने गर्थे÷गर्दैछन् । देशमा गणतन्त्र आएको, देश धर्म निरपेक्ष भएको संकेत गर्छ ? सायद विसं २०७२ असोजमा जारी भएको नेपाल र दक्षिण एसियाकै उत्कृष्ट संविधानमा ‘धर्म निरपेक्षता भन्नाले सनातनदेखि चली आएको ... ’ भनी ब्याख्या थप्नु वा भनौं प्रस्टीकरण दिनुको कारण हाल खुल्दै छ ।
वि.सं. २०६२÷०६३ मा जनताको बलमा भएको अभूतपूर्व राजनैतिक परिवर्तनपछि अब नेपाल राज्य केवल एकल हिन्दु जातिको मात्रै नभएर सबै जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको पनि हो भन्ने वास्तविकतालाई आत्मसात गरेर त्यो बेलाको अन्तरिम संविधानमै नेपाललाई धर्म निरपेक्ष राष्ट्र भनी घोषित गरिएको थियो । तर, अभैm पनि विभिन्न कार्यक्रममा पाँच जना बाहुन (बटुक भनिन्छ होला) ! हरुलाई मात्रै मन्त्रोच्चारण गराइन्छ । त्यो पनि नेपालमा कुनै पनि जात वा जातिले मातृभाषाका रुपमा नबोल्ने संस्कृत भाषामा ।
के देश धर्म निरपेक्ष भएको प्रमाण यही हो ? कि माथि उल्लेख गरिएभैंm नेपालका अन्य धर्मालम्बीका प्रतिनिधिहरुलाई पनि बोलाएर समावेश गरेर हरेक कार्यक्रममा गर्नुपर्यो । ! किनभने, त्यसो गर्दा सबै धर्मालम्बीहरुलाई समेटिएको देखिन्छ भने समावेशी पनि देखिन्छ । तर, मुखले जे सुकै भनिए तापनि एकल हिन्दुवादीहरुकै हाली मुहाली भएर पनि होला, जहिले पनि पाँच जना बटुकहरुलाई मात्रै बोलाएर शान्ति स्वस्तीका लागि संस्कृत भाषामा मात्रै मन्त्रोच्चारण गराइन्छ । वा, भनौं पूजा पाठ गराउंँछन् ।
हुन त यो देशमा स्वःघोषित विद्धानहरु नभएका होइनन् । तर, उनीहरुले पनि यस विषयमा खासै कुरा उठाउँदैनन् । हुनत राज्यको स्रोत, साधन, पहँुच र मिडियाहरु पनि उनीहरुकै हातमा छ । जसले गर्दा हाम्रो देशमा संघीयता, समावेशीता, धर्म निरपेक्षतालगायत उत्पीडितहरुको पक्षमा खासै वकालत गर्दिने मान्छेहरु वा भनौं विषय विज्ञ, विद्धान, प्रा.डा., विश्लेषक, लेखक, पत्रकारहरु भेटिँदैनन् ।
त्यसैले के भन्न सकिन्छ भने, नेपालका थोरै हिन्दु अतिवादका मान्छेहरुले अझै पनि आफ्नो पूरानो ढर्रा वा विरासतलाई नै यो वा त्यो नाममा कायमै राख्न चाहन्छन् । मुुलुकका अन्य जात, जाति, समुदाय, भाषाभाषी, धर्म, सम्प्रदाय आदिलाई जोर–जबरजस्ती ! हिन्दु धर्म, हिन्दु संस्कार, हिन्दु संंंस्कृति आदि लाद्न चाहन्छन् । उनीहरु अभैm पनि देशको वास्तविक धरातललाई स्वीकार्न तयार छैनन् । हुन पनि ती अतिवादी हिन्दु समूहका मान्छेहरु दशैंं, तिहारलाई केवल हिन्दुहरुको मात्रै चाड हो भनी विभिन्न मिडियाहरुमा शुभकामना सनदेश निक्लन थालेकोमा र, सोहीबमोजिम प्रचारप्रसार गर्ने गरेकोमा समेत रिसाउने वा भनौं असन्तुष्ट हुने गरेका छन् ।
यता आदिवासी जनजातिहरु जो क्षणिक राजनैतिक स्वार्थ र, व्यक्तिगत स्वार्थ बोकेका छन्, उनीहरुले पनि दसैं–तिहारलाई हाम्रो चाड होइन पनि भन्ने तर, त्यही दसैं–तिहारको उपलक्ष्यमा टन्न मासुभात र, जाँडरक्सी पनि खान छाड्दैनन् । झन् तिहारमा द्यौसी–भैलो खेल्न त तँंछाड–मछाड नै चल्छ ।
जे होस्, दसैं र तिहार मात्रै होइन, जब पृथ्वीनारायण शाह र उनका भाइ भारदारले कथित् नेपाल एकीकरण गरे, त्यसपछि पूर्वका किरातीहरुलाई फुटाएर छोटे राजा (प्रभावशाली व्यक्तिहरुलाई) सरह पदवी, पगरी दिएर राई, सुब्बा, मुखिया, देवान आदि पदहरु दिए । साथै हिन्दु धर्म अनुसारको कर्म गर्ने उर्दीसहित शासन थोपरे । तिनीहरुलाई (जो राई, सुब्बा, मुखिया, देवान आदि भए) लाई आफूहरुले पनि हिन्दु धर्म मान्नु पर्ने र, रैती अर्थात् ज्यमी, जमी वा जिमीहरुलाई पनि बडादसैंमा टीका र जमरो लगाईदिएर हिन्दु धर्म मान्नै पर्ने बाध्यतात्मक परिस्थिति सिर्जना गराइयो । यसको प्रमाणको रुपमा धेरै उदाहरणहरु दिन सकिन्छ ।
तर, यो पंक्तिकार लिम्बुको भाञ्जा र, हाम्रो मावली बाजे (हजुरबा) समेत सुब्बा भएकोले के देखेको थियो भने, नवमीको दिन बिहान बोकोको बलि दिएर मौलोको वरिपरि तीनफन्को घुमाइन्थ्यो । त्यसरी घुमाई सकेपछि सुब्बा अर्थात् बाजेले हत्तपत्त आफ्नो घरको भित्तोमा दुवै हात बोकाकोे रगतमा चोपलेर पञ्जा छाप लगाउनुहुन्थ्यो । बालापन न हो, हामीलाई कहिले दसैं आउला र नयाँ लुगा लगाउन पाइएला, टन्न मासु भात खान पाइएला, रोटेपिङ खेल्न पाइएला, बजार जान पाइएला र, रमाईलो गर्न पाइएला भन्ने मात्रै थियो, त्यो बेला । तर, काठमाडौं आएर केही बुझ्ने भएर गाउँ फर्कंदा (२०४६ को परिवर्तनपछिको कुरो हो ।) मैले मेरा सुब्बा बाजेलाई त्यो बेला दसैंमा किन त्यसो गरिन्थ्यो भनेर सोध्दा सुब्बा बाजे भन्नुहुन्थ्यो ‘त्यसो नगरे त तेरो बाजेले उजुरी दिन्थ्यो नि त ?!’ मेरो बाजे भनी सुब्बा बाजेले गरेको संकेत भने राज्यले खटाएको जोगी र पण्डितप्रति लक्षित थियो, अहिले बुभ्mदा ती जोगी राज्यले खटाएको जासुस रहेछन् ।
यो कोणबाट हेर्दा दसैँ केवल चाड मात्रै नभएर धार्मिक, सांस्कृतिक र राजनीतिक हतियारका साथै छोटो समयमा ठूलो मात्रामा हुने आर्थिक गतिविधिको सशक्त माध्यम पनि हो भन्दा कसैको विमति नरहला कि भन्छु म...?!
000
महिषासुर राक्षस नभई असल राजा थिए
विजया दशमी, दशैं, दुर्गापूजा, दशहरा, नवरात्री आदि नामले विश्वका हिन्दुहरुले पर्व मनाइरहेका छन्। दुर्गाले 'राक्षस' महिषासुरको हत्या गरेको उत्सवका रुपमा यसलाई मनाइन्छ। तर केही वर्षदेखि भारतका केही ठाउँमा (नेपालमा पनि कहीँकतै) 'महिषासुर साहदत दिवस' मनाउन थालिएको छ। यो मनाउन थालिएको धेरै भएको छैन तर तीव्र रुपमा फैलिरहेको छ।
Wednesday, January 18, 2023
किन हराए ‘जनवादी’ गीत र स्रष्टा? - सेवा भट्टराई
नेपालमा क्रान्तिकारी गीतको परम्परा आज चिनिएका क्रान्तिकारी अर्थात् माओवादी र अलि अगाडिका क्रान्तिकारी अर्थात् माले/एमाले पार्टीबाट नभएर हाल नेपालको जेठो पार्टी नेपाली कांग्रेसबाट शुरू भएको थियो।
नेपाली रेडियोमा पहिलो महिला आवाज रानुदेवी अधिकारीले २००७ सालभन्दा अगाडि नै राणा शासन विरुद्ध गीतहरू गाउँथिन्। नेपाली कांग्रेसले गोप्य रूपमा विराटनगरमा स्थापना गरेको रेडियोबाट उनका यस्ता गीत प्रसारण हुन्थेः
नेपाली नेपाली ...
अघि बढौं हातमा क्रान्ति झण्डा लिई
क्रान्ति झण्डा लिई
नेपाली ...
हे नेपाली आमा बाबु दिदी बहिनी दाजु भाइ
सब मिली उद्धार गरौं हाम्रो नेपाललाई
पछि नसरौं अबदेखि दुःख परे पनि
पछि नसरौं अबदेखि दुःख परे पनि।
यो विधालाई जनवादी भन्न थालियो। नेपालमा प्रजातन्त्रको स्थापनापछि केही समय सुस्ताएको यो विधा पञ्चायत कालमा फेरि सक्रिय भयो। २०२० सालको दशकमा रामेश, रायन, मञ्जुल लगायतले ‘राल्फा’ समूह स्थापना गरेपछि यो विधामा धेरै गीत बन्न थाले।
हाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति रायन भन्छन्, “त्यस वेला प्रेमका गीत मात्र गाइन्थे। गरीबको कठिन जीवनको बारेमा गीत हुँदैनथे। हाम्रो उद्देश्य गीतसङ्गीतको माध्यमबाट चेतना जगाउनु र समाज परिवर्तन गर्नु थियो।”
लेखक पारिजातले वैचारिक नेतृत्व गरेको यो समूहले ‘गाउँ गाउँबाट उठ’ र ‘गरीबको चमेली’ जस्ता धेरै विद्रोही गीतहरूको सिर्जना गर्यो। ती गीत गाउँदै पञ्चायतको विरोध गर्दै राल्फा देशका विभिन्न भागमा पुग्यो र ‘प्रगतिशील’ विधाको स्थापना गर्यो। यो विधा संसारका विभिन्न ठाउँमा देखा परेको ‘प्रोटेस्ट म्युजिक’ सँग मिल्दोजुल्दो छ।
लेखक पारिजातले वैचारिक नेतृत्व गरेको यो समूहले ‘गाउँ गाउँबाट उठ’ र ‘गरीबको चमेली’ जस्ता धेरै विद्रोही गीतहरूको सिर्जना गर्यो।
यो विधाले प्रेम जस्ता लोकप्रिय विषयलाई बेवास्ता गर्दै असमानता र अन्यायका विषयमा शब्द रच्छ। यस्तो गीतका सङ्गीत सैन्य वा युद्ध सङ्गीतसँग मिल्दोजुल्दो हुन्छ, र लोकधुनमा आधारित हुने हुनाले बुझ्न, सम्झिन र दोहोर्याउन सजिलो हुन्छ।
२०४६ साल र २०६२/६३ को आन्दोलनको सफलतामा यी गीतसङ्गीतको महत्त्वपूर्ण भूमिका रहेको विश्लेषकहरू बताउँछन्। दशक लामो माओवादी हिंसात्मक विद्रोहका क्रममा पनि असमानता र अन्यायका विरुद्धमा गीतहरू बनेका थिए। माओवादी सांस्कृतिक टोलीहरूले यी विषयका साथै युद्ध सम्बन्धी गीतहरू पनि बनाएका थिए।
युद्धमैदानमा वीरता र शहीदको बलिदानको प्रशंसा गर्दै धेरै गीतहरू बनेका थिए। तीमध्ये नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग आबद्ध सामना समूहका कलाकारहरूले तयार पारेको एउटा गीत तीन वर्षअघि यूट्युबमा देखा परेको थियो। भिडिओमा कमब्याट पोशाक र ट्र्याकसुटमा महिला र पुरुष मञ्चमा उत्साहपूर्वक नाचिरहेका छन्।
यो आधुनिक र आक्रामक नृत्यका मुद्रा कुनै पनि रियालिटी शो वा म्युजिक भिडिओमा अस्वाभाविक देखिँदैनन्। तर, गीतका शब्दले भने यो नाच मनोरञ्जन मात्र नभएको बताउँछन्ः
चमचम गर्ने खुकुरी साँध लाउने वेला भो
फेरि अर्को क्रान्ति उठ्छ जागै बस्ने वेला भो
फेरि जँघार तर्ने वेला भो
बारुदसँग खेल्ने वेला भो
फेरि भुल्को उठ्ने वेला भो
दुश्मनसँग भिड्ने वेला भो।
केही अध्येता यस्ता आक्रामक गीतलाई पनि ‘जनवादी’ र ‘प्रगतिशील’ विधाका उत्तराधिकारी मान्छन् भने केहीले ‘क्रान्तिकारी’ मात्र भन्न सकिने बताउँछन्। माओवादी द्वन्द्वकालमा यस्ता गीत र नाच धेरै लोकप्रिय थिए। माओवादीका सांस्कृतिक टोलीहरू पार्टीको पक्षमा जनमत बढाउन यस्ता नाच र गीत प्रस्तुत गर्दै देशका विभिन्न ठाउँमा पुग्थे, ती सांस्कृतिक पहलले कतिपय ठाउँमा काम पनि गरे। तर, द्वन्द्वकाल अन्त्य भएको १५ वर्षपछि यस्ता क्रान्तिकारी गीत कतै सुनिँदैनन्।
“युद्धमैदानका त्यस्ता गीतहरू इतिहासको एउटा क्षणमा सान्दर्भिक थिए, अहिले सान्दर्भिक रहेनन्।”
“यी क्रान्तिकारी गीतको भूमिका क्रान्तिकारी पार्टीमा मानिसहरू भर्ती गर्नु र परिचालन गर्नु थियो,” माओवादीमा विगतमा एउटा सांस्कृतिक समूहको नेतृत्व गरेका मणि थापा भन्छन्, “युद्धमैदानका त्यस्ता गीतहरू इतिहासको एउटा क्षणमा सान्दर्भिक थिए, अहिले सान्दर्भिक रहेनन्।”
यस्ता केही गीत यूट्युबमा पाइन्छन्। तर, कतै रेकर्ड नगरिएका कारण थुप्रै गीत हराइसकेका छन्। यो भौतिक कारण बाहेक ती गीत अहिले नसुनिनुको अमूर्त कारण पनि रहेको लेखक तथा सङ्गीत अध्येता रमण घिमिरेको विचार छ। “यस्ता गीतहरू कुनै एउटा सिद्धान्तसँग सम्बन्धित हुन्छन्, र आन्दोलनलाई आवश्यक भएसम्म मात्र सान्दर्भिक हुन्छन्। दीर्घकालमा सबै क्रान्तिकारी गीतको यस्तै हालत हुन्छ,” घिमिरे भन्छन्।
माओवादी पार्टीको सांस्कृतिक समूहमा पनि थुप्रै प्रतिभाशाली लेखक, सङ्गीतकार र गायक थिए, तर पछि सांस्कृतिक समूह नै भङ्ग गरिएको थियो। “युद्धविरामपछि हामी कुन दिशामा जाने, शान्ति कि क्रान्ति भन्नेबारे ठूलो बहस भएको थियो,” गायिका लक्ष्मी गुरुङ बताउँछिन्। उनले सामना सांस्कृतिक समूहकी उपप्रमुख भएर यस्ता दर्जनौं गीत गाएकी थिइन्-
रणमैदानमा हो साथी रणमैदानमा
वीरहरूको जीवन फुल्छ रणमैदानमा।
कुनै समयमा माओवादी पार्टीको मूलधार अन्तर्गत धेरै लेखिने र गाइने क्रान्तिकारी गीतहरूको दायरा आज निकै साँघुरिएको छ। शान्ति प्रक्रियापछि यस्ता गीतको माग नभएपछि गायिकाका रूपमा बाँच्न गाह्रो भएको गुरुङ बताउँछिन्।
“हामी आजकाल गाउँ गाउँमा गएर गीत गाउँदैनौं। काठमाडौंमा औपचारिक कार्यक्रमहरूमा फाट्टफुट्ट गाउँछौं,” उनी भन्छिन्। क्रान्तिकारी गीतहरूको सान्दर्भिकता र दायरा खुम्चिएसँगै उनको समूहका धेरै कलाकार अरू नै क्षेत्रमा लागिसकेका छन्।
क्रान्तिकारी गीतका प्रमुख सर्जक खुशीराम पाख्रिनको निधन भइसकेको छ भने मणि थापा आज गायकभन्दा पनि राजनीतिज्ञका रूपमा चिनिन्छन्। उनी माओवादी छाडेर नेकपा (एमाले)मा क्रियाशील छन्। अन्तिम समयसम्म पनि क्रान्तिकारी गीतहरू गाइरहनेमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पर्छ। तर, भूमिगत हुँदासम्म आक्रामक गीतहरू सार्वजनिक गरिरहेको उक्त पार्टीको सामना सांस्कृतिक समूहका गीत पछिल्लो समय ‘समाजसुधार’ मा केन्द्रित देखिन्छन्।
कला क्षेत्रमै अघि बढ्न खोज्ने क्रान्तिकारी कलाकारहरूले आफ्नो कला नै केही परिवर्तन गरेका छन्। माओवादीको तत्कालीन प्रतिरोध समूहकी प्रगती महरा अहिले सामाजिक विकृति र परिवर्तनका बारेमा गाउँछिन्। “युद्ध विषयका गीतहरू इतिहास हुन्, ती दिनहरू सकिइसकेकाले हामी आजका आवश्यकतामा केन्द्रित छौं,” उनी भन्छिन्।
क्रान्तिकारी गीतको तीव्र गतिमा भएको उदय र अवसानपछि पनि जनवादी गीत गाउने राल्फा समूह भने अझै सक्रिय छ। तर, तत्कालीन माले पार्टीसँग आबद्ध भई पञ्चायतको विरोध गरेको राल्फाका सदस्यले आज आफूलाई राजनीतिबाट अलग्याएका छन्। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति रायन भन्छन्, “हामीले सधैं जनताका पक्षमा काम गर्यौं। म आज यो पदमा छु, र यहाँबाट लोककलाको संरक्षण र प्रवर्द्धनन गर्न सक्छु।”
“जनतालाई आवाजको खाँचो हुन्छ, शक्तिका सामु सत्य बोल्ने गीतको खाँचो हुन्छ।”
उनका सहकर्मी रामेशले पनि राजनीतिबाट आफूलाई अलग्याएका छन्, भलै धेरै राजनीतिक समूह र आन्दोलनले राल्फाका गीतहरू अपनाउँदै आएका छन्। पञ्चायतको विरोध गर्न रचिएका गीतहरूलाई माओवादीले पनि अपनाएका थिए र २०६२/६३ को राजतन्त्र विरोधी आन्दोलनमा पनि प्रयोग गरिएका थिए। तर, ती गीतका सर्जकहरूमध्येका रामेश भने पछिल्लो समय बालगीत सिर्जनामा बढी सक्रिय छन्।
“हामीले जनवादी गीत गायौं, मानिसहरूले राम्रो कामका लागि ती गीतको प्रयोग गर्न चाहन्छन् भने गरे हुन्छ। तर, कुनै राजनीतिक स्वार्थका लागि त्यस्ता गीतको प्रयोग गर्नु अपराध सरह हो,” उनी भन्छन्।
राल्फाका गीतहरूले न्याय र समानताका बृहत्तर मुद्दाबारे बोल्ने हुनाले ती सर्वकालीन हुन पुगेका छन्। र, युद्धमा केन्द्रित माओवादी गीतहरू हराइसक्दा पनि यी गीतहरू बारम्बार प्रयोग गरिन्छन्। यी गीतहरूसँग सम्बन्धित राजनीतिक आन्दोलनहरू एक हिसाबले ‘सफल’ भइसकेको अवस्थामा समाजमा यस्ता गीत अझै आवश्यक छन् कि छैनन् भन्ने पनि एउटा प्रश्न छ, तर समाजमा असमानता हुन्जेल यस्ता गीतको खाँचो रहने जनवादी गायकहरू बताउँछन्।
मसाल पार्टीको रक्तिम सांस्कृतिक समूहका संस्थापक जीवन शर्मा क्रान्तिकारी गीतबाट मूलधारतर्फ लागेका थोरै गायकमध्ये एक हुन्। उनी जनजीविकामा सरोकार राख्ने गीत गाउन दलविशेषसँग जोडिनु नपर्ने धारणा राख्छन्। “जनतालाई आवाजको खाँचो हुन्छ, शक्तिका सामु सत्य बोल्ने गीतको खाँचो हुन्छ। यदि गीतहरूले त्यसो गर्न सके भने त्यस्ता गीत कुनै राजनीतिक पार्टीसँग आबद्ध हुनु पर्दैन, त्यस्ता गीतको आफ्नै जीवन हुन्छ,” उनी भन्छन्।
शर्मा आबद्ध रक्तिम समूह मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग नजिक भएको हुनाले पञ्चायत कालमा उनका गीतहरू अनौपचारिक रूपमा प्रतिबन्धित थिए भने शर्मा आफैं पनि लामो समयसम्म भूमिगत थिए। यसै गरी कुनै समय नेपालमा सबै जनवादी, प्रगतिशील र क्रान्तिकारी गीत र सर्जक प्रतिबन्धित नै भएका हुन्। विडम्बना, कुनै समयमा विद्रोही गीत रचना र प्रचारप्रसार गर्ने माओवादीले आफू सत्तामा हुँदा विद्रोही गीतमाथि नियन्त्रण गर्ने प्रवृत्ति देखाएका छन्।
२०७५ फागुनमा पूर्व माओवादी समेत आबद्ध नेकपाको सरकार छँदा सार्वजनिक भएको पशुपति शर्माको व्यङ्ग्यात्मक गीत ‘लुट्न सके लुट्’ ले सत्तापक्षका कार्यकर्ताबाट चर्को विरोध र आलोचना भोग्नुपरेको थियो। दबाब थेग्न नसकेर शर्माले गीत भोलिपल्टै यूट्युबबाट हटाएका थिए र पछि केही काँटछाँट गरेर फेरि अपलोड गरिएको थियो। २०७८ चैतमा माओवादी लडाकूको व्यथा समेटिएको प्रकाश सपूतको ‘पीर’ ले पनि माओवादीकै धम्कीका कारण भिडिओको केही दृश्य परिवर्तन गर्नुपरेको थियो।
सत्ता नहुँदा ‘विद्रोही’ सामग्रीलाई प्रश्रय दिने र सत्तामा हुँदा भने त्यस्तै विद्रोह दबाउने प्रवृत्ति बारम्बार देखिने गरेको छ। यस्तो समयमा राजनीतिक दलबाट अलग रहेर जनपक्षीय तथा जनवादी गीतहरू सिर्जना गर्ने सर्जकहरूको खाँचो देखिएको छ।
तर, रामेश र जीवन शर्मा जस्ता केही सर्जकले फाट्टफुट्ट यस्ता गीतको सिर्जना गरे पनि शुरूमा जनवादी साहित्यमा रुचि देखाएका शम्भु राई, गणेश रसिक, आभास लगायत सर्जकहरूको अहिले यो विधामा सक्रियता छैन। यस्तै, क्रान्तिकारी सर्जकहरूले जनवादी विधाको मूलधारमा पुगेर त्यसलाई निरन्तरता दिन सकेका छैनन्।
(भट्टराई स्वतन्त्र पत्रकार तथा लोकसाहित्य सङ्कलक र अनुसन्धानकर्ता हुन्। हिमालको २०७९ असोज अंकमा ‘‘जनवादी’ गीत: सत्ताका भर्याङ’ शीर्षकमा प्रकाशित।)
Monday, December 25, 2017
क्रान्तिकारी ध्रुवीकरण र सांस्कृतिक मोर्चा - डा. ऋषिराज बराल
http://janamel.com बाट साभार





