Monday, April 24, 2017

रसुवाली कबिको कविता 'युद्धपछि कमरेडहरु' : वर्तमानको शक्तिशाली आवाज - अशोक सुबेदी



युवा साहित्यकार ‘रसुवाली कवि’ पछिल्लो समयमा तीक्ष्ण र प्रभावकारी कविताका कारण चर्चाको शिखरमा छन् । उनले यसै मेसोमा लेखेको ‘युद्धपछि कमरेडहरु’ शीर्षक कवितालाई आफैँले विवादित कविता भनेका छन् र उनको यो कविता निकै चर्चामा छ । हुनत चर्चामा आउने सबै विषयको महत्व उत्तिकै प्रभावकारी हुँदैन तर उनको यो कविताले पछिल्लो युगको प्रतिनिधित्व गरेको मान्नुपर्छ सांकेतिक रुपमै भए पनि ।
कविले यस कवितामा दिलमाया बम्जनको बिम्बलाई औधी मन पारएका छन् । उनी भन्छन् :

युद्ध ठीक कि शान्ति ?
अपमानित जीवन कि सम्मनित मृत्यु ?
चुरोटको धुवाँजस्तो सहयात्री कि आगोजस्तो भर्भराउँदो सहयात्रा ?

दिलमाया नेपालमा सञ्चालित तर विश्वलाई नै हल्लाउन सफल महान् जनयुद्धकी प्रथम छापामार महिला सांस्कृतिक सहिद । दिलमायाले रगत पाखेर कब्जा गरिएको हतियारले नै जनयुद्ध अघि बढेको थियो, महान् बनेको र राजतन्त्र अन्त्य गर्नेसम्मको शक्ति आर्जन गरेको थियो । हुनत त्यसताकाका युद्ध कमान्डरहरुले यतिबेला दिलमायाहरुको रगतसँग साटिएको हतियार ुस्मनलाई बुझाएर प्रतिक्रियावादी संसद्वादी सत्ताको नालीमा मुन्टो गाडेका छन् । जनयुद्ध र दिलमायाहरुको बलिदानमा गर्वभन्दा प्रायश्चित गरिरहेका पुष्पकमल दाहाल–बाबुराम भट्टराईहरुदेखि जनयुद्ध कालभर जनयुद्धलाई सामाजिक फासिवाद र फासिवादी आतंक भन्दै सरापेर इच्छुकहरुको हत्या गराउने तर माओवादी ठूलो शक्ति हुनासाथ पार्टीमा घुसेर सरकारी पदप्रतिष्ठा र पार्टी कब्जा गर्ने, घर साङ्लाले बनसाङ्ला लखेट्ने प्रवृत्ति बोकेका केवल खान जन्मिएकाहरु, युद्धको समयमा दुला पस्ने, भाग्ने, एउटा पोस्टरसम्म नटाँस्ने तर यतिबेला नभएको इतिहास गाँसगुँस र तानतुन पारेर घुक्र्याउँदै, धम्क्याउँदै र चाकरी गर्दै आन्दोलन कब्जा गर्ने षडयन्त्रकारीहरुलाई इतिहासमा भएको त्याग, शौर्य र बलिदान केवल कथा र दिक्कलाग्दा लेखका विषय बन्ने गरेका छन् । कविले एउटै कविताबाट युद्ध अर्थात् महान् जनयुद्धपछि सांस्कृतिक आन्दोलनमा देखिएका सकारात्मक र नाकारात्मक पात्रहरुको नामै काढेर र कतिपयको संकेत गरेर रौँचिरा विश्लेषण गरेका छन् । केही खल पात्रहरुप्रतिको कविको मोह वा सनदेहलाई हटाइदिने हो भने यो वर्तमानलाई छुने उत्ष्ट बिम्ब र प्रतीकहरुले भरिएको शक्तिशाली कविता हो भन्दा कुनै फरक पर्दैन ।


यहाँ कवितामा उल्लेख भएका सबै पात्रहरुको नाम लिनु आवश्यक छैन किनकि कतिपय पात्रको नाउँ उच्चारण गर्नु वा लेख्नु समयको बर्बादी मात्र होइन, अपमान पनि हो भन्ने मलाई लाग्छ । इतिहास र वर्तमान नै दुर्गन्धित पात्रहरुको नाम लिँदा समयकै बदनामी भएकाले मात्र केही संकेत गर्न उपयुक्त हुने मेरो निष्कर्ष छ । सकारात्मक पात्र अर्थात् युगनायकका रुपमा कविले अग्निराज पौडेल अरापको चर्चा गरेका छन् र उनले हरेक रङ प्रयोग गरेर निर्माण गरेका बन्दुक, हँसिया हथौडा, सग्लो नेपालको नक्सा, युद्धआकृतिका ललितकलाको सुन्दर चित्रण गरेका छन् । शासकहरुले जनघात, राष्ट्रघात र वर्गघात गरिरहेको समयमा एउटा प्रगतिवादी स्रष्टाले रङ र कुचीको प्रयोग गरेर बन्दुक निर्माण गरेको बिम्ब उतार्नु आफैँमा क्रान्तिकारी आशावाद हो । दलाल संसद्वादलाई आँगालो हालेर वर्गसंघर्षलाई धारे हात लगाइरहेका पुष्पकमल दाहाल, महराहरु फेरि युद्ध वा क्रान्तिको कुराले तर्सिइरहेका छन् तर कविले एउटा कलाकारको रङ र कुची अघि सारेर युद्ध, क्रान्ति जारी रहेको र संस्कृतिकर्मीहरु त्यसका लागि तम्तयार भएको संकेत गरेका छन् ।

कविले जनयुद्धका घाइते योद्धा अर्थात् सदाबहार क्रान्तिकारी योद्धा माइला लामाभित्र सधैँ देखिएका क्रान्तिकारिता, उनले सम्झिएको बन्दुक, आधारइलाका, गीतसंगीतले पनि त्राmन्तिकारी आशावादलाई नै संकेत गरेका छन् । मोहन वैद्य किरणले नाटक÷अपेरामा, सांस्कृतिक थेसिसमा, अनुहारका रेखाहरुमा युद्ध र बारुदको कुरा गरिरहेको देखाएर कविले किरण समूहले कार्यदिशामा विकास गर्न नसकेको तर क्रान्तिको कुरासम्म भने गरिरहेको तर्फ संकेत गरेका छन् ।

कविले रमणथामी, आरोह नेपाली र सामना परिवारका कलाकारहरुमा युद्धको चेत नघट्नु बरु अझै जोशिलो गरी नाच्दै गाउँदै, सिर्जना गर्दै रहनु नयाँ क्रान्तिका लागि शुभसंकेतका रुपमा लिन सकिन्छ ।
हिजो अर्को संसद्वादको पूजा गरिरहेका केही थान पात्रहरु ऋाज सर्लक्क यता आएर यो संसद्वादको भजन गाउँदै सिताको गीता गाइरहेका छन् र लेखिरहेका छन् चिबेचराको गीतहरु भन्दै कविले छेपारा, व्यक्तिगत स्वार्थका लागि दलबदलुवा र विचारहीनहरुको उछित्तो पनि काढेका छन् ।
यही संसद्वाद अर्थात् सुँगुरको खोर र आहालमा डुबुल्की मारेर रमाउन चाहने कयौँ पात्रको नामै काढेर कविले वर्तमान समयमा देखिएको बेथिति र असंगतिको तीखो व्यंग्य पनि गरेका छन् । भण्डारी थरका पूर्वक्रान्तिकारी संस्कृतिकर्मी क्रान्तिको यात्रा छोडेर ह्विस्की र रक्सीको मूल्य सोध्नमा तल्लीन रहेको, एनजीओ÷आईएनजीओले दिने डलरहरुमा भविष्य देखिरहेका कतिपय स्नामधन्य सौन्दर्यशास्त्रीहरु क्रान्ति, बलिदानको नभएर लिभिङ टुगेदरको सौन्दर्यशास्त्रमा रत्तिइरहेको, वर्गसंघर्षमा बलिदान गर्ने सहयोद्धाको रगतलाई आईएनजीओ, डलरमा भँजाउँदै, साट्दै, खाँदै र क्रान्तिलाई धारे हात लगाउने खलपात्रहरु, लैनचौर दरबार अर्थात् भारतीय साम्राज्यवादको नेपाली मुख्यालयमा नेपालका सूचना बेचेर थालबटुका थाप्दै उदरपूर्ति गरिरहेका खलपात्रहरुको चर्चा गरेर कविले नेपालको पछिल्लो अवस्था प्रस्ट्याएका छन् ।
जस्तो कि :

हुस्की र रक्सीको मूल्य सोधिरहेछन् गणेश भण्डारी
नयाँ आईएनजीओका लागि
लेखिरहेछन आहुतिले लिभिङ टुगेदरको नयाँ सौन्दर्यशास्त्र
वर्गयुद्धप्रति धारे हात लगाइरहेछन् खिमा रिजाल’ हरु
हरपल उत्तरयात्राको गायत्रीमन्त्र जपेर
लैनचौरलाई दाहिने पार्दै फन्को मारिरहेछन् रामचन्द्र न्यौपानेहरु
तेज सकिएका प्रचण्डको महँगो खाटको धुलो पुछ्दै
चुनावी गजल लेखिरहेछन् बलराम मुक्तिपथिकहरु

तुच्छ मुख्यमन्त्रीको लालसामा भारतीय विस्तारवादलाई स्वतन्त्र मुलुक सिक्किम बुझाउने कुलंघारको नेपाली सन्तति पुष्पकमल दाहालको पलङको धुलो पुछेर जीविकोपार्जन गरिरहेको चाकरहरुको चर्चा गर्दै कविले मन्दिरमा लाम लागिरहेका घनश्याम, मम पलसको बिल तिरिरहेका मातृका, कम्युनिस्ट घोषणापत्रको क सम्म नपढी कम्युनिस्ट भनाउँदै हिँडेका विभिन्न नामका भण्डारीहरु, नयाँनयाँ घडेरीको दलाली गरिरहेका विभिन्न नाउँका ईश्वरचन्द्रहरुले रक्तचन्दन तस्करी गरिरहेका कालीबहादुर खाम अर्थात् हिजो जनयुद्धको समयमा जनमुक्ति सेनाका एक कमान्डर रहेर पनि आज प्रतिक्रान्तिका मतियार–सहयोगी मात्र नभएर दलाल संसद्वादका नायक पुष्पकमल दाहाललाई चास्नी चखाएर तस्करीमा लिप्त बनेका पात्रहरुको ठेगाना सोध्दै गरेका ज्ञवालीहरुको नाम र कर्मतर्फ संकेत गरेर कविले वर्तमान कति भ्रष्टा, निचता र दुष्टताबाट क्रान्तिको मार्गतर्फ लम्बिन खेजिरहेको छ भन्नेतर्फ संकेत गरेका छन् ।

जनयुद्ध कालभर सांस्कृतिक क्रान्तिका प्रवक्ता बनेका तर वर्तमान कता हो कताजस्ता भएका छन् बराल भन्दै कविले यस कवितामा कयौं गीतहरुमा अझै पनि संगीत हराइरहेको, कयौँ मानिसहरुको जीवनको गति धर्मराएको, खुसीराम र जेबी टुहुरेहरुलाई उत्तरआधुनिकतावादले खोजिरहेको, देवेन्द्र पौडेलहरु निराश भएर माक्र्सवाद नै परित्याग गर्दै पलायन अर्थात् भ्रष्ट संसद्वादको दस्ताबेज लेख्न घोत्लिइरहेको दुरवस्थाको तीक्ष्ण चित्रण गरेका छन् । हिजो रोल्पा र रोल्पालीहरुका क्रान्ति र वीरताका गाथा गीत र कवितामा उतारेर युवकयुवतीलाई क्रान्तिमार्गमा लाग्न रौस्याउने मणि थापाहरुमा छट्पटी हराउनु, थाक्नु, गल्नु, भाग्नु र पूर्ण विरामले क्रमशः पुरानो अर्थात् जनयुद्धकालीन चे ग्वेभारालाई चिठी लेख्नैपर्ने भन्ने जस्ता क्रान्त्किारी कविताका शीर्षक बिर्सिने अवस्था उत्पन्न हुनु वर्तमानको राम्रो र शुभसंकेत होइन । तर पनि कविले दिलमायाहरुको बलिदानलाई स्मरण गराउँदै सोध्ने हिम्मत गरेका छन् ः क्रान्ति रोज्ने कि आत्मसमर्पण ? अर्थात् विभिन्न सकारात्मक र नकारात्मक पात्र, परिवेश, घटना र बिम्हरु प्रस्तुत गरेर अब फेरि पनि र्वहारावर्गलाई जित्नका लागि आत्मसमर्पण होइन, क्रान्ति नै रोज्नुपर्ने वातावरण कविले निर्माण गरिदिएका छन् । यो तीव्र र छोटो प्रतिक्रिया÷टिप्पणीको निष्कर्षमा भन्न सकिन्छ, रसुवाली कवि वर्तमानलाई गहिराइ, उचाइ र व्यापकतामा बाँकटे हान्न सफल छन् । उनी एक सफल कवि मात्र होइन, सफल विश्लेषक र राजनीतिक व्यक्तित्व पनि देखिएका छन् । उनको सफल सांस्कृतिक÷काव्यिक जीवनका लागि हार्दिक शुभकामना !

http://www.ratonews.com बाट साभार