Tuesday, August 11, 2015

परिभाषामा साहित्य

परिभाषामा साहित्य

 
  
 लेखेको कुराले पढ्नेको वा सुन्नेको मन छुन्छ भने त्यो साहित्य हुन्छ, हुँदैन भने हुँदैन। – अर्जुन पराजुली
 साहित्य सामाजिक चेतनाको समयसापेक्ष कलात्मक भाषिक अभिव्यक्ति हो। यो स्वयम्मा सौन्दर्यको खोजी हो र मानिसको जीवन सङ्घर्षमा अग्रगामी दृष्टिकोण प्रदान गर्ने साधन हो। यसले परिवर्तनको दिशा निर्देश गर्नुपर्दछ। –अनिरुद्र तिमसिना
 साहित्य भनेको गतिशील जीवनको एउटा प्रतिविम्ब हो। साहित्यले गतिशील जीवनको व्याख्या बोकेको हुन्छ। साहित्य नदीजस्तै बग्नुपर्छ। कतै शान्त, स्थिर र कतै वेगवान्, भङ्गालोमा धार बोकेको प्रवाहजस्तै। –अनिल श्रेष्ठ
 साहित्य सिर्जनात्मक मनको भाषिक आविष्कार हो, जहाँ जीवनका अर्कै पक्षको ध्वनि हुन्छ। साहित्य जीवनको फोटोग्राफी
होइन। – अभि सुवेदी
 साहित्य जीवनका निम्ति हुनुपर्छ। – अमर गिरी
 जीवनको अनुभूति र समाजको यथार्थ चित्रण। – अमृतलाल श्रेष्ठ
 परिभाषामा जसलाई बाँध्न, छोप्न सकिँदैन। – अविनाश श्रेष्ठ
 जीवन सत्यको अभिव्यक्ति। – आनन्ददेव भट्ट
 साहित्य जीवन–जगत्प्रतिको शाब्दिक प्रतिकृति हो। – आर.एम. डङ्गोल
 समाजको वास्तविक प्रतिविम्ब। – इन्द्र माली
 श्रमसङ्घर्ष, वर्गसङ्घर्ष, प्रकृतिसँग सङ्घर्ष गर्दा प्राप्त हुने अनुभूतिको कलापूर्ण अभिव्यञ्जना हो। यथार्थको सुन्दर व्यञ्जनापूर्ण प्रस्तुति र पुनर्सिजना हो। – ईश्वरचन्द्र ज्ञवाली
 साहित्य युगको ऐना हो। त्यसकारण हामीले त्यो ऐनास्वरूप देखिने गरी साहित्य सृजना गर्नुपर्छ। – एस.पी. आसा
 साहित्यलाई परिभाषाको घेरामा बन्दी नबनाउनु नै मेरो साहित्यको परिभाषा हो। – कणक महर्षि

ईश्वरचन्द्र ज्ञवालीद्वारा इच्छुक प्रतिष्ठानमा डेढ करोड भ्रष्टाचार

काठमाडौँ, २६ साउन ।

कुनैदिन ईश्वरचन्द्र ज्ञवालीले महान् सांस्कृतिक सहिद कृष्ण सेन इच्छुकको स्मृतिमा ‘चोभारको समाधिस्थल’ शीर्षकमा यस्तो कविता लेखेका थिए:
आज घाम पनि कालो लाग्यो
फूल पनि मुस्कुराएनन्
र चराहरू पनि चिर्बिराएनन् ।
आज रातैभरि जून पनि हाँसेन
चिसा थोपाथोपामा रोइरह्यो
नदीको कलरव पनि मृत्युगीतझैँ भए ।
समीरका शीतलहर आगोका लप्काझैँ
अशान्त जनयुद्धमा प्रतिबद्ध नेपाली धरती पनि
स्तब्ध र शून्य भयो
कृष्ण सेन जब तिम्रो मृत्युको सम्चार आयो ।
यो कविता उनको आगोका शब्दबिम्ब नामको कविता संग्रहमा छापिएको थियो । तर आज उनै ज्ञवालीले इच्छुकका नाममा स्थापित इच्छुक सांस्कृतिक प्रतिष्ठान भवन निर्माणका क्रममा ठेकेदार, लेखापाल र आसेपासेसँग मिलेर करिब डेढ करोड रुपैयाँ हिनामिना गरेको समाचार प्राप्त भएको छ । प्रतिष्ठानको भवन निर्माणसम्बन्धी आन्तरिक स्रोतले दिएको जानकारीअनुसार प्रतिष्ठानका अध्यक्षसमेत रहेका ज्ञवालीले धोबी खोला किनारमा बिनाकुनै प्रतिस्पर्धा साढे तीन करोडको भवन निर्माण गर्न चिनजानका ठेकेदार महेश थापालाई दिएका थिए । थापासँग कमिसनको कुरा मिलेपछि मात्र बिनाप्रतिस्पर्धा उनलाई भवन निर्माणको ठेक्का दिएको आन्तरिक स्रोत बताउँछ ।
साढे चार तलाको कुल इस्टिमेट पाँच करोड रहेको र अहिलेसम्म प्रतितला ३२ सय स्क्वायर फिट भएको भवनमा साढे तीन करोडको काम सकिँदासम्म ज्ञवालीले ठेकेदारसँगको मिलोमतो, कमिसन र विभिन्न शीर्षकमा गरी डेढ करोड रुपैयाँ कुम्ल्याइसकेको स्रोतको दाबी छ । स्रोतका अनुसार ज्ञवालीले दिवा निर्माण सेवा कम्पनीका सञ्चालक ठेकेदार महेश थापासँग अन्य कमिसनका साथै कमजोर सामग्री प्रयोग गर्ने गोप्य सहमति गरेर ठूलो भ्रष्टाचार गरेका हुन् । ज्ञवालीले प्रतिष्ठानका लेखापाल विकास दाहालसँगसमेत मिलेर विभिन्न सामान खरिद गर्दा र प्रतिष्ठानका कार्यक्रम गर्दा व्यापक आर्थिक घोटाला गर्ने गरेका छन् । सामानहरुको बिल नै नबनाउने र बनाएकोमा पनि मनपरी मूल्य राखेर कमिसन खाने गरेका छन् ।
स्रोतका अनुसार हालसम्म प्रतिष्ठानको भवनको डकुमेन्ट्स बीओक्यू (इस्टिमेट) हरु राम्रोसित तयार पनि गरेका छैनन् भने भवन निर्माणसँग सम्बन्धित कसैको पनि आधिकारिक हस्ताक्षर गराइएको छैन । इन्जिनियरदेखि कतिपय विषयमा ठेकेदारसम्मको हस्ताक्षर ज्ञवाली आफैँ गर्ने गरेका छन् । एकदुईवटा बिलकै भरमा भवनको साढे तीन करोडको भुक्तानी देखाएर उनले त्यति ठूलो भ्रष्टाचार गरेका हुन् । उनको भ्रष्टाचारका बारेमा प्रतिष्ठानका अन्य पदाधिकारी कित मौन छन्, कि त मालामाल ।
प्रतिष्ठानको साधारणसभा नबोलाएको कयौँ महिना भइसकेको छ । स्रोत भन्छ– महान् जनयुद्धका सहिदका बाबु खुसीराम पाख्रिनलाई नानाभाँती आरोप लगाएर अध्यक्षबाट हटाएरपछि ज्ञवालीलाई बिझेको काँडो निकालेजस्तै भएको छ । उनको भ्रष्टाचारबारे कसैले बोल्न नसकेको छ र बोल्न खोज्नेलाई धम्क्याएर वा मुखबुजो लगाएर थामथुम पार्ने गरेको उनका सहकर्मीहरु बताउँछन् । लेखापाल दाहालले अडिटरलाई पैसा दिएर अडिट पास गराएका छन् तर साढे तीन करोडको भ्याटको पैसा समेत भ्रष्टाचार गरेका छन् ।
ज्ञवालीले कीतिएपुरमा प्रतिष्ठानको पैसाले श्रीमतीका नाममा रहेको सस्तो जग्गा महँगोमा किनाएको र पछि घाटा लाग्यो भन्दै सोही जग्गा सस्तोमा बेचेर पनि कमिसन खाएका थिए । आनाको २ लाख पर्ने उक्त ८ आना जग्गा महँगोमा किनाएको र पछि सस्तोमा बेचेर पैसा खाएको तथ्य यसअघि नै प्रकाशमा आइसकेको छ । स्रोतका अनुसार ठेकेदार थापासँग मात्र उनले ७० देखि ८० लाख रुपैयाँ कमिसन खाइसकेका छन् । यो ठेकेदार थापासँगको मात्र हिसाब हो । भ्रष्टाचारको अन्य हिसाब त बेग्लै छ ।
ठेकेदार थापाको जोइन्ट भेन्चर पार्टनर मार्गदेवी निर्माण सेवा र त्यसका सञ्चालक निर्मल रिजाललाई धम्क्याएर ज्ञवालीले पार्टनरसिपबाट अलग्याए । रिजालको कम्पनीलाई दिनुपर्ने ३० लाखभन्दा बढी रकम पनि पार्टीको धाकधम्की देखाएर मिलिभगत गरे । स्रोतका अनुसार यतिबेला निर्मल ज्ञवालीले खतम पारे भन्दै पार्टीको ढोका ढकढक्याउँदै हिँडेका छन् ।
त्यतिमात्र होइन, लेखापाल दाहाललाई फकाएर ज्ञवालीले विभिन्न सामानको नक्कली बिल बनाएर पनि लाखौँ रकम झ्वाम पनर््े गरेका छन् । स्रोतका अनुसार उनले एक झोला गाईको मलको मात्र तीन हजार रुपैयाँ र सरसफाइ गरेको भन्दै ११ हजार रुपैयाँसम्मको नक्कली बिल बनाएर पैसा खाने गरेका छन् । ज्ञवाली र थापा मिलेर भवन निर्माणका लागि नियुक्त गरिएका इन्जिनियरहरुको कयौँ महिनाको तलबसमेत पचाइदिएको स्रोत बताउँछ ।
ज्ञवालीले ठेकेदार थापाले नियुक्त गरेका इन्जिनियर नरेश श्रेष्ठ र प्रतिष्ठानका तर्फबाट नियुक्त इन्जिनियर निरज केसीको गरी चार लाख रुपैयाँभन्दा बढी तलब नै झ्वाम पारिदिएका छन् । पीडित कर्मचारीले तलब माग्दा धम्क्याएर निकालिएदिएको स्रोत बताउँछ । ज्ञवालीले भवनको भवनको डिजाइनदेखिका काम गर्ने इस्ट कन्सल्टेन्सी अनन्त गुरुङको पनि लाखौँ रकम पचाइदिए । भवनका सम्पूर्ण डकुमेन्ट इस्टले नै बनाइदिएको थियो । यतिबेला गुरुङ पनि माओवादीभित्र यस्ता द्रव्यपिशाचहरु कसरी अटेका होलान् भन्दै गुनासो गर्दै हिँडेको स्रोत बताउँछ ।
हुँदाहुँदा ज्ञवालीले भवनको माथिल्लो तलाको नक्सा नै पास नगराई घुस खाएर निर्माण गराएका छन् । यतिबेला भवनका चार कोठाबाहेक सबै तला मासिक १० लाखमा भाडामा लगाउने तयारी भइरहेको छ । ज्ञवालीले भाडाको रकमलाई मासिक तलबजस्तै बनाउन लागेको स्रोतको दाबी छ । सरकारबाट बसैनि पौप्त हुने न्यूनतम २५ लाख रुपैयाँको हरहिसाब त ज्ञवालीले आजसम्म कसैलाई देखाउने गरेकै छैनन् । सबैको नक्कली हस्ताक्षर गरेर उनले प्रतिष्ठानको रकममा मोजमस्ती गरिरहेको पनि प्रतिष्ठानको स्रोतले जनाएको छ ।
एक कप चियामा बिक्री हुने पात्रहरुलाई प्रवक्ता बनाएर दलाउने गरेका ज्ञवालीले बिनाविवाह अर्काका श्रीमती र छोराछोरीसँग अवैध सम्बन्ध राखेर प्रतिष्ठान र जनसांस्कृतिक महासंघलाई नै बदनाम गराइरहेका दाहाल थरका एक व्यक्तिलाई भवन कुर्न लगाएका छन् । उनकै कारण महासंघ र प्रतिष्ठान दिनदिनै बदनाम बन्दै गएको स्रोतको दाबी छ । यतिबेला प्रतिष्ठानमा ज्ञवाली एकातिर छन् भने अरु सबै सदस्य उनका विरुद्ध छन् ।
उनीमाथि भ्रष्टाचार मुद्दा लगाउन र अध्यक्ष्ँबाट हटाउन माग गर्दै अन्य पदाधिकारी र सदस्यहरु ड्यास माओवादीका अध्यक्षसमेत रहेका प्रतिष्ठानका संरक्षक मोहन किरण वैद्यसमक्ष बारम्बार पुग्ने गरेका छन् । वैद्यले सबेतिरबाट गुनासो आएको र ज्ञवाली पटकपटक आर्थिक मामिलामा बदनाम भएको भन्दै उनलाई हटाउन साधारणसभा बोलाउने तयारीमा लागेको जानकारी प्रतिष्ठान स्रोतले दिएको छ । हुँदाहुँदा त कतिसम्म भने भवन निर्माणका दुवै इन्जिनियरहरुलाई हटाइसकेपछि हिजोआज ज्ञवाली आफैँ नक्कली इन्जिनियर बनेर कागजातमा सहीछाप गर्ने, पास गर्ने कामसम्म गरिरहेका छन् ।
यतिबेला भवन निर्माणमा कुनै पनि प्राविधिक छैनन् । ठेकेदारसँग मिलेर ज्ञवाली नै हाकिमदेखि प्राविधिकसम्मको सहीछाप गरेर पैसा कुम्ल्याउन भ्याउँछन्– स्रोतले भन्यो । राज्यको करोडौँ लगानी भएको प्रतिष्ठानमा न कुनै बिल, न कुनै फाइल, न कुनै टेन्डर डकुमेन्ट, न कुनै अडिट संस्थाको लाखौँको हिनामिना र भ्रष्टाचार गर्दा पनि कुनै निकायसम्म उजुरी नहुनु र सहिदको नामको प्रतिष्ठानमा एक व्यक्तिले रजाइँ गर्दा पनि अरु सबै मूकदर्शक बनेर टुलुटु हेरिरहनु दुःखको कुरा हो ।
प्रतिष्ठानको एक आन्तरिक स्रोतले राज्यको कुनै पनि निकायबाट यो भ्रष्टाचारको सही र सत्य छानबिन भएर दोषी ज्ञवाली र उनको समूहमाथि कारबाही अघि नबढाए पार्टीहरुको ढोका ढकढक्याउनुबाहेक अर्को कुनै उपाय नहुने बताएको छ । आजसम्म प्रतिष्ठानको भवन निर्माण र अन्य कार्यक्रमहरुका नाममा ज्ञवालीबाट भएको भ्रष्टाचार हिसाबले डेढ करोड नाघ्ने स्रोतको दाबी छ ।
स्मरण रहोस्, ज्ञवालीले यसअघि पनि अखिल नेपाल जनसांस्कृतिक महासंघको लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको सम्बन्धमा छानबिन गर्न पार्टीभित्रै आयोग बनेको थियो । आयोगले आर्थिक र इतिहाससम्बन्धी भ्रष्टाचार गरेको ठहर गरे पनि ज्ञवालीले पार्टी अध्यक्ष वैद्यलाईै प्रभावित पारेर र आयोगमा भएका केही व्यक्तिलाई पैसा ख्वाएर प्रतिवेदन गुपचुप पार्न लगाएका थिए । उनका कतिपय पछुवाहरु उनले दिएको कलो खाएर क्रान्त्किारी राजनीतिक आन्दोलन र क्रान्तिकारी नेतृत्वका विरुद्ध गुप्तचरी गर्दै हिँडेको समाचार पनि व्यक्त जनविचारले यसअघि नै सार्वजनिक गरिसकेको छ । ज्ञवालीलाई बचाउन उनीमाथि प्रश्न उठाउने मिडियाको मुख बन्द गराउन धाकधम्की, ललाइफकाइका साथै प्रशासन किन्न लाखौँको थैली बोकेर हनुमानढोकासम्म एउटा गिरोह चाहारिरहेको स्रोत बताउँछ ।

(टीपी तिमल्सिना, व्यक्त जनविचार साप्ताहिकबाट)
ईश्वरचन्द्र ज्ञवाली

http://www.nepalese.org बाट साभार