Saturday, October 28, 2017

सांस्कृतिक रूपमा नफेरिएको कम्युनिस्ट आन्दोलन - डा. अमर गिरी

सन्दर्भ : अक्टोबर क्रान्तिको शतवार्षिकी –
संसारभरि माक्र्सको द्विशतवार्षिकी र अक्टोबर क्रान्तिको शतवार्षिकी मनाइँदै छ । समकालीन विश्व कम्युनिस्ट आन्दोलनमा यी दुवैको विशेष महत्व छ । यस अवसरमा माक्र्सवादको महत्व र यसको भविष्य, सोभियत समाजवादको अन्त्यका कारणहरू, आजको विश्व कम्युनिस्ट आन्दोलन र यसका चुनौती, समकालीन पुुँजीवाद र यसविरुद्धको संघर्ष आदिका विषयमा गम्भीर बहस हुँदै छन् । यस्तो बहस नेपालमा पनि चल्दै छ । आज विश्व कम्युनिस्ट आन्दोलन प्रतिरक्षात्मक छ । पुँजीवाद भूमण्डलीकृत भएको छ । यस्तो स्थितिमा कम्युनिस्ट आन्दोलनसम्बन्धी विमर्शलाई गम्भीरतापूर्वक लिन र अर्थपूर्ण हुने गरी अघि बढाउन जरुरी छ ।

माक्र्सवाद र कम्युनिस्ट आन्दोलनसम्बन्धी विमर्शका विविध पक्ष छन् । संस्कृति तीमध्ये एक हो । संस्कृतिलाई विमर्शका महत्वपूर्ण विषयहरूको सूचीमै राखिन्छ । माक्र्सवादमा संस्कृतिलाई अधिरचनाका रूपमा लिइन्छ र आधारलाई प्रभावित गर्ने एक सक्रिय तत्वका रूपमा व्याख्या गरिन्छ । संस्कृतिले आधारलाई मात्र होइन, अधिरचनाका अन्य पक्षलाई पनि प्रभावित गर्छ । संस्कृतिको क्षेत्र विस्तृत भएकाले यसको प्रभाव बहुआयामिक र गहिरो हुन्छ । विश्व कम्युनिस्ट आन्दोलनमा संस्कृतिलाई हेर्ने विषयमा दुई गलत दृष्टिकोण छन् । एउटा दृष्टिकोण आर्थिक निर्धारणवादी छ । यसले संस्कृतिलाई कम महत्व दिन्छ । अर्को दृष्टिकोणले संस्कृतिलाई आवश्यकताभन्दा बढी महत्व प्रदान गर्छ । यी दुवै दृष्टिकोण आधार र अधिरचनासम्बन्धी माक्र्सवादी अवधारणाको गलत बुझाइसँग सम्बन्धित छन् । यसको प्रभाव क्रान्ति र क्रान्तिपछिको परिवर्तनको प्रक्रियामा गम्भीर रूपले परेको पाइन्छ । विश्व कम्युनिस्ट आन्दोलनको समग्र तस्बिरलाई नियाल्दा क्रान्तिको सफलता–असफलतामा मात्र होइन, क्रान्तिपछिको परिवर्तनको सफलता–असफलतामा समेत संस्कृतिसम्बन्धी सही वा गलत दृष्टिकोणको भूमिका रहेको देखिन्छ ।
माक्र्स आधार अधिरचनासम्बन्धी बुझाइमा ठीक ठाउँमा छन् । माक्र्स, एङ्गेल्सको यससम्बन्धी दृष्टिकोणलाई ‘आर्थिक निर्धारणवाद’का रूपमा अथ्र्याउन मिल्दैन । माक्र्सवादको व्याख्याका क्रममा यसको गलत व्याख्या गरियो र यो गल्ती आज पनि गरिँदै छ । उत्पादनको भौतिकवादी अवधारणाअनुसार इतिहासको निर्णायक तत्व अन्ततः वास्तविक जीवनको उत्पादन र पुनः उत्पादन हो भन्ने दृष्टिकोण माक्र्स, एङ्गेल्सको छ । आफूमाथि लगाइएको आरोपको आलोचना गर्दै एङ्गेल्सले हामीले एक मात्र निर्णायक तत्वका रूपमा आर्थिक तत्वलाई उल्लेख गरेका छैनौँ भन्दै यदि कसैले हामीमाथि यस्तो आरोप लगाउँछ भने त्यसले हाम्रो भनाइलाई अर्थहीन र अमूर्त बनायो भनेर बुझ्नुपर्छ भनेका छन् । माक्र्सवादको आधार र अधिरचनासम्बन्धी अवधारणाको ‘आर्थिक निर्धारणवाद’का रूपमा आलोचना गैरमाक्र्सवादीबाट अझ बढी भएको छ ।
संस्कृतिलाई मूलतः आत्मिक मूल्यहरूको योगका रूपमा लिइन्छ । संस्कृति भौतिक र अभौतिक हुन्छ । संस्कृतिको मुख्य पक्षको रूपमा अभौतिक संस्कृतिलाई लिइन्छ । समाजमा यसको नै मुख्य भूमिका रहन्छ । सामान्यतया संस्कृति आफ्नो समयको समाज व्यवस्थाद्वारा निर्मित, अनुकूलित र निर्देशित हुन्छ । यो प्रक्रिया सूक्ष्म र जटिल हुन्छ । संस्कृतिलाई सत्तारूढ वर्गले आफ्नो वर्चस्वको निर्माण, विस्तार र रक्षाका निम्ति मात्र प्रयोग गर्दैन, आफूअनुकूलको संस्कृतिको निर्माण पनि गर्छ । संस्कृतिका माध्यमबाट निर्माण गरिने ‘झुटो चेतना’ (फल्स कमनसेन्स)ले परिवर्तनका निम्ति चल्ने संघर्षमा ठूलो व्यवधान खडा गर्छ । संस्कृतिका माध्यमबाट सामान्य मानिसको ‘कमनसेन्स’लाई अनुकूलित गर्नु सत्तारूढ वर्गको उद्देश्य हुन्छ । ग्राम्सीले यसलाई ‘सांस्कृतिक प्रभुत्व’ (कल्चरल हेजेमोनी)का रूपमा व्याख्या गरेका छन् । क्रान्तिपूर्व कम्युनिस्ट पार्टीले तीनवटा मोर्चामा सांस्कृतिक संघर्ष गर्नुपर्छ । यसभित्र समाज, सत्तारूढ वर्ग र स्वयं कम्युनिस्ट पार्टी पर्छन् ।


समाजसँगको सांस्कृतिक संघर्ष समाजको सांस्कृतिक रूपान्तरण र परिवर्तनको संघर्षमा उसको भूमिकासँग सम्बन्धित रहन्छ । समाजसँग रहने ‘झुटो चेतना’को अन्त्य सांस्कृतिक संघर्ष र रूपान्तरणविना असम्भव हुन्छ । सत्तारुढ वर्गविरुद्धको सांस्कृतिक संघर्षको मुख्य उद्देश्य परिवर्तनविरुद्ध प्रयोग गरिने उसका सांस्कृतिक हतियारलाई कमजोर बनाउनु हुन्छ । कम्युनिस्ट पार्टीभित्र चलाइने सांस्कृतिक संघर्ष कम्युनिस्ट आदर्शअनुरूपको पार्टी निर्माणसँग जोडिन्छ । सांस्कृतिक संघर्ष विचारधारात्मक संघर्षकै एउटा रूप हो । सांस्कृतिक संघर्ष कमजोर हुनु भनेको परिवर्तनको प्रक्रिया नै कमजोर हुनु हो । सांस्कृतिक संघर्ष परिवर्तनका निम्ति गरिने समग्र संघर्षकै एक अंग हो र हुनुपर्छ । सामन्तवादी, पुँजीवादी संस्कृतिविरुद्ध संघर्ष नगरी र सांस्कृतिक दृष्टिले फेरिएको कम्युनिस्ट पार्टी नभई परिवर्तनलाई पूर्णता प्रदान गर्न गाह्रो हुन्छ । क्रान्ति भइहाले लामो समय त्यसलाई टिकाउन सकिन्न । सांस्कृतिक मोर्चामा सफलतापूर्वक संघर्ष गर्न नसक्दा पनि कम्युनिस्ट आन्दोलन असफल भएका छन् । सांस्कृतिक रूपमा फेरिन नसकेको कम्युनिस्ट नेतृत्व कम्युनिस्ट आन्दोलनको असफलताको एक महत्वपूर्ण कारक रूपमा रहेको छ ।
क्रान्ति सफल हुनका निम्ति धेरै कुरा ठीक हुनुपर्छ । सिद्धान्त, विचार, नीति, कर्यक्रम आदि यसभित्र पर्छन् । सैद्धान्तिक, वैचारिक एवं राजनीतिक विषयहरूको भूमिका यसमा प्रमुख रहन्छ, तर संस्कृति र सांस्कृतिक रूपान्तरणका सम्बन्धमा सही दृष्टिकोण नराख्ने, यसलाई कम महत्व दिने र सांस्कृतिक रूपमा नफेरिएको पार्टी सिद्धान्तका दृष्टिले सही भए पनि क्रान्ति र परिवर्तनको नेतृत्व गर्न अन्ततः असफल हुन्छ । सामन्तवादी, पुँजीवादी समाजभित्रैबाट कम्युनिस्ट पार्टीमा नेता कार्यकर्ता आउने भएकाले उनीहरूले निरन्तर आफ्नो सांस्कृतिक रूपान्तरणका निम्ति आत्मिक संघर्षलाई अघि बढाउनुपर्छ । कम्युनिस्ट पार्टीहरूले समाजवादी संस्कृतिको निर्माणका निम्ति योजनाबद्ध रूपले कार्य गर्नुपर्छ । ‘आर्थिक निर्धारणवादी’ दृष्टिकोणका कारण कैयौँ कम्युनिस्ट पार्टीहरूले संस्कृतिजस्तो महत्वपूर्ण अधिरचनात्मक तत्वलाई समुचित महत्व प्रदान गर्न सक्दैनन् । यसले सांस्कृतिक रूपान्तरणको मुद्दालाई त कमजोर बनाउँछ नै, क्रान्ति र क्रान्तिपछिको अवस्थामा संस्कृति र मिडियाको प्रयोगलाई पनि कमजोर बनाउँछ ।
क्रान्तिपछि संस्कृति र सांस्कृतिक रूपान्तरणको विषय अझ महत्वपूर्ण बन्छ । खासगरी कम्युनिस्ट पार्टीको सांस्कृतिक रूपान्तरणलाई गम्भीरतापूर्वक अघि बढाउनुपर्छ । कम्युनिस्ट पार्टी नेतृत्वदायी शक्ति भएकाले उसको सांस्कृतिक रूपान्तरणले बेसी महत्व राखेको हो । सांस्कृतिक रूपमा फेरिन नसकेको कम्युनिस्ट पार्टीले क्रान्तिपछिको परिवर्तनको अगुवाइ गर्न सक्दैन । समाज र कम्युनिस्ट पार्टीको सांस्कृतिक रूपान्तरण गर्दै अघि बढ्न सक्दा नै क्रान्तिपछिको स्थितिमा सार्थक भूमिका सम्पादन गर्न सकिन्छ । पश्चिममा भएको पुँजीवादी क्रान्तिले आर्थिक र राजनीतिक रूपमा मात्र समाजलाई फेरेन, सांस्कृतिक रूपमा पनि फेर्‍यो । रूढी, अन्धविश्वास, अतार्किकता आदिको ठाउँ तर्क, तथ्य, विज्ञान, आलोचनात्मक विवेक आदिले लिए । पुँजीवादको विकासका निम्ति पुँजीवादी संस्कृति आवश्यक थियो । समकालीन पुँजीवादले पनि आफूअनुकूलको संस्कृतिको निर्माणलाई महत्व दिएको छ । समाजवादले पनि आफूअनुकूलको संस्कृति खोज्छ । संस्कृतिले सम्बन्धित समाज व्यवस्थाका निम्ति सहयोगीको भूमिका निर्वाह गर्छ ।
सोभियत समाजवादको अन्त्य सांस्कृतिक दृष्टिकोण, संघर्ष र रूपान्तरणमा रहेका कमजोरीसँग सम्बन्धित छ । सोभियत संघमा यस्तो कमजोरी लगभग आरम्भदेखि नै रहेको पाइन्छ । बीसौँ पार्टी कांग्रेसपछि कमजोरीहरू अझ बढे । कैयौँ माक्र्सवादी चिन्तकले हतियारको होडबाजीको जति नराम्रो असर सोभियत समाजवादमा पर्‍यो, त्योभन्दा नराम्रो असर उपभोक्तावादी संस्कृतिको पर्‍यो भनेका छन् । सरलता, त्याग, सत्यप्रति निष्ठा, सामूहिक हितको सर्वोच्चता, चारित्रिक शुद्घता, व्यक्तिवाद र अवसरवादप्रति घृणा, प्रगाढ देशभक्ति, नैतिक मूल्यको सर्वोच्चताजस्ता समाजवादी आदर्शको निर्माणमा सोभियत संघमा गम्भीर त्रुटि रहे । पार्टीको सांगठनिक जीवनमा डरलाग्दो पदसोपानक्रमको विकास भयो । नयाँ अभिजातहरू जन्मिए । समाजवादी आदर्श हात्तीको देखाउने दाँतजस्तो हुन थाल्यो । समाजको सांस्कृतिक रूपान्तरण, पार्टीलाई सांस्कृतिक रूपमा बदल्ने कार्य र पुँजीवादसँगको सांस्कृतिक संघर्षको मोर्चामा सोभियत संघ असफल रह्यो । उपभोक्तावादको आँधीले बचेखुचेको समाजवादी संस्कृतिलाई पनि उडायो । भित्रैबाट फेरिँदै अघि बढ्न नसकेको सोभियत समाजवाद गोर्वाचोभका पालामा आएर गल्र्यामगुर्लुम ढल्यो । पतनको यो दृश्य स्वाभाविक थियो ।
सोभियत संघमा समाजवादी संस्कृतिको निर्माणमा रहेका त्रुटिप्रति चे ग्वेभाराको टिप्पणी अत्यन्त मार्मिक छ । चे भन्छन्, ‘समाजवाद युवा छ, बाटो लामो छ र अपरिचित पनि । कम्युनिज्मको निर्माणका निम्ति आर्थिक आधारका साथसाथै नयाँ मनुष्यको जन्म पनि आवश्यक छ । हामीले रुसमा एक नयाँ मनुष्य जन्मँदै छ भन्ने ठानेका थियौँ, होइन रहेछ ।’
सोभियत समाजवादको अन्त्यपछि क्युवाली क्रान्तिको पनि अन्त्य हुन्छ भन्ने धेरैलाई लागेको थियो तर त्यसो भएन । क्युवाली क्रान्ति जीवित रह्यो । अमेरिकाको निरन्तरको प्रहारका अतिरिक्त यसरी जीवित रहनुको एक महत्वपूर्ण कारण सांस्कृतिक रूपमा फेरिएको क्युवाली नेतृत्व र समाज थियो । क्यास्ट्रो स्वयंले यस यथार्थलाई सुन्दर ढंगले उल्लेख गरेका छन् । क्यास्ट्रो भन्छन्, ‘गम्भीर क्रान्तिको अर्थ समाजको पूर्ण रूपान्तरण हो । यो पूर्ण रूपान्तरण आर्थिक, भौतिक परिवर्तन र समृद्घिसँग भन्दा बढी आत्मिक रूपान्तरणसँग जोडिएको छ ।’ आत्मिक रूपान्तरण सांस्कृतिक रूपान्तरणको सबैभन्दा महत्वपूर्ण पक्ष हो । शिक्षालाई ‘मुक्तिको द्वार’का रूपमा लिने क्यास्ट्रोले शिक्षामा अत्यधिक जोड दिए र त्यसको केन्द्रीय उद्देश्य नयाँ मनुष्य समाजको निर्माणलाई बनाए ।
माओले चीनमा कम्युनिस्ट पार्टीको स्थापनासँगै सांस्कृतिक मोर्चाको संघर्षलाई महत्व दिएका थिए । क्रान्तिपछि सन् १९६६ मा सुरु गरिएको सर्वहारा सांस्कृतिक क्रान्ति चिनियाँ समाज र चिनियाँ कम्युनिस्ट पार्टीको सांस्कृतिक रूपान्तरणसँग गाँसिएको थियो । दश वर्षसम्म चलेको यस क्रान्तिका अँध्यारा पक्ष पनि छन् । तर, यसको आरम्भ क्रान्तिको उपलब्धिको रक्षा, नयाँ समाजको निर्माण र कम्युनिस्ट पार्टीको कम्युनिस्ट आदर्शअनुरूप रूपान्तरण गर्ने उद्देश्यसहित भएको थियो । चिनियाँ मोडेलको समाजवादको निर्माणमा लागिपरेको आजको चीनले पनि संस्कृति र सांस्कृतिक रूपान्तरणलाई महत्व दिएको छ । खासगरी कम्युनिस्ट पार्टीको सांस्कृतिक रूपान्तरणमा ऊ बढी गम्भीर देखिन्छ । सी जिनपिङको भ्रष्टाचारविरोधी अभियान यसको एउटा दृष्टान्त हो । भ्रष्टाचार नैतिक मूल्यमा आउने ह्राससँग जोडिएको विषय हो । चीनमा चलाइएको भ्रष्टाचारविरोधी संघर्षको निशानामा चिनियाँ कम्युनिस्ट पार्टीका उपल्लो तहका नेता पनि परेका छन् । भ्रष्टाचार मात्र होइन, सांस्कृतिक मूल्यसँग जोडिएका अन्य विषयमा पनि चिनियाँ कम्युनिस्ट पार्टी गम्भीर पाइन्छ । समाजवादी बजार अर्थतन्त्रको विकासमा जुटेको चीन पुँजीवादी संस्कृतिविरुद्धको संघर्षमा पनि सचेत रहेको छ । यो संघर्षलाई उसले चिनियाँ संस्कृतिको उज्याला र उदात्त पक्षसँग जोड्दै अघि बढाएको छ । चिनियाँ मौलिकता, स्वाभिमान, कम्युनिस्ट आदर्श र चरित्रको निर्माण पुँजीवादी संस्कृतिविरुद्धको संघर्षको प्रमुख आधार बनेका छन् ।
नेपालको यथार्थ भने अलि फरक छ । दुनियाँका कैयौँ कम्युनिस्ट आन्दोलनले झैँ नेपालको कम्युनिस्ट आन्दोलनले पनि सांस्कृतिक मोर्चाको संघर्षलाई समुचित महत्व प्रदान गर्न सकेको छैन । ६० वर्षभन्दा लामो इतिहास भएको यसले न आफूलाई सांस्कृतिक रूपले फेर्न सकेको छ, न त सामन्तवादी एवं पुँजीवादी संस्कृतिविरुद्ध प्रभावकारी रूपले संघर्ष नै चलाउन सकेको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा सामन्तवादी एवं पुँजीवादी संस्कृतिको गहिरो प्रभाव पाइन्छ । व्यक्तिगत एवं पार्टी जीवनमा देखिएका विसङ्गति र विकृति यसका दृष्टान्त हुन । कम्युनिस्ट आदर्श र चरित्रमा ह्रास नेपालको कम्युनिस्ट आन्दोलनको एक कटु यथार्थ हो । ‘चप्पल र पजेरो ’को रूपकको निर्माण नेपालको कम्युनिस्ट आन्दोलनका सन्दर्भमा त्यसै भएको होइन । समाजको सांस्कृतिक रूपान्तरणका सन्दर्भमा यो समाजको अगुवा होइन, मूलतः अनुकर्ताका रूपमा रहेको छ । एमाले र माओवादी केन्द्रजस्ता दुई ठूला कम्युनिस्ट पार्टीहरू सांस्कृतिक मोर्चाको संघर्षमा सबैभन्दा कमजोर देखिन्छन् । सांस्कृतिक रूपमा फेरिन र कम्युनिस्ट आदर्शले डोरिन नसकेका पार्टीहरूले के परिवर्तनको अगुवाइ गर्न सक्छन्, के उनीहरूबाट समाजवादतर्फको यात्रा सम्भव छ भनेर प्रश्नहरू उठ्नु स्वाभाविक छ र उठेका छन् । यो स्थिति परिवर्तनको सङ्घर्षको प्रक्रियामा सांस्कृतिक अधिरचनालाई प्रदान गरिएको कम महत्वसँग गाँसिएको छ । नेपालको कम्युनिस्ट आन्दोलनले सांस्कृतिक मोर्चाको संघर्षलाई विचारधारात्मक संघर्षको रूपमा भनेजस्तो गरी अघि बढाउनै सकेको छैन । सांस्कृतिक संगठनहरू विचारधारात्मक संघर्षका अंगभन्दा बढी पार्टी प्रचार संयन्त्रका रूपमा क्रियाशील छन् ।
समकालीन विश्व कम्युनिस्ट आन्दोलनले आधार र अधिरचनासम्बन्धी गलत दृष्टिकोणविरुद्ध संघर्ष गर्दै सांस्कृतिक संघर्षलाई समुचित महत्व प्रदान गर्न जरुरी छ । समकालीन पुँजीवाद बलिया सांस्कृतिक हतियारसहित भूमण्डलीकृत भएको छ । यसका सांस्कृतिक हतियारले विश्वव्यापी रूपमै प्रभावकारी रूपमा काम गरिरहेका छन् । उपभोक्तावादी संस्कृतिको जादु सबैतिर देख्न सकिन्छ । संस्कृति अर्थ, राजनीति र सैन्य वर्चस्व विस्तारका रणनीतिहरूसँग गहिरो गरी जोडिएको छ । संस्कृतिको मुख्य उद्देश्य पुँजीवादअनुकूल मनुष्य समाजको निर्माण मात्र रहेको छैन, पुँजीवादविरोधी संघर्षलाई कमजोर बनाउनु पनि रहेको छ । सांस्कृतिक, धार्मिक र जातीय अतिवादको विकासमा समकालीन पुँजीवादको भूमिकालाई सुस्पष्ट रूपमा नियाल्न सकिन्छ । पुँजीवादका सांस्कृतिक अस्त्रहरू कम्युनिस्ट आन्दोलनविरुद्ध मात्र होइन, ‘रेडिकल’ आन्दोलनको विरोधमा समेत प्रयोग भएका छन् । समकालीन पुँजीवादले संस्कृतिका निम्ति अर्थ र बौद्धिक श्रमको प्रचुर लगानी गरेको छ । यसका निम्ति राज्यका उपकरणहरूको सचेतन प्रयोग गरिएको छ । प्रचारको मायावी दुनियाँ आजको यथार्थ हो । यसमा नियन्त्रण र वर्चस्व पुँजीवादकै छ । पुँजीवादको रक्षा, यसका हित र अभीष्टहरूको प्रप्तिका निम्ति प्रचार संयन्त्रको व्यापक रूपमा प्रयोग गरिएको छ । वामपन्थी एवं देशभक्तिपूर्ण आन्दोलनविरुद्ध पुँजीवादी मिडियाको प्रयोगलाई सबैतिर देख्न सकिन्छ । पुँजीवादी प्रचारसंयन्त्र ‘सामाजिक डार्विनवाद’लाई वैधता प्रदान गर्ने सशक्त माध्यमका रूपमा रहेका छन् ।
विश्व कम्युनिस्ट आन्दोलनले यसविरुद्ध धारिलो संघर्ष त चलाउनैपर्छ, आफ्नो र समाजको सांस्कृतिक रूपान्तरणका निम्ति प्रभावकारी भूमिका सम्पादन पनि गर्नुपर्छ । सांस्कृतिक संघर्षका आन्तरिक र बाह्य दुवै मोर्चा महत्वपूर्ण छन् । नेपालको कम्युनिस्ट आन्दोलनले सांस्कृतिक संघर्षको मोर्चामा रहेका कमजोरीको गम्भीर समीक्षा गर्दै यसलाई समुचित महत्व प्रदान गर्नुपर्छ । खासगरी नेपालका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले सांस्कृतिक मोर्चाको विचारधारात्मक संघर्ष र आफ्नो तथा समाजको सांस्कृतिक रूपान्तरणको प्रक्रियालाई अघि बढाउन सकेनन् भने परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै समाजवादी क्रान्तिको दिशातर्फ अघि बढ्ने कुरा सोम शर्माको सातुझैँ हुनेछ । बलियो पार्टी अनुशासन, उच्च नैतिक मूल्यको आत्मसात्, सामूहिक हितप्रति गहिरो प्रतिबद्धता, प्रगाढ देशभक्ति आदिसहित अघि बढ्न सक्दा नै अघिल्तिरको यात्रा सम्भव हुनेछ । माक्र्सको द्विशतवार्षिक र अक्टोबर क्रान्तिको शतवार्षिकी मनाइ“दै गरेको यस विशेष समयमा यस यथार्थलाई हेक्का राख्न आवश्यक छ ।
http://www.enayapatrika.com बाट साभार 

Friday, October 13, 2017

देउसीमा भनिने बलिराजा पौराणिक होइनन्, लिच्छवीकाल पछिका हुन् - जगमान गुरुङ


वरिष्ठ संस्कृतिविद् तथा इतिहासकार डा जगमान गुरुङ संस्कृत भाषामा गहिरो दख्खल राख्ने ब्यक्तित्व हुनुहुन्छ । नेपाली समाजका चालचलनवारे गहिरो अध्ययन गर्नुभएका गुरुङसँग तिहार संस्कृतिका बारेमा चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीः 
हाम्रा संस्कृतिहरु मध्ये तिहारको के महत्व छ ? यो कसरी सुरु भएको थियो ?
तिहार हाम्रो एउटा चाड हो । हिन्दीमा तेउहार भनिन्छ । तेउहारले तिहार होइन सिंगै चाडपर्ब भन्ने जनाउँछ उनीहरुकोमा । उनीहरु तिहारमा दीपावलीसम्म मनाउँछन् । त्यसैले उनीहरुको र हाम्रो तिहार मिल्दैन । 
हामी यमपञ्चकको पाँच दिनलाई तिहार भन्छौं । अब बुझ्नु पर्ने कुरा छ, यमपञ्चक केलाई भनिन्छ भनेर । यम भनेको धर्म । धर्म भनेको नीति नियम हो । पञ्चक भनेको पाँच दिन । पाँच दिन मनाइने पाँच तिहारमा काग, कुकुर, गोरु, गाई र मान्छे छुट्टा छुट्टै पुजिन्छ । यसले त्यो बेला देखिको समाज र संस्कृतिलाई जनाउँछ । त्यसबेला के कुरा केन्द्रमा थियो समाजले त्यहि चिजलाई पूजा गर्दै आएको छ । पहिलेको घुमन्ते, शिकारी, पशुपालन, कृषि, हुँदै अहिले मान्छे आधुनिक युगमा आइपुग्यो । घुमन्ते युगमा सूचनाका केही साधन थिएनन् । त्यसबेला सूचनाको मुख्य सहयोगी कागलाई बनाइथ्यो । काग बोटमा बसेर करायो भने समाचार ल्याएको भन्ने मानिन्थ्यो । काग काराएपछि मान्छेहरु ‘सुवोल सुवोल, ठाँउ सरी बस, शुभ समाचार ले’ भन्थे । आफ्नो जीवनमा सूचना ल्याउने सहयोगी भनेर कागलाई पूजा गर्न थालियो । त्यसपछि मान्छे शिकारी युगमा आयो । त्यो बेला शिकार खेल्नका लागि कुकुरको प्रयोग गरिन्थ्यो । कुकुरको सुंघ्ने शक्ति तेज हुन्छ । उसले के हँुदैछ भनि अगाडि नै जानकारी दिने र अन्य जनावारको आक्रमणबाट बचाउने गथ्र्याे । कुकुरलाई आज्ञाकारीजनावारको रुपमा  मानिन्छ । त्यसैले कुकुर मानिसको शिकारी जीवनको सहयोगी हो । 
शिकार खेलेर मासुले पालिदै गरेका मान्छेहरु पशुपालन गरेर बस्नथाले । दूध, दहि, घिउ, उत्पादन गर्ने र अन्य ठाँउका मान्छेसँग तिनै सामान साटेर खानथाले । वस्तु विनिमयको युग त्यसरी सुरु भयो । खाद्य वस्तु र अन्य साधनलाई सम्पत्ती मान्ने बेला थियो त्यो । त्यसबेला गाईंलाई पुज्न थालियो । पछि मुद्राको अविष्कार भएपछि बेचबिखन हुन थाल्यो । भविश्यका लागि वस्तु भन्दा पनि मान्छे पैसा कमाउन थाले । त्यसैले उनीहरुले गाईलाई लक्ष्मीको रुपमा पुज्नथाले भने मुद्रा र रुपैयाँ पैसाको पूजा गर्ने चलन पनि त्यसै बेलादेखि भयो । 
पशुपालन युगसँगै खेतीको युग सुरु भएको पाइन्छ । त्यसपछि माछेहरु कर्सन कर्ममा लागे । कर्सन भन्या कृषिकर्म । कृषिको लागि गोरु प्रयोग हुन्थ्यो । कृषिको मुख्य सहयोगी गोरुलाई उनीहरु देवतासरी मानेर पूजा गर्नथाले । गोरु मान्छेको कृषि जीवनको द्योतक हो । 
त्यसपछि आयो भाइटीका । तिहार भनेको चाहिँ सु–सभ्य, सु–संस्कृत मानव जीवनको द्योतक हो । त्यसबेला आफ्नै परिवारका सदस्यबीच यौन सम्बन्धको चलन थियो । त्यस्तो चलन रोक्दै दाजुभाई र दिदीबहिनीबीच यौन सम्बन्ध हुनुहुँदैन भन्ने चलन आयो । एकले अर्कोलाई पूजा गर्ने सम्बन्धको रुपमा या भनौं सुसंस्कृत र सभ्य समाज निर्माण गर्न यसको विकास भएको देखिन्छ । 
कार्तिक शुक्ल द्वितीयाको दिन यमराज आफ्नो बहिनी  यमुनाको घरमा गएर टीका लागाएको पौराणिक कथा छ । तर यसको वैदिक कथा अर्कै छ । ऋग्वेदको ‘यमयमी शुद्ध’ भन्ने कथामा छ यो कुरा । यम र यमी भन्ने जुम्ल्याहा दाजुबहिनी थिए । एक दिन बहिनी यमीले दाइ यमसँग बैवाहिक जीवनमा बाधिन प्रस्ताव गर्छिन् । यौनसम्बन्धमा जाने प्रस्तावले उ विचलित हुन्छ । यमले बहिनीलाई एउटै आमाबाट एकै समयमा जन्मेकाले हामीबीच त्यस्तो सम्बन्ध हुँदैन भनेर सम्झाउँछ । मान्छेको धर्म भनेकै नैतिकतामा छ  । पछि यहि कुरा ऋग्वेदले यमुना र यमराजको कथामा परिणत गर्यो । बेद भनेको समाजका चालचलनलाई लिपिवद्ध गरेको कुरा हो । त्यसबेला समाजमा हुने यौन जीवनलाई सु–ब्यवस्थित गर्दै आजको यो सभ्य समाज निर्माण भएको छ । यस्तो चाड अन्य कुनै मुलुकमा छैन । 
नेपालकै उत्तरी भेगमा पाँच पत्नी बिवाह गर्ने चलन अझै यदाकदा छ । त्यस्तै गुरुङ र तामाङमा पनि कुटुम्बेली चल्छ । मगरमा पनि यो चलन थियो । तर अहिले पाल्पा, स्याङजा, तनहुँका मगरहरुले मामाकी छोरी विवाह गर्ने फुपूकी छोरी नगर्ने भन्ने चलन ल्याएका छन् । ठकुरीमा पनि यस्तै चलन छ । बिस १९९४-१९९५ सालमा रंगनाथ पौडेल प्रधानमन्त्री हुँदा पश्चिम सतथौलाका जैसी बाहुनहरुलाई एउटा रुक्का पठाएर तिमीहरुले भाञ्जी बिवाह नगर्नु भनेका छन् । रुक्का भनेको अर्डर पेपर हो । मनुस्मृतिमा लेखिएको छ– ‘दक्षिणे मातुली कम्पा, उत्तरे माषेमक्षण ।’ यो भनेको भारत तिरका बाहुनले मामाका छोरी बिहे गर्छन् र उत्तरकाले मासु खान्छन् । मतलव ती दुबै नराम्रा हुन् भनिएको छ । मुसलमानले आफ्नै दाइभाईका छोरी विवाह गर्छन् । कोख र योनी मात्र बार्ने चलन तिनीहरुको छ । यम र यमीको कथाबाट चाहिँ आर्यहरु परिष्कृत हुँदै भाइ तिहारका रुपमा सभ्य संस्कृति अघि बढाएको देखिन्छ । त्यसैले तिहार नैतिकताको धरोहर हो । यसले नीति नियम कायम गरायो । समाजलाई सभ्य र सुसंस्कृत बनायो । त्यसैले सभ्य जीवन, सुसंस्कृत र आर्दश जीवन जीउने शन्देश यम द्वितीयाले दिएको छ  । 
अहिलेत तिहार नभनी दीपावली भन्ने गरिन्छ नि, यो ठीक होइन ? 
त्यो हुँदै होइन । त्यो त भारतबाट आएको शब्द हो, हामीसँग मिल्दैन  । त्यो शब्द त हामीले उच्चारण नगर्दा राम्रो । हाम्रो तिहार हो । यम पञ्चकको पाँच दिनको तिहार । त्यसको पनि भाइटीका । लक्ष्मी पूजाको रात सबैभन्दा अंध्यारो रात हुथ्यो । मानिसहरु राँको बालेरै एक अर्को घरमा आउजाउ गर्थे । घरघरमा लक्ष्मी पुजेर राखेको दियो, रातभर नै बालेर छोडिदिने गरिन्थ्यो ।  त्यसरी वत्ती बाल्ने चलनलाई दीपावली गर्ने चलनका रुपमा पछि आयो । 
दुवै हिन्दु संस्कारबाट निर्देशित भए पनि नेपाल र  भारतमा केहि मिल्ने र केहि फरक हुनुको कारण के होला ? 
भारत पनि हिन्दु सभ्यताबाट प्रभावित र नेपाल पनि त्यहि सभ्यताले सुसज्जित देश हो । तर हाम्रै देशमा पनि एउटै दशैं कसैले तिहारसम्म मनाउने कसैले एक दिन मात्र मनाउने चलन छ । हाम्रा राम्रा संस्कृति त्यता पनि गएका छन् तर हुबहु त्यहाँ पनि लागू हुन्छन् भन्ने हुँदैन । कुनै हुबहु लागू छन् पनि । कुनै आंशिक रुपमा लागू भएका छन् । ठाँउ अनुसार फरक हुनु स्वाभाविक हो । नेपालमा आफ्नै स्वदेशीय रैथाने परम्परा छ । यहाँका भूमी पुत्र आदिवासी जनजातिहरुको संस्कृति र हिन्दु संस्कृतिको बीचमा समन्वय छ । त्यसकारण नेपाल र भारतको हिन्दु संस्कृतिमा पृथकता छ । 
देउसी भैलो खेल्ने चलन चाहिँ कसरी सुरु भयो ? 
भैलीमा भनिने एउटा लाइन छ– हामी त्यसै आएनौं वली राजाले पठाए । यो यम पञ्चकको पाँच दिनसम्म पौराणिक वली राजाको पनि कथा जोडिएको छ । तर ती बली राजा पौराणिक नभएर नेपालका राजा नै हुन् । एक हजार बर्षअघि, पूर्व मध्यकालमा यो चलन आएको हो । लिच्छवीकाल सकिएपछि पश्चिम नेपालमा बली राजा आए । त्यसबेला ‘सहपाद्य लक्ष स्वदेश’ भनिन्थ्यो । यो भनेको सवा लाख मान्छे भएको देश । त्यो खस राज्य अवसान भएपछि जुम्लामा वली राजा आए ।   
त्यसबेला देवदास र देवदासीहरुको प्रचलन थियो । देउकीको रुपमा अहिले कानुनले मान्यता नदिए पनि यो प्रचलन नेपालको पश्चिम भागतिर पाइन्छ । तिनै दासीहरुलाई यहि यम पञ्चकको समयमा, बलिराजाले ‘जाउ तिमीहरु मागेर खाउ’ भनेर आज्ञा दिए । उनीहरु देउसी भैलो खेलेर अन्न बटुल्न थाले ।
देवदासीहरुले भैलेनी खेले र देवदासहरुले देउसुरे खेले । हामी त्यसै आएनांै बली राजाले पठाए भनेपछि सबैले धान, चामल, रोटी, रक्सी पैसा जसले जे सक्यो त्यहि दिने गरे । पछिपछि हुँदै गएपछि अन्यलाई पनि राम्रो लागेर त्यो बेला पैसा चामल उठाउन पाइने भएर अरुले पनि खेल्न थाले । पश्चिमतिरबाट पूर्व र पूर्वतिर हँुदै सबैतिर फैलियो । अहिले त राजनीतिक दलले पनि धेरै पैसा उठाउन देउसी भैलो खेल्ने गरेका छन् ।  
तर, त्यसबेला देउसी भैलो खेल्दा दिएको रोटी र रक्सी त्यसैबेला चलन थियो । जम्मा भएको अन्न र पैसा बटुलेर राख्ने र पछि पुस १५ गतेको दिन खुवा खाने चलन थियो । बूढाबूढी हैन युवतीहरुले खेल्छन् यस्तो देउसी । गण्डकी प्रदेशका मगर समुदायका युवायुवतीहरुमा पुस १५ को दिन खुवा खाएर आफ्नो जीवनसाथी रोज्ने चलन छ । तर, अहिले भ्यालेन्टाइन डे भन्ने बिदेशी चलन हावी भो । 
पुस १५ लाई गुरुङहरुले ल्होछारको रुपमा मनाउँछन् । नयाँ बर्ष मनाउने आयश्रोत पनि त्यहि देउसी भैलो हो । राई लिम्बुमा कतिपयको तिहारसम्म पनि दशैंको टीका लगाउने चलन छ । यसरी बिभिन्न जात र ठाउँमा चलन फरक भए जस्तै तिहारको पनि कहिँ कतै चलन फरक हुन सक्छ । तर यसको मुल मुल्य एउटै हो । 
तपाईंले बाहुनले देउसी भैलो कम खेल्ने भन्नु भो, त्यो चाहिँ किन रहेछ ? 
बाहुन त पहिलेकै वेद पढ्ने मान्छे हो नि । हासी मजाक गर्ने, जुवा तास खेल्ने काम जनजातिले मात्र गर्थे । ती जनजातिहरुको देवदासीहरुसँग सिको गरे र उनीहरु पनि खेल्न थाले । अहिले त  सबैले खेल्छन् । 
सप्तरंगी टीकाको चाहिँ अर्थ के छ ? 
सप्तरंग सूर्यको सात रगंको प्रतीक हो, जो इन्द्रेणीमा पनि देखिन्छ । सूर्य भन्या सौर्य मण्डलको अधिपति हो । अनि सौर्य शक्तिको आराधनाद्वारा शरीर र मनलाई पुनर्ताजगीको लागि सप्तरंगी टीका लगाइएको हो  । सबै शक्ति तिमीमै केन्द्रित होस् भन्ने अर्थमा यस्तो गरिएको हो । 
पहिले दखि नै थियो यो सप्तरंगी टीका लगाउने चलन ? 
थियो नि, किन नहुनु । तर, अहिले प्रयोग भएका रंग भने पछि आएका हुन् । त्यसबेला पहेंलो रंगको लागि बेसारको प्रयोग गरिन्थ्यो । हरियो रंगका लागि दुवोबाट लेप बनाइन्थ्यो । त्यस्तै अन्य रंगको लागि काफल, र अन्य फूलहरु प्रयोग गरिन्थ्यो । यसरी आफ्नै गाउँघरका कुरा प्रयोग गरेर सप्तरंगी टीका लगाइन्थ्यो । 
http://www.chakrapath.com बाट साभार