Monday, January 26, 2015

सामनाले माओवादीलाई दिएको संकेत- सुदर्शन मंगोल

सामनाले माओवादीलाई दिएको संकेत
-सुदर्शन मंगोल
 
'निरन्तर क्रान्तिका लागि सामना जनसंगीत अभियान' भन्ने नाराका साथ अखिल नेपाल जनसांस्कृतिक महासंघअन्तर्गत केन्द्रीय सामना टोलीले २५ साउनदेखि काठमाडांैको जमल नाचघरबाट आरम्भ गरेको अभियान यतिवेला देशव्यापी सानदार रूपमा सम्पन्न भइरहेको छ । पार्टीभित्र देखा परेको विकृति/विसंगतिविरुद्ध चीनमा माओको नेतृत्वमा सञ्चालित 'सांस्कृतिक क्रान्ति' को झल्को दिने यस अभियानले पार्टीभित्र र बाहिरका सबैखाले प्रतिक्रियावादी/अवसरवादीको स्वर्गमा ठूलो भूकम्प पैदा गरिदिएको छ । उदेकलाग्दो स्थिति के देखा पर्‍यो भने सामनाद्वारा प्रस्तुत जनसंगीत अभियान पार्टीभित्रका चरम अवसरवादीलाई ठूलो टाउको दुखाइ भएको छ । उनीहरूले यस अभियानलाई असफल पार्न सबै शक्ति खर्चेका छन्, तर सफल हुन सकेनन् । अहिले सामनाको टोली काठमाडांैबाट पूर्व पुगेर पश्चिमतिर लाग्दै छ । अहिलेसम्म उसले सञ्चालन गरेको अभियानबाट जनता असाध्यै आशावादी देखिएका छन्, माओवादीप्रति । विडम्बना ! पार्टीभित्र हेडक्वार्टरको पक्षपोषण गर्ने नेताहरूले यस अभियानलाई असफल पार्न पूर्वमा निकै प्रयास गरे, तर जनताको समर्थन र सहयोगले अभियान सानदार ढंगले सम्पन्न भयो । पार्टीभित्र मौलाउँदै गइरहेको व्यक्तिवाद, नातावाद, कृपावाद र परिवारवाद मात्र होइन खुलेआम पार्टीका अधिकांश नेता-कार्यकर्ता भ्रष्टाचार, कमिसनतन्त्र, बैंक-ब्यालेन्स, टेन्डर, प्लटिङलगायत थुप्रै क्षेत्रमा जसरी प्रत्यक्ष/अप्रत्यक्ष रूपले सहभागी भएर सर्वहारा सिद्धान्त र अनुशासनलाई लत्याउँदै अघि बढिरहेका छन्, त्यसको भण्डाफोर गर्ने अभियानका साथ सामनाले यस 'जनसंगीत अभियान' मा त्यही सर्वहारा सांस्कृतिक क्रान्तिको राँको सल्काउने उद्घोष गरेको छ । यस अभियानमा सामनाद्वारा प्रस्तुत नाटक 'सपना र उनीहरू' मा वर्तमान माओवादी अवस्था, दशवर्षे जनयुद्धमा प्राप्त उपलब्धिको मूल्यांकन, माओवादी क्रान्ति सम्पन्न नहुँदै सहर पसेपछि गाउँमा कार्यकर्ता र जनताको बिचल्ली, शान्ति-सम्झौतामार्फत आधारइलाका, जनसत्ता, जनअदालत, कम्युन विघटनपश्चात् लाभान्वित गाउँका थुप्रै जनता अहिले कसरी उपेक्षित र अपहेलित बन्नुपर्‍यो भन्ने यथार्थ सचित्र वर्णन गरिएको छ । जनवादी क्रान्तिपछि चीनमा प्रतिक्रान्ति भएको थियो, तर नेपालमा क्रान्ति नहुँदै प्रतिक्रान्ति देखा पर्‍यो । चीनमा कम्युनिस्टहरू क्रान्तिपछि सहर पसे, नेपालमा क्रान्ति नहँुदै पसे । चीनमा माओले पनि १९४५ मा चुङकिङ वार्ता/सम्झौता गरेका थिए । तर, सम्झौतावादमा फसेका थिएनन् । चीनमा वार्ता/सम्झौतामा माओले केही आधारइलाका र केही सेना मात्रै घटाएका थिए तर नेपालमा सम्झौताका नाममा आधारइलाका, स्थानीय सत्ता, जनअदालत विघटन गरेर मूल नेतृत्वले क्रान्तिका सबै आधार निस्तेज पार्ने काम गरेको छ । क्रान्ति नहुँदै सहर छिरेपछि गाउँ पूरै खाली छ, कार्यकर्ता, जनता निराश, पलायन र अलग-गलग बन्दै गइरहेको स्थिति छ । रुसी क्रान्तिमा लेनिनले बारम्बार भन्ने गर्नुहुन्थ्यो, 'साथी हो क्रान्तिको सपना देख्नुपर्छ ।' विडम्बना Û माओवादी सहर प्रवेशसँगै उनीहरूले क्रान्तिको सपना भुल्न थाले । खासगरी मूल नेतृत्व र यसका वरिपरि रहनेहरूले क्रान्तिको सपना देख्न छाडे । केही नेता प्रधानमन्त्री, मन्त्री, सरकारी नियुक्तितिरै मात्र ध्यान दिन थाले । तल स्थानीय नेता, कार्यकर्ता र जनताका सपना र आशा मर्न थाले, स्थानीय नेता-कार्यकर्तामाथिको अन्योलपूर्ण स्थिति देखेर निराश र पलायनको बाटो रोज्न थाले । यस्तो वेला सामनाले वास्तविक धरातललाई अध्ययन गरेर नाटक बनायो, 'सपना र उनीहरू ।' कुनै वेला भारतीय प्रगतिवादी कवि पासले भनेका थिए, 'जब सपनाको मृत्यु हुन्छ तब त्रासदीको दिन त्यहीँबाट सुरु हुन्छ ।' तीतोसत्य के भने, माओवादीमा क्रान्तिकारी सपनाको हत्या भएको स्थिति छ । सामनाद्वारा प्रस्तुत नाटक 'सपना र उनीहरू' मा माओवादी आन्दोलनका नकारात्मक पात्र धूर्तराज, मेघनाथजस्ता छन् भने शंकर, बुढा बा र छोरीजस्ता क्रान्तिकारी आन्दोलनका सकारात्मक पात्र पनि छन् । कथाको पहिलो शृंखलादेखि करिब छैटाँै शृंखलामा विभक्त गरेर पार्टीभित्रको यथार्थ चित्रलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ । कथामा कुनै गुटगत मानसिकता भेट्टाउन सकिन्न । पहिलो शृंखलामा माओवादीभित्र देखा परेको दुईलाइन संघर्ष र यस संघर्षलाई विभिन्न मिडियाले पार्टी फुटको स्थितिमा पुर्‍याएको विश्लेषण गरेको छ । त्यही शृंखलाबाटै धूर्तराज र उसको सारा विकृतिको नालीबेली आरम्भ हुन्छ । धूर्तराज जनयुद्ध लडेर आएको मध्यमस्तरको नेता हो । जब गाउँबाट ऊ सहर पस्छ, त्यसवेलादेखि उसको जीवनमा ठूलो परिवर्तन आउँछ र उसले गाउँ, कार्यकर्ता सबैलाई भुलेर सहरमा आलिसान महल जोड्ने सपना देख्छ । वास्तवमा यातिवेला माओवादीका धेरैजसो नेताको जीवनशैली र कार्यशैली कस्तो छ ? नेता-कार्यकर्ता कुन वर्गमा रूपान्तरण हुँदै छन् या हुन पुगेका छन् ? उनीहरूको सम्बन्ध, कहाँ, कता जोडिन पुगेको छ ? यी सबै कुरा नाटकमा प्रस्ट ढंगले चित्रण गरिएको छ । सहर छिरेको नेता धूर्तराजलाई भेट्न गाउँबाट स्थानीय कार्यकर्ता र उसको साथमा एकजना घाइते योद्धा पनि आउँछन् । भ्रष्टाचार, तस्करी, कमिसनतन्त्र, ठेक्कापट्टा सबै क्षेत्रमा चुर्लुम्म डुबेको नेता धूर्तराज गाउँबाट आएका कार्यकर्तालाई खासै गम्भीरतापूर्वक लिँदैन । उनीहरूको समस्याप्रति कुनै गम्भीरता देखाउँदैन । उसको ध्यान दलाल, भ्रष्टाचार, कमिसनतन्त्र र ठेक्कापट्टातिरै हुन्छ । पछिल्ला शृंखलामा गाउँका बुढा बा र नातिनी -छोरी)को प्रस्तुति निकै दमदार देखिन्छ । जनयुद्धमा जनसत्ता, आधारइलाका, जनअदालत र कम्युन थियो र नै त्यसले सबै जनताको भविष्य केही हदसम्म सुनिश्चित गरेको थियो । अब त्यो रहेन । बरु दुःखद् कुरा शान्ति-सम्झौताको नाममा ती सबै अवयवको विघटनसँगै ती बुढा बालगायत सबैको स्थिति दर्दनाक रहेको कथा अहिले माओवादी जीवनमा प्रस्ट रूपले देख्न सकिन्छ । जनयुद्धताका गाउँमा सेना/पुलिसले दिदी-बहिनीको गिरफ्तारीसँगै गरिएको निर्मम हत्याको कारुणिक तस्बिर देखाउँदा प्रत्येक दर्शकको आँखाबाट आँसु झर्छ । कैयाँै दर्शक त भक्कानो छाडेर रुनसमेत पुग्छन् । उत्तरार्द्धमा शंकरजस्ता थुप्रै क्रान्तिकारी इमानदार कार्यकर्ता पनि पार्टीमा छन् भन्ने कुरा देखाइएको छ । सहर पसेपछि सबै नेता-कार्यकर्ता बिगि्रएको भन्ने होइन, तर मुख्य- मुख्य नेता-कार्यकर्ता वैचारिक स्खलनतिर गएको कुरा सत्य हो । त्यही कुरा नाटकमा चित्रित छ । चीनमा सन् १९६२ तिर संशोधनवादीले क्रान्तिकारीलाई प्रहार गर्न 'हाई जुइ पदबाट बर्खास्त गरियो' भन्ने नाटकबाट उल्टो क्रान्तिकारीको बद्नाम गर्ने प्रयत्न गरेका थिए । यस्तो वेला माओको निर्देशनमा माओ वेन युआनले १९६५ मा संशोधनवादीहरूको सो नाटकको भण्डाफोर गर्दै एउटा लेख लेखे । पेकिङमा संशोधनवादीहरूको प्रभुत्व भएकाले त्यो लेख अत्यन्तै गोप्यताका साथ सांघाईबाट प्रकाशित गरियो । माओलेे यो लेख सांस्कृतिक क्रान्तिको पूर्व संकेत हो भन्नुभएको थियो । यसरी हेर्दा सामनाद्वारा चलाइएको अभियान पनि माओले भनेजस्तै नेपालको सन्दर्भमा महान् सांस्कृतिक क्रान्तिको कास्टिङ मात्रै हो, पूरा फिल्म -ठूलो अभियान) त आउन बाँकी नै छ ।

No comments:

Post a Comment