अचेल सबैतिर परमाणु हतियारबाट संसारलाई खतरा भएको सुनिन्छ। यद्यपि, यसको प्रयोग दोस्रो विश्व युद्धपछि भएको छैन। तर यसभन्दा पनि शक्तिशाली हतियार 'सांस्कृतिक बम' प्रत्येक दिन प्रयोग भइरहेको छ। शक्तिशाली राष्ट्रहरूले यसका माध्यम कमजोर मसमाजको सांस्कृतिक मूल्य समाप्त गरी समाजको जरा नै खोक्रो बनाइरहेका छन्। अफ्रिकाका प्रसिद्ध लेखक 'नगुगी वा थियोंग' को भनाइ छ - साम्राज्यवाद त्यतिखेर पूर्ण हुन्छ जतिखेर त्यसको असर आर्थिक, राजनीतिक, सामरिक, सांस्कृतिक र मानसिक रूपले समाजमा पर्छ। एकदिन यो भयंकर बमवारीको कारण बन्न पुगेमा कुनै अचम्म मान्नु पर्दैन।
साम्राज्यवादको ठाउँ नवसाम्राज्यवादले लिएको छ। फरक यति मात्र हो नवसामाज्यवादमा कुनै राजा हुँदैन, कुनै श्रीपेच हुँदैन। काम गर्ने तरिका बेग्लै हुनसक्छ तर नियत एउटै हो, उद्देश्य त्यही नै हो। उनीहरूले आफ्नो चाहना कार्य योजनामार्फत् पूरा गर्छन्। तिनले मन, मस्तिष्कमा प्रभाव पारी त्यसलाई दूषित, भ्रमित गर्छन्। त्यसपछि मानिसको जीवन शैली बदल्न सफल हुन्छन्। अतिक्रमणमा परेको समाजले आफ्नो मातृ भाषालाई घृणा गर्न थाल्ने प्रकारले आफ्नो भाषा उनीहरूमाथि थोपर्छन्। त्यसपछि स्थानीय सांस्कृतिक सम्पदामा आक्रमण गर्छन्। रैथाने समाजमा धार्मिक, आर्थिक, मतभेद उत्पन्न गर्छन् र बिस्तारै राष्ट्रमाथि नै पकड कायम गर्छन्।
नवसाम्राज्यवादले साम्राज्यवादले झैँ सोझै हुकुम चलाउँदैन तर ऊसँग भएको सम्पति शक्तिले प्रत्येक वस्तुमाथि पकड कायम राख्न सक्छ। यसको हातमा रहेको सबैभन्दा बढी शक्ति 'मास मिडिया' (जनसञ्चार) हो। यसबाट उसले अरू मुलुकको गलत तस्बिर पेस गर्छ। अर्को मुलुकको सांस्कृतिक मामलामा हस्तक्षेप गर्छ र आफ्नो संस्कृति, जीवनशैली थोपर्दै जान्छ। टेलिभिजनमार्फत् संसारका सबै देशमा आफ्नो प्रभाव पार्छ। त्यसैले नेपाली सिनेमाको पटकथा भारतीय सिनेमाको जस्तो हुन थालेको छ। यस किसिमको चोरी हुनु हुँदैन भन्ने निर्माता निर्देशकले नै यसमा ध्यान दिँदैनन्। यस प्रकारको चोरीले उनीहरूलाई लाभ भएकाले ख्याल नगरेका हुनुपर्छ।
पर्यटन व्यवसायमा बहुराष्ट्रिय कम्पनीमार्फत् नवसाम्राज्यवादले आफ्नो स्वार्थ परुा गरिरहेको छ। जतिसुकै संास्कृतिक प्रदूषण भए पनि आफ्नो सामान बेच्न पाए उनीहरू आफूलाई सफल ठान्छन्। जनसंचार र पर्यटन उद्योगले नेपालको गलत तस्बिर प्रस्तुत गरिरहेका छन्। यसमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरू तिनका सहयोगी रहेका छन्।
यिनीहरूमार्फत् नेपाल गरिबको देश हो भनेर संसार भर प्रचार भइरहेको छ। डलरको लोभमा केहीले देशको गलत छवि प्रस्तुत गरिरहेका छन्। केहीले आफ्ना योजना वा व्यापारका लागि देशको गरिबीलाई बढाइचढाई प्रस्तुत गर्छन्। पैसा दिनेलाई नेपालको गरिबीसँग केही लिनुदिनु छैन भन्ने बुझेर वा नबुझी उनीहरूले त्यसो गर्ने गरेका छन्। पैसा दिनेहरूलाई यहाँका मानिसको जीवन वा शिक्षामा कुनै चासो हुँदैन। त्यस्तो स्वाँग त यहाँ घुसपैठ गर्ने मौका हात पार्न गरिरहेका हुन्।
वर्तमान नेपाली संस्कृति पुरानो र नयाँको मिलन हो। हामीसँग लोक नृत्य छन् भने आधुनिक नाच पनि छन्। पुराना चित्र छन् त आधुनिक पेन्टिङ्ग पनि छन्। यहाँ आदिवासीको लोक नृत्य र संगीत छ। आधुनिक रंगमंच पनि छ। हाम्रो समृद्ध संस्कृतिको यो झलक पर्यटकलाई भने देखाइँदैन। पर्यटन व्यवसायमा साझा संस्कृतिको कुनै कुरा हुँदैन जुन यथार्थमा हाम्रो समाजको सबैभन्दा ठूलो शक्ति हो। उल्टै उनीहरू नै नेपालीहरू गरिबीका कारण रोजीरोटीमा नै अलमिलएका होलान् भनेको सुन्नु पर्दा पीडा र ग्लानि हुन्छ। यहाँका गैरसरकारी संस्थाहरू, जनसंचार माध्यम र पर्यटन व्यवसायीले यस्तै छवि प्रचार गरेकाले तिनले यस्तो धारणा बनाएका होलान्।
के लन्डनको रिजेन्ट स्ट्रिटको पेटीमा रुमाल भिखारी भेटिँदैनन्? के लन्डनको चिसोमा कुनै घरको ढोकाको खुड्किलामा अखबार ओढेर सुतिरहेका गरिब हुँदैनन्? ठूलाठूला कुरा गर्नेले अमेरिकामा सेटी (गाउँ) मा काला मानिसरू कुन हालतमा रहेका छन्? भन्ने कहिल्यै ख्याल गर्दैनन्। किन तिनले नेपालमा मात्र गरिबी देखिरहेका छन्?
व्यापारका आडमा साम्राज्य खडा गरिएजस्तै नवसाम्राज्यवादले जनसंचारमार्फत् आर्थिक साम्राज्य बनाएको छ। संचारमा रहेको प्रभावबाट मानिसहरूको सोचमा कब्जा जमाएर आफूलेजस्तै सोच्न र जीवन शैली अपनाउन विवश बनाएका छन्। आधुनिकताको नाममा तिनले आफ्ना सामान बेचिरहेका छन्। आवश्यक नभए पनि देखाउनैका मानिसहरू त्यस्ता वस्तु र सामान किन्ने गर्छन्। साथमा पैसा नभए 'क्रेडिट कार्ड' प्रयोग गर्न उक्साइएको हुन्छ। सामानहरू किस्ताबन्दीमा दिन्छन्।
नेपालको सबैभन्दा ठूलो शक्ति साझा संस्कृति, एकले अर्कोलाई माया गर्नु, आफ्नो सम्झेर सहयोग गर्नु, एक अर्काको धर्मलाई इज्जत र मायाको दृष्टिले हेर्नु हो। यही कारणले हाम्रो अस्तित्व अहिलेसम्म कायम छ। तर यही साझा संस्कृति विदेशीका लागि टाउको दुःखाइ बनेको छ। त्यसैले उनीहरू यो सुसंगति टुक्य्राउने प्रयास गरिरहेका छन्। दुःखको कुरा केही नेपाली नै उनीहरूको लहैलहैमा आफू छहारीमा बसेको रुख काटिरहेका छन्।
अहिले भाषा, संस्कृति र जातिका आधारमा राज्य विभाजनको माग चर्काइएको छ। हिमाल, पाहाड र तराईको विशाल भूभागका मानिसलाई तिमीहरूको भाषा, संस्कृति, चाडपर्व, रीतिरिवाज बेग्लै छन् भनेर टुक्य्राउने प्रयास भइरहेको छ। साझा भूमि नै विभाजन गर्ने प्रयास भइरहेको छ। यसरी नेपाललाई ससाना प्रान्तमा विभाजन गर्नु नेपाल र नेपालीलाई टुक्रा टुक्रा पार्नु हो। यसमा पनि नवसाम्राज्यवादको स्वार्थ र भूमिका रहेको हुनसक्छ। यो षडयन्त्र नेपालीले बेलैमा बुझ्न आवश्यक छ। हामी इज्जतसाथ बाँच्न र हाम्रो स्वतन्त्रता जस्तोसुकै कठीन अवस्थामा पनि कायम राख्न चाहन्छौँ साझा संस्कृति बचाउनुपर्छ। त्यसपछि मात्र हामी शक्तिशाली बनेर नवसाम्राज्यवादीको आर्थिक र राजनीतिक दबाब तथा षड्यन्त्रबाट उम्किएर उन्नति गर्न सक्छौं।
लेखक इतिहासविद् हुन्।
No comments:
Post a Comment