जनयुद्ध शुरुवातकर्ताहरु मध्येका एक हुन् मणि थापा । उनी गीतकार, संगीतकार तथा कविसमेत हुन् । वि.सं.२०६२ मा तत्कालिन माओवादीले चुनवाङ बैठकबाट आफ्नो राजनीतिक यात्रा मोडेपछि उनले सो पार्टीबाट अलग भएर छुटै क्रान्तिकारी कम्युनिस्ट पार्टी खोले । त्यसैको उनी अहिले पनि महासचिव छन् । शान्तिप्रक्रियाको झण्डै १० वर्षे यात्रामा माओवादीहरु विभाजित भई झण्डै आधा दर्जन पुगेका छन् । तर उनी आफूसहित अरु विभाजित माओवादी कसैले पनि फुटको औचित्य पुष्टी गर्न नसेको स्वीकार्छन् । प्रस्तुत छ, यसै सेरोफेरोमा केन्द्रित रहेर खबरडबलीले उनीसँग गरेको सम्वाद :
नेपालमा एक किसिमको क्रान्ति सम्पन्न भयो, अब समाजवादको बाटो अगाल्नुपर्छ भन्ने एकथरी छन् । संविधानमा पनि समाजवाद उन्मुख भनेर लेखिएको छ भने एमाओवादीले समाजवादमा पुग्ने नीतिहरु पछिल्लो दस्तावेजमा कोरेको देखिन्छ । यस्तो परिवेशमा समाजवादमा पुग्नकालागि पुँजीवादका साँस्कृतिक चुनौतीहरु तपाईँ के देख्नुहुन्छ ?
अहिले समाजवादको कुरा गरेपनि नेपालमा भएको अहिलेको पुँजीवाद दलाल पुँँजीवाद हो । अहिलेको साम्राज्यवादी समयमा स्बतन्त्र पँुजीको बिकास हुन गाह्रो छ । कतै न कतै पुँजीवादसँग सम्झौता गर्नैपर्ने हुन्छ । अहिले संसार एउटा बिकसित पुँजीवादी नीतितिर गईरहेको छ भने अर्कोतर्फ अबिकसित देशहरु पनि कतै न कतै पुँजीवादसँग सहकार्य गरेर आएका छन् । उनीहरु राजनीति, अर्थतन्त्र, विज्ञान प्रविधिमा पनि सहकार्य गरेर आएका छन् । नयाँ जनवाद भनेको पुँजीवादी क्रान्ति हो । अहिलेको संसारमा चाहे गरीब मूलक वा धनी मूलुक होस् त्यो साम्राज्यवादी पुँजीसँग उनीहरुले कहीँ न कहीँ सम्झौता नगरिकन सम्भब छैन । पुँजी अहिले विश्व बजार हो । त्यसकारण नेपालमा राजतन्त्रको अन्त्यपछि एक किसिमले पुँजीवादी गणतन्त्र आयो । त्यो अवस्था आउन संयुक्त मोर्चाले काम गरेको छ । माओवादी र सात पार्टीको मार्चाले काम गरेको छ ।
पुँजीवादी क्रान्तिको उपस्थिति स्वरुप राजतन्त्र अन्त्यपछि केही राजनैतिक आधारहरु त पुरा भए तर आर्थिक आधार पुरा गर्ने बेलामा दलाल नोकरशाही वर्ग अघि आयो । त्यो वर्गलाई पनि सखाप पारेर राष्ट्रिय पुँजीपति वर्गलाई बिकास गर्न खोजेको भए नयाँ जनबादी क्रान्ति हुन्थ्यो होला । तर दलाल नोकरशाही वर्ग आएपछि त्यो वर्गसँगको हाम्रो लडाइँ भएकाले पुँजीवादी क्रान्ति पूरा भएको छैन, केही बाँकी कामहरु छन् । तर विश्व परिस्थिति पुँजीवादतिर गएको छ । आज विश्वको अन्तरविरोध समाजवादी क्रान्तिविरुद्ध साम्राज्यवादी क्रान्ति भन्ने आयो । यहाँ पहिलो, दोस्रो तथा तेस्रो विश्वयुद्ध जुन माओकालीन युद्ध थियो, त्यो चाँही परिवर्तन हुँदै आएको छ ।
यसकारण नयाँ जनवादी क्रान्तिका केहि कार्यभारहरु पुरा भए । त्योसँगै समाजवादी एजेन्डा पनि सँगसँगै थपियो । समाजवादको ढोका खोल्नु नै अहिलेको निम्ति प्रधान हो । नेपालको संविधानमा समाजवाद उन्मुख लेखिनु नेपालको शक्ति सन्तुलनले काम गरेको हो । यो लेखिनुलाई सकारात्मक रुपमा लिनुपर्दछ । यो चेतना राजनीतिक पार्टीहरुमा आयो । वैधानिकरुपमा समाजवादको ढोका खुलेको छ । अब नयाँ जनवादी क्रान्तिका कार्यभार पूरा गदै समाजवादतर्फ जानुपर्दछ । दोस्रो विश्व पुँजीवादतिर छ । सबै देशले आफूलाई पुँजीवादतिर लैजान कोसिस गरिरहेका छन् । त्यसलेपनि अबको लडाईँ पुँजीवाद र समाजवादको लडाईँ हुन्छ । अबको लक्ष्य समाजवादलाई नै बनाउनु पर्दछ ।
देशलाई समाजवादमा लानुपर्ने कम्युनिस्ट पार्टीहरु टुक्राटुक्रामा विभाजित छन् । यस्तो परिवेशमा समाजवादको ढोकासम्म ढकढक्याउने कुरा मृगातृष्णामा मात्रै होला कि ?
नेपालका कम्युनिस्टहरुले बढी सपनाको खेती गरेका छन् । किताबको खेती गरेका छन् । उनीहरुले जीवनको खेती गरेका छैन्न । त्यसले नेपालमा यति ठूलो सशक्त कम्युनिस्ट आन्दोलन हुँदाहुँदै पनि वामपन्थी नामका शक्तिहरुले नेपालको सरकारमा पुगिरहँदा र सानासाना गुट उपगुटहरुलाई नेपाली जनताले स्विकार गरिरहँदा जनवादीहरुको ठूलो क्लस्टर नेपालमा छ ।
त्यसलाई नेपाली जनता, नेपाली माटो र राजनीतिको आधारमा नेपालको जनवादी आन्दोलनमा नेताहरुले वास्तवमा नेपाल भन्ने नचिनेका नेताहरु बढी छन् । नेपाल नचिनेका, नेपालको बहुसँस्कृति बनावट नचिनेका र समग्रमा नेपालको विविधता नचिनेका समाजशास्त्रको ज्ञानमा कमि भएका नेताहरु नेपालमा धेरै छन् । उनीहरुले धेरै चाइनिज र रसियन साहित्य पढे । नेपाली भूगोल, इतिहास, सँस्कृतिलाई उनीहरुले चाइनिज र रसियन आँखाबाट बढि हेर्ने कोशिस गरे ।
त्यसकारण उनीहरु नजिक पुग्न सकेनन् । यहाँको परिस्थितिसँग मेल नखाएपछि टुटफुटहरु बढि भयो । यहाँ जतिजति संघर्ष भयोे, त्यति नै फुटतिर गयो । त्यसकारण नेपालमा कम्युनिस्टहरुले ओभर डोज खाएका छन् । ओभर डोजका कारण सबै ‘रियाक्टेड’ छन् । तर पछिल्लो चरणसम्म आईपुग्दा त्यो ‘रियाक्सन’ अलिकति कम भएको छ । विश्वको क्रान्ति नबुझीकन राष्ट्रिय क्रान्ति हुदैन । साथै हामीलाई ग्लोवलाइजेशनले पनि महशुस गर्न बाध्य पारेको छ । उनीहरुले पुँजीवादीको ग्लोवलाइजेशन भनेको हो। समाजवादीको ग्लोबलाइजेशन भनेको हो, त्यसको प्रभाव के छ भने पुँजीवादले जे बिकास गरेको छ हामीले त्यो समात्नुपर्छ । उनीहरुसरह प्रतिष्पर्धा गर्नैपर्दछ । त्यसकारण ‘रियाक्टिभ’बाट ‘कन्सट्रक्टीभ’तिर आएका जस्तो लाग्छ । यसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा कसरी बुझ्छौ ? कसरी लागू गर्छौ भन्ने चुनौती छ । नेपालका हामी बामपन्थीहरुले रातो किताबलाई पनि सँगैसँगै राख्नु पर्यो । अब क्रान्ति गर्नेले जो ठाउँ छ त्यो ठाउँमा त्यसको धरातल, सामाजिक बनोट, चरित्रलाई अन्तर्राष्ट्रिय दृष्टिकोणबाट, राष्ट्रिय आँखाबाट जो गर्न खोज्यो सायद सबैले बुझेको हुनुपर्दछ ।
पुँजीवादतिर नेपाली समाज गयो । यो नेपाली समाज अन्तर्राष्ट्रियकरण पनि भयो । हिजो लाहुरेहरुबाट अन्तर्राष्ट्रियकरण भएको थियो । यही परिवर्तनको प्रतिफल स्वरुप संविधानमा पनि समाजवाद उन्मुख भन्नुपर्ने परिस्थिति बन्यो । भनेपछि नेपाली समाज समाजवादतिर जाँदै रहेछ भन्ने त सबैतिर भयो । समाजवादी त कम्युनिस्टहरु हुन् । यो किन भयो त ? यो आकश्मिकतामा कसैको लहडमा भएको भन्दा पनि नेपाली समाजमा बसेपछि नेपाली समाजलाई नै उसले विश्लेषण गर्नुपर्ने हुन्छ । अब कुन समाजवाद भन्ने चाँही अर्को बहस शुरु होला ।
नेपालमा बिडम्बना के भईदियो भने, एउटा मान्छे पुँजीवादको सिकार भई भईकन नै आफ्नो जिन्दगी गुर्जाछ । वा भनौं अझ पुस्तौपुस्ता गुज्रन्छ । तर मानिसले आफू पुँजीवादको शिकार भएको समेत महसुस गर्न छाडिसके । एउटा सामान्य किसान मजदुरलाई पुँजिवादको अर्थ कसरी बुझाउने ?
एउटा किसानले सामान्य खेती गरेर आफ्नो गुजारा चलाईरहेको हुन्छ । तर ऊसँग पैसा हुँदैन । एउटाले उसको जमीन लिजमा लिन्छ । त्यसपछि उसले अत्याधुनिक खेती गर्छ । तर उसलाई पाटर्नर बनाउँदैन । अब किसानले आफैले खेत लिजमा दिएको मानिससँग प्रतिष्पर्धा गर्न सक्दैन र अब लिजमा लिने चाँही बसीबसी खाने स्थिति बन्छ । यसरी पुँजीवादले एउटा सामान्य मानिसलाई लुटिरहेको छ । उसको सँस्कृति माथिको हस्तक्षेप गरिरहेको छ । पँुजीवाद यसरी आएको छ कि नेपालमा, व्यक्ति एक्लैले पुँजीवादसँग लड्न सक्दैन । तर नेपालमा पँुजीवाद कसरी आएको छ भन्ने हामीले नबुझ्दा यस्तो समस्या भएको हो ।
कयाँै राजनीतिक पार्टीका नेताहरुलाई यहाँका कर्पोेरेट हाउसले रातारात किनेका छन् । एउटा कर्पोरेट हाउसले भूकम्पपीडितलाई सहयोग गर्छ भने एउटा नेतामार्फत सहयोग गर्दछ । नेतासँग ब्यालेन्स गर्छ उसले । यसरी जुन हस्तक्षेप भएको छ सामान्यदेखि माथिसम्म यो पँुजीवादको बिशेषता हो । त्यसको शिकार यहाँका देशभक्तहरु, आदिबासीहरु जो आफ्नो नेचुरल कल्चरमा बसेका छन्, तिनिमाथि हस्तक्षेप गरिरहेको छ ।
अरुण तरेर भन्ने तपाईँको गीत सम्झिँदा लाग्छ, आज अरुण र तमोर तरेर आउँनेहरु कयौं भङ्गालामा बाँडिएका छन् । अरुण र तमोर तरेर यता आईपुग्दा कयौं भङ्गलामा बाँडिएकाहरु कहिले एकै ठाउँमा होला ?
कोशी बन्नै पर्छ । भङ्गलाहरुले इतिहासको आवश्यकता पुरा गर्न सकेन भन्ने कुरा प्रमाणित भयो । सबै भङ्गलाहरु हिमालयबाट बगेको होइन भन्ने कुरा पनि प्रमाणित भयो । अहिलेको नेपाली राजनीति र विश्व राजनीतिको जो जटिलता छ, त्यो जटिलतालाई चिर्नको निम्ति सातै नदीहरु मिलेर कोशी बन्नै पर्छ । कोशी बनेर कोशीको बाँधलाई फुटाउनुपर्छ । जुन विषमता पैदा भएको छ ती विषमताहरु हामीले सहि ढंगले विश्लेषण गर्न नसक्दा आएका विषमताहरु हुन् । हामीलाई त्यसलाई संलेषण गर्ने ठाउँमा पुग्दा त्यो विषमता चाँही समतामा बदलिन सक्छ । कुन पात्र र प्रवृति भन्ने कुरा होइन । मैले गीत लेखेँ सँगीत गरेँ प्रदीप देवानले गाए । प्रदीप देवान एउटा पात्र हो । म पनि एउटा पात्र हुँ । मुख्य कुरा प्रवृति हो । अरुण र तमोर तर्नेहरुको प्रवृति भनेको परिवर्तनको प्रवृति हो । त्यो परिवर्तनको प्रवृति अहिले अलमलिरहेको छ ।
नदीहरु कतै भूमरीमा फसिराछन् । अलि ठूलो बाढीको आवश्यकता छ । नयाँ स्वरुपमा त्यो प्रवृति आउँदा वित्तिकै ऐतिहासिक धारा बन्छन् त्यो । बनाउँनु पर्छ त्यसलाई । त्यो पछि एउटा तागत र आन्दोलनको रुपमा आउँछ । त्यो प्रवृतिमा नआईकन कि उनले दण्ड पाउनु प¥यो कि पुरस्कृत हुनु प¥यो । दण्ड पनि नपाउने पुरस्कार पनि नपाउने यस्तो चाँही इतिहासमा हुँदैन । अरुण तरेर नाना तमोर तरेर लेख्ने मै स्खलित भएँ भने मैले दण्ड पाउनु पर्छ। गाउने मान्छे स्खलित भएको हो भने उसले पाउनु पर्छ । म पनि सही प्रदीप देवान पनि सही हुन सक्दैन । एउटाले गल्ती गरेको छ यहाँ । मूल्याङकन कहिले हुन्छ भन्दा राजनीति र सँस्कृतिको मूल्याङ्कन एक दशकमा हुँदैन । एउटा चरण हुन्छ सायद त्यो चरण आईपुगेको छैन । हामी सबै अहिले प्रवृतिमा होइन की पात्रको चरणमा छौं ।
http://www.khabardabali.com बाट साभार
No comments:
Post a Comment