Wednesday, January 18, 2023

किन हराए ‘जनवादी’ गीत र स्रष्टा? - सेवा भट्टराई


नेपालमा क्रान्तिकारी गीतको परम्परा आज चिनिएका क्रान्तिकारी अर्थात् माओवादी र अलि अगाडिका क्रान्तिकारी अर्थात् माले/एमाले पार्टीबाट नभएर हाल नेपालको जेठो पार्टी नेपाली कांग्रेसबाट शुरू भएको थियो।

नेपाली रेडियोमा पहिलो महिला आवाज रानुदेवी अधिकारीले २००७ सालभन्दा अगाडि नै राणा शासन विरुद्ध गीतहरू गाउँथिन्। नेपाली कांग्रेसले गोप्य रूपमा विराटनगरमा स्थापना गरेको रेडियोबाट उनका यस्ता गीत प्रसारण हुन्थेः

नेपाली नेपाली ...

अघि बढौं हातमा क्रान्ति झण्डा लिई

क्रान्ति झण्डा लिई

नेपाली ...

हे नेपाली आमा बाबु दिदी बहिनी दाजु भाइ

सब मिली उद्धार गरौं हाम्रो नेपाललाई

पछि नसरौं अबदेखि दुःख परे पनि

पछि नसरौं अबदेखि दुःख परे पनि।

यो विधालाई जनवादी भन्न थालियो। नेपालमा प्रजातन्त्रको स्थापनापछि केही समय सुस्ताएको यो विधा पञ्चायत कालमा फेरि सक्रिय भयो। २०२० सालको दशकमा रामेश, रायन, मञ्जुल लगायतले ‘राल्फा’ समूह स्थापना गरेपछि यो विधामा धेरै गीत बन्न थाले।

हाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति रायन भन्छन्, “त्यस वेला प्रेमका गीत मात्र गाइन्थे। गरीबको कठिन जीवनको बारेमा गीत हुँदैनथे। हाम्रो उद्देश्य गीतसङ्गीतको माध्यमबाट चेतना जगाउनु र समाज परिवर्तन गर्नु थियो।”

लेखक पारिजातले वैचारिक नेतृत्व गरेको यो समूहले ‘गाउँ गाउँबाट उठ’ र ‘गरीबको चमेली’ जस्ता धेरै विद्रोही गीतहरूको सिर्जना गर्‍यो। ती गीत गाउँदै पञ्चायतको विरोध गर्दै राल्फा देशका विभिन्न भागमा पुग्यो र ‘प्रगतिशील’ विधाको स्थापना गर्‍यो। यो विधा संसारका विभिन्न ठाउँमा देखा परेको ‘प्रोटेस्ट म्युजिक’ सँग मिल्दोजुल्दो छ।

लेखक पारिजातले वैचारिक नेतृत्व गरेको यो समूहले ‘गाउँ गाउँबाट उठ’ र ‘गरीबको चमेली’ जस्ता धेरै विद्रोही गीतहरूको सिर्जना गर्‍यो।

यो विधाले प्रेम जस्ता लोकप्रिय विषयलाई बेवास्ता गर्दै असमानता र अन्यायका विषयमा शब्द रच्छ। यस्तो गीतका सङ्गीत सैन्य वा युद्ध सङ्गीतसँग मिल्दोजुल्दो हुन्छ, र लोकधुनमा आधारित हुने हुनाले बुझ्न, सम्झिन र दोहोर्‍याउन सजिलो हुन्छ।

२०४६ साल र २०६२/६३ को आन्दोलनको सफलतामा यी गीतसङ्गीतको महत्त्वपूर्ण भूमिका रहेको विश्लेषकहरू बताउँछन्। दशक लामो माओवादी हिंसात्मक विद्रोहका क्रममा पनि असमानता र अन्यायका विरुद्धमा गीतहरू बनेका थिए। माओवादी सांस्कृतिक टोलीहरूले यी विषयका साथै युद्ध सम्बन्धी गीतहरू पनि बनाएका थिए।

युद्धमैदानमा वीरता र शहीदको बलिदानको प्रशंसा गर्दै धेरै गीतहरू बनेका थिए। तीमध्ये नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग आबद्ध सामना समूहका कलाकारहरूले तयार पारेको एउटा गीत तीन वर्षअघि यूट्युबमा देखा परेको थियो। भिडिओमा कमब्याट पोशाक र ट्र्याकसुटमा महिला र पुरुष मञ्चमा उत्साहपूर्वक नाचिरहेका छन्।

यो आधुनिक र आक्रामक नृत्यका मुद्रा कुनै पनि रियालिटी शो वा म्युजिक भिडिओमा अस्वाभाविक देखिँदैनन्। तर, गीतका शब्दले भने यो नाच मनोरञ्जन मात्र नभएको बताउँछन्ः

चमचम गर्ने खुकुरी साँध लाउने वेला भो

फेरि अर्को क्रान्ति उठ्छ जागै बस्ने वेला भो

फेरि जँघार तर्ने वेला भो

बारुदसँग खेल्ने वेला भो

फेरि भुल्को उठ्ने वेला भो

दुश्मनसँग भिड्ने वेला भो।

केही अध्येता यस्ता आक्रामक गीतलाई पनि ‘जनवादी’ र ‘प्रगतिशील’ विधाका उत्तराधिकारी मान्छन् भने केहीले ‘क्रान्तिकारी’ मात्र भन्न सकिने बताउँछन्। माओवादी द्वन्द्वकालमा यस्ता गीत र नाच धेरै लोकप्रिय थिए। माओवादीका सांस्कृतिक टोलीहरू पार्टीको पक्षमा जनमत बढाउन यस्ता नाच र गीत प्रस्तुत गर्दै देशका विभिन्न ठाउँमा पुग्थे, ती सांस्कृतिक पहलले कतिपय ठाउँमा काम पनि गरे। तर, द्वन्द्वकाल अन्त्य भएको १५ वर्षपछि यस्ता क्रान्तिकारी गीत कतै सुनिँदैनन्।

“युद्धमैदानका त्यस्ता गीतहरू इतिहासको एउटा क्षणमा सान्दर्भिक थिए, अहिले सान्दर्भिक रहेनन्।”

“यी क्रान्तिकारी गीतको भूमिका क्रान्तिकारी पार्टीमा मानिसहरू भर्ती गर्नु र परिचालन गर्नु थियो,” माओवादीमा विगतमा एउटा सांस्कृतिक समूहको नेतृत्व गरेका मणि थापा भन्छन्, “युद्धमैदानका त्यस्ता गीतहरू इतिहासको एउटा क्षणमा सान्दर्भिक थिए, अहिले सान्दर्भिक रहेनन्।”

यस्ता केही गीत यूट्युबमा पाइन्छन्। तर, कतै रेकर्ड नगरिएका कारण थुप्रै गीत हराइसकेका छन्। यो भौतिक कारण बाहेक ती गीत अहिले नसुनिनुको अमूर्त कारण पनि रहेको लेखक तथा सङ्गीत अध्येता रमण घिमिरेको विचार छ। “यस्ता गीतहरू कुनै एउटा सिद्धान्तसँग सम्बन्धित हुन्छन्, र आन्दोलनलाई आवश्यक भएसम्म मात्र सान्दर्भिक हुन्छन्। दीर्घकालमा सबै क्रान्तिकारी गीतको यस्तै हालत हुन्छ,” घिमिरे भन्छन्।

माओवादी पार्टीको सांस्कृतिक समूहमा पनि थुप्रै प्रतिभाशाली लेखक, सङ्गीतकार र गायक थिए, तर पछि सांस्कृतिक समूह नै भङ्ग गरिएको थियो। “युद्धविरामपछि हामी कुन दिशामा जाने, शान्ति कि क्रान्ति भन्नेबारे ठूलो बहस भएको थियो,” गायिका लक्ष्मी गुरुङ बताउँछिन्। उनले सामना सांस्कृतिक समूहकी उपप्रमुख भएर यस्ता दर्जनौं गीत गाएकी थिइन्-

रणमैदानमा हो साथी रणमैदानमा

वीरहरूको जीवन फुल्छ रणमैदानमा।

कुनै समयमा माओवादी पार्टीको मूलधार अन्तर्गत धेरै लेखिने र गाइने क्रान्तिकारी गीतहरूको दायरा आज निकै साँघुरिएको छ। शान्ति प्रक्रियापछि यस्ता गीतको माग नभएपछि गायिकाका रूपमा बाँच्न गाह्रो भएको गुरुङ बताउँछिन्।

“हामी आजकाल गाउँ गाउँमा गएर गीत गाउँदैनौं। काठमाडौंमा औपचारिक कार्यक्रमहरूमा फाट्टफुट्ट गाउँछौं,” उनी भन्छिन्। क्रान्तिकारी गीतहरूको सान्दर्भिकता र दायरा खुम्चिएसँगै उनको समूहका धेरै कलाकार अरू नै क्षेत्रमा लागिसकेका छन्।

क्रान्तिकारी गीतका प्रमुख सर्जक खुशीराम पाख्रिनको निधन भइसकेको छ भने मणि थापा आज गायकभन्दा पनि राजनीतिज्ञका रूपमा चिनिन्छन्। उनी माओवादी छाडेर नेकपा (एमाले)मा क्रियाशील छन्। अन्तिम समयसम्म पनि क्रान्तिकारी गीतहरू गाइरहनेमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पर्छ। तर, भूमिगत हुँदासम्म आक्रामक गीतहरू सार्वजनिक गरिरहेको उक्त पार्टीको सामना सांस्कृतिक समूहका गीत पछिल्लो समय ‘समाजसुधार’ मा केन्द्रित देखिन्छन्।

कला क्षेत्रमै अघि बढ्न खोज्ने क्रान्तिकारी कलाकारहरूले आफ्नो कला नै केही परिवर्तन गरेका छन्। माओवादीको तत्कालीन प्रतिरोध समूहकी प्रगती महरा अहिले सामाजिक विकृति र परिवर्तनका बारेमा गाउँछिन्। “युद्ध विषयका गीतहरू इतिहास हुन्, ती दिनहरू सकिइसकेकाले हामी आजका आवश्यकतामा केन्द्रित छौं,” उनी भन्छिन्।

क्रान्तिकारी गीतको तीव्र गतिमा भएको उदय र अवसानपछि पनि जनवादी गीत गाउने राल्फा समूह भने अझै सक्रिय छ। तर, तत्कालीन माले पार्टीसँग आबद्ध भई पञ्चायतको विरोध गरेको राल्फाका सदस्यले आज आफूलाई राजनीतिबाट अलग्याएका छन्। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति रायन भन्छन्, “हामीले सधैं जनताका पक्षमा काम गर्‍यौं। म आज यो पदमा छु, र यहाँबाट लोककलाको संरक्षण र प्रवर्द्धनन गर्न सक्छु।”

“जनतालाई आवाजको खाँचो हुन्छ, शक्तिका सामु सत्य बोल्ने गीतको खाँचो हुन्छ।”

उनका सहकर्मी रामेशले पनि राजनीतिबाट आफूलाई अलग्याएका छन्, भलै धेरै राजनीतिक समूह र आन्दोलनले राल्फाका गीतहरू अपनाउँदै आएका छन्। पञ्चायतको विरोध गर्न रचिएका गीतहरूलाई माओवादीले पनि अपनाएका थिए र २०६२/६३ को राजतन्त्र विरोधी आन्दोलनमा पनि प्रयोग गरिएका थिए। तर, ती गीतका सर्जकहरूमध्येका रामेश भने पछिल्लो समय बालगीत सिर्जनामा बढी सक्रिय छन्।

“हामीले जनवादी गीत गायौं, मानिसहरूले राम्रो कामका लागि ती गीतको प्रयोग गर्न चाहन्छन् भने गरे हुन्छ। तर, कुनै राजनीतिक स्वार्थका लागि त्यस्ता गीतको प्रयोग गर्नु अपराध सरह हो,” उनी भन्छन्।

राल्फाका गीतहरूले न्याय र समानताका बृहत्तर मुद्दाबारे बोल्ने हुनाले ती सर्वकालीन हुन पुगेका छन्। र, युद्धमा केन्द्रित माओवादी गीतहरू हराइसक्दा पनि यी गीतहरू बारम्बार प्रयोग गरिन्छन्। यी गीतहरूसँग सम्बन्धित राजनीतिक आन्दोलनहरू एक हिसाबले ‘सफल’ भइसकेको अवस्थामा समाजमा यस्ता गीत अझै आवश्यक छन् कि छैनन् भन्ने पनि एउटा प्रश्न छ, तर समाजमा असमानता हुन्जेल यस्ता गीतको खाँचो रहने जनवादी गायकहरू बताउँछन्।

मसाल पार्टीको रक्तिम सांस्कृतिक समूहका संस्थापक जीवन शर्मा क्रान्तिकारी गीतबाट मूलधारतर्फ लागेका थोरै गायकमध्ये एक हुन्। उनी जनजीविकामा सरोकार राख्ने गीत गाउन दलविशेषसँग जोडिनु नपर्ने धारणा राख्छन्। “जनतालाई आवाजको खाँचो हुन्छ, शक्तिका सामु सत्य बोल्ने गीतको खाँचो हुन्छ। यदि गीतहरूले त्यसो गर्न सके भने त्यस्ता गीत कुनै राजनीतिक पार्टीसँग आबद्ध हुनु पर्दैन, त्यस्ता गीतको आफ्नै जीवन हुन्छ,” उनी भन्छन्।

शर्मा आबद्ध रक्तिम समूह मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग नजिक भएको हुनाले पञ्चायत कालमा उनका गीतहरू अनौपचारिक रूपमा प्रतिबन्धित थिए भने शर्मा आफैं पनि लामो समयसम्म भूमिगत थिए। यसै गरी कुनै समय नेपालमा सबै जनवादी, प्रगतिशील र क्रान्तिकारी गीत र सर्जक प्रतिबन्धित नै भएका हुन्। विडम्बना, कुनै समयमा विद्रोही गीत रचना र प्रचारप्रसार गर्ने माओवादीले आफू सत्तामा हुँदा विद्रोही गीतमाथि नियन्त्रण गर्ने प्रवृत्ति देखाएका छन्।

२०७५ फागुनमा पूर्व माओवादी समेत आबद्ध नेकपाको सरकार छँदा सार्वजनिक भएको पशुपति शर्माको व्यङ्ग्यात्मक गीत ‘लुट्न सके लुट्’ ले सत्तापक्षका कार्यकर्ताबाट चर्को विरोध र आलोचना भोग्नुपरेको थियो। दबाब थेग्न नसकेर शर्माले गीत भोलिपल्टै यूट्युबबाट हटाएका थिए र पछि केही काँटछाँट गरेर फेरि अपलोड गरिएको थियो। २०७८ चैतमा माओवादी लडाकूको व्यथा समेटिएको प्रकाश सपूतको ‘पीर’ ले पनि माओवादीकै धम्कीका कारण भिडिओको केही दृश्य परिवर्तन गर्नुपरेको थियो।

सत्ता नहुँदा ‘विद्रोही’ सामग्रीलाई प्रश्रय दिने र सत्तामा हुँदा भने त्यस्तै विद्रोह दबाउने प्रवृत्ति बारम्बार देखिने गरेको छ। यस्तो समयमा राजनीतिक दलबाट अलग रहेर जनपक्षीय तथा जनवादी गीतहरू सिर्जना गर्ने सर्जकहरूको खाँचो देखिएको छ।

तर, रामेश र जीवन शर्मा जस्ता केही सर्जकले फाट्टफुट्ट यस्ता गीतको सिर्जना गरे पनि शुरूमा जनवादी साहित्यमा रुचि देखाएका शम्भु राई, गणेश रसिक, आभास लगायत सर्जकहरूको अहिले यो विधामा सक्रियता छैन। यस्तै, क्रान्तिकारी सर्जकहरूले जनवादी विधाको मूलधारमा पुगेर त्यसलाई निरन्तरता दिन सकेका छैनन्।

(भट्टराई स्वतन्त्र पत्रकार तथा लोकसाहित्य सङ्कलक र अनुसन्धानकर्ता हुन्। हिमालको २०७९ असोज अंकमा ‘‘जनवादी’ गीत: सत्ताका भर्‍याङ’ शीर्षकमा प्रकाशित।)

www.himalkhabar.com

No comments:

Post a Comment