हँसियाको गीतमा हथौडाको संगीत
–शोभित नेपाल
आऊ किसान मजदुर हो, सबै उठौं
आफ्नो अधिकार लिनलाई जुटौं
यस्तै भाका र आग्रह पस्कदै ५ वर्ष पार गरिसक्यो मजदुर शहिद स्मृति साँस्कृतिक परिवारले । नाचघर र प्रज्ञाभवनका आँगनमा नाच्दै अनि राजधानीका टोल–टोल र चोक–चोकमा यस्तै आव्हान गर्दै जारी छ उसको सांगीतिक यात्रा । कम्युनिष्ट पार्टीको झण्डामा हँसियाको चिनो छ अनि छ हथौडाको चित्र । यसको अर्थ लाग्छ कि कम्युनिष्ट पार्टी किसान र मजदुरको हितैषी हो । त्यसैले पनि कम्युनिष्ट पार्टीको शक्ति भनेकै मजदुर र किसानको शक्ति हो । त्यही शक्तिमध्येको एक मजदुरको पनि निकै ठूलो भूमिका छ एकीकृत माओवादीको आन्दोलन र उसले पाएको उचाइमा । एकीकृत माओवादीलाई अहिलेको अवस्थामा पु¥याउन सयौं संगठित र असंगठित मजदुरहरुले कुर्बानी गरे लडाइँमा, राजतन्त्रको जरो उखेल्ने क्रममा काँडाले घोचिएर थुपै्र मजदुरहरुले ज्यान चढाए अनि गणतन्त्रको घाम झुल्क्याउन धेरै कुल्लीहरुले बलिदान दिए । तिनै मजदुर शहिदहरुको स्मृतिमा बनेको हो यो साँस्कृतिक परिवार । किसानका मर्कामा मजदुरका व्यथा मिसाउँदैछ, किसानका कष्ट गाउँदैछ, मजदुरका हैरानी सुसेल्दैछ अनि हँसियाको गीतमा हथौडाको संगीत भरेर पस्कँदैछ ।
आऊ किसान मजदुर हो, सबै उठौं
आफ्नो अधिकार लिनलाई जुटौं

एकीकृत नेकपा (माओवादी) आबद्ध अखिल नेपाल ट्रेड युनियेन महासंघको सक्रियतामा ०६३ सालमा मजदुर शहिद स्मृति साँस्कृतिक परिवारको गठन भएको हो । त्यतिबेला आरती विकले यसको नेतृत्व गरेकी थिइन्, टोली २५ जनाको थियो । मूक्तिको उज्यालो खोज्ने अभियानमा रहेको आन्दोलनमा सघाउँदै र गीत, कला अनि संगीतको माध्यमबाट भ्रममा लटपुटिएका शहरिया चेतना भताभुङ्ग पार्दै जारी राख्यो उसले आफ्नो यात्रा । केही समयपछि टोलीको नेतृत्व नवीन लामाले गरे । आफुभन्दा अग्रज कलाकर्मीहरुबाट सिक्दै अनि अलमलिएका खुट्टाहरुलाई पोख्त बनाउँदै जारी राख्यो नाचगान । आफन्त चुँडिएका आत्माहरुमा मलम लगाउँदै र मूक्ति पर्खिरहेका मनहरुलाई विश्वास दिलाउँदै निरन्तर अघि बढ्दै रह्यो । ५ वर्षदेखि मञ्च र आँगनहरुमा गीतिनाटक पस्कँदै अनि आफ्ना रचनाहरुमा चेतनाका स्वर गुन्जाउँदै आएको मजदुर शहिद स्मृति परिवारको नेतृत्व अहिले लक्ष्मी गुरूङले गरिरहेकी छन् ।


करिब २० जनाको संख्यामा रहेको मजदुर शहिद स्मृति साँस्कृतिक परिवारको बसाइ सामूहिक हो । गरिबहरुको मूक्तिका लागि गरिबहरु नै जुट्नुपर्छ अनि कस्सिनुपर्छ आन्दोलनमा । गरिबकै कलाकार भएकोले उनीहरुका लागि पनि कष्ट नौलो अनुभव होइन । सामूहिक बसाइ, सामूहिक खानपान, सामूहिक रिहर्सल अनि सामूहिक जीवन उनीहरुको दैनिकी हो । कतै पस्तुत गरिने कार्यक्रममा पस्किइने प्रस्तुतिको तयारी अनि नाचगानको रिहर्सलबाहेक उनीहरुको समय सामूहिक अध्ययन र छलफलमा बित्ने गर्दछ । कविता, गीतजस्ता रचना पनि कोर्छन् उनीहरु । दिनचर्या साँच्चै नै फौजी तरिकाको देखिन्छ । सामूहिक बसाइको विशेषता पनि त्यही हो । यथार्थ के पनि हो भने विगतदेखि नै माओवादीले कलाकर्मीलाई साँस्कृतिक सेना मान्दै आएको छ ।

चुमेर हेर यहाँको माटो बोल्छ कि बोल्दैन
छोएर हेर यो रातो झण्डा शहिद बोल्छ कि बोल्दैन
छोएर हेर यो रातो झण्डा शहिद बोल्छ कि बोल्दैन
यस्तै यस्तै मर्मस्पर्शी, कर्णप्रिय र चेतनायुक्त गाना समेटिएका छन् एल्बममा । खुसीराम प्राखिनजस्ता वरिष्ठ कलाकारको रचना छ अनि नेपालको सांगीतिक क्षेत्रमा प्रसिद्धि पाएका चेतन सापकोटाले पनि संगीत र स्वर भरेका छन् । एल्बममा १० वटा गीत संग्रहित छन् । यिनै गीतहरुमा नाच पनि पस्किसकेका छन् यी कलाकारहरुले ।
शान्तिकालीन समयमा पनि बाँच्नका लागि गा¥हो छ । खानपान र बासस्थानको खर्च अखिल नेपाल ट्रेड युयिनेन महासंघले व्यवस्था गर्छ । तैपनि, अभावमा दिनहरु कटाउँदै र आन्दोलन चर्काउँदै आएको माओवादी अनि ऊनिकटमा संगठनहरु तल्लो स्तरको जीवन बिताइरहेका छन् । दिनभर कार्यक्रमहरुमा सांगीतिक प्रस्तुति दिएर फर्कदा बेलुका नुन र तेलको समस्या ज्युँका त्युँ छ । यही अभाव टार्नका लागि स्वाबलम्बी हुने उपायको खोजीमा छन् उनीहरु । दैनिक खर्चको अभावमा पिरोलिनुपर्ने अवस्थाको अन्त्यका लागि विकल्पको खोजी हुँदैछ । स्वाबलम्बी हुनेबारे माथिल्लो तहसँग छलफल गरी छिट्टै नै निधो गरिने संयोजक लक्ष्मी गुरूङको भनाइ छ ।
चीनमा साँस्कृतिक रुपान्तरणको अभावले प्रतिक्रान्तिका भएको बताइन्छ । मानिसका मनहरु बदलिन नसक्दा, मानिसका आत्माहरु फेरिन नसक्दा ३० वर्ष नपुग्दै जनवादी व्यवस्था गुमेको भनिन्छ । तर नेपालमा भने साँस्कृतिककर्मीको कारणले प्रतिक्रान्ति हुन्छ कि भन्ने आशंका गर्छिन् संयोजक लक्ष्मी । साँस्कृतिक मोर्चाका कमाण्डरहरुले मोर्चाको भूमिका कि त नबुझेको कि त बुझेर पनि बुझपचाएको लाग्छ उनलाई । मोर्चाका नेतृत्वहरुले विभाजित नभइकन ‘रातो लालटिन’ को तयारी गर्नुपथ्र्यो । तर, बिडम्बना ! साँस्कृतिक मोर्चा हाँक्ने नेताहरु सानो घेरामा रमाउन थालेर पनि समस्या बढेको बताउँछिन् लक्ष्मी । जनयुद्धमा बनेको साँस्कृतिक बटालियन छिन्नभिन्न हुनुमा साँस्कृतिक नेतृत्वहरुको पनि कमजोरी हो । त्यति ठूलो संख्याका कलाकारहरुलाई जोगाउने र गुणात्मक वृद्धि गर्ने भन्दा पनि ‘तेरो’ र ‘मेरो’ को व्यावहार गर्ने स्तरमा खसे उनीहरु ।
नेपाली क्रान्तिमा पनि ‘रातो लालटिन’ पस्कने जिम्मा तिनै कलाकर्मीहरुले लिनुपर्छ । तर, युद्धकालमा गठन भएका साँस्कृतिक बटालियनहरु दिनहुँ छिन्नभिन्न भइरहेका छन् । हिजो आन्दोलनमा लाग्न आव्हान गर्दै हिँड्ने कलाकारहरु आज कोही खाडी पसेका छन् त कोही कुल्ली बनेर जीवन गुजार्दैछन् । आन्दोलनको बेला नेताहरुको भन्दा शसक्त भूमिका निभाएका कलाकर्मीहरु शान्तिकालीन दिनहरुमा दयनीय जीवन बिताइरहेका छन् । ‘संरक्षक बिनाका टुहुरा’जस्तै भएको छ उनीहरुको हालत । जनयुद्धकालमा सातु खाँदै गीत गाउने कलाकारहरु अहिले घाँस दाउरा गरिरहेका छन् आफ्नै वनपाखामा । टाउको दुख्दा सिटामोल निलेर नाच्नेहरुको पनि उस्तै छ हालत, छाक टार्न आरान चलाउँदैछन् । राजनैतिक क्रान्तिले नै पूर्णता नपाइसकेको अवस्थामा साँस्कृतिक क्रान्ति त झनै परको विषय हो ।
आन्दोलनले जुटाएका साँस्कृतिककर्मीहरु यसरी छरिँदै र निराश हुँदै जाने स्थिति बढ्ने हो भने आगामी लडाँइ कठिन हुनसक्ला किनकि झ्याली पिटाइको भरमा उनीहरु आन्दोलनमा सहभागी हुन्छन् भन्न गा¥हो छ । यसको जवाफ साँस्कृतिक नेतृत्वहरुले दिनुपर्ने ठम्याइ छ लक्ष्मीको । हुन साँस्कृतिक रुपान्तरण कलाकारले नाचेर अनि गीत गाएर मात्रै हुने होइन । नेता, कार्यकर्ता र जनता सबैका सोचहरु फेरिनुपर्छ । संकीर्णताका कुवाहरु अझै खन्दै जाने हो भने साँस्कृतिक रुपान्तरण त होइन, साँस्कृतिक विकृति झनै बढ्ने निश्चित छ । विजयका लागि फाटेका मनहरु सिउनुपर्छ । साँस्कृतिककर्मीहरु अरुभन्दा अलिक बढी भावुक हुन्छन् भनिन्छ । तर त्यही आवरण लगाएर साँस्कृतिक नेतृत्वहरुले उम्कने प्रयास गर्नुहुँदैन । कमजोरीको जिम्मा लिनुपर्छ, सफलतामा गर्व गर्नुपर्छ अनि बाँकी कामका लागि एकजुट हुनुपर्छ ।
–आवरण मासिक, वर्ष १ अंक ४ मा प्रकाशित
No comments:
Post a Comment