Tuesday, January 6, 2015

कम्युनिस्ट पाखण्डको पहाड - लेखनाथ न्यौपाने

कम्युनिस्ट पाखण्डको पहाड

लेखनाथ न्यौपाने-
सुरुमै माफी माग्छु ! कम्युनिस्ट पाखको पहाडको भागिदार स्वयम् यो पंक्तिकार पनि हो ।अलि अगाडि युवा संघ नेपालको बुटवलमा राष्ट्रिय सम्मेलनको नाममा एक स्तरको केन्द्रीकरण भयो । गुट, उपगुट र गुटैगुट नहुने त कुरै भएन । पदका लागि समीकरण, पैसाका लागि सहमति अनि पद र पैसा दुवैका लागि निर्वाचन पनि हुने नै भयो । यदि यसो नहुँदो हो त बहुदलीय जनवादको जामा फुस्कन्थ्यो । थप एउटा सन्सनीपूर्ण खबर त्यहाँबाट आयो, ‘बुटवलमा इतिहासकै सबैभन्दा बढी कन्डम बिक्री भयो ।’
बहुदलीय जनवादका संवाहक नौजवानहरूले प्रयोग गरेका यस्ता वस्तुको व्यवस्थापन लजवालाहरूले कसरी गरे होलान् ? बुटवल हुँदै बगेको तिनाउ आफैंभित्र हराइसकेको थियो । तिनाउ यसरी हराइरहेको थियो कि माक्र्सवादी-लेनिनवादी कम्युनिस्टहरू यसको अन्तरवस्तुबाटै हराए जस्तै । चरीहरू सहभागी माक्र्सवादी-लेनिनवादी युवाहरूभित्र मौलाएको कन्डम-संस्कृतिलाई बुटवल, बुटवलका प्रगतिशील चेत भएका जनमन र यो संस्कृति थाहा पाउने देशवासीले कसरी सुन्नसके होलान् ? स्वयम् माक्र्स र लेनिन यो सम्मेलनमा उपस्थित भएको भए कसरी सांस्कृतिक संश्लेषण गर्थे कुन्नी ?
लगत्तै योङ कम्युनिस्ट लिगको काठमाडौंमा राष्ट्रिय सम्मेलनकै नाममा अर्को स्तरको जात्रा आयोजना गरियो । अरु चिज माथिकै जस्तो हो । फरक एउटै थियो, २१ औं शताब्दी भन्ने शब्द थपिएको खुल्ला पुँजीवादी बहुदलीय जनवाद । गुट उस्तै हो । प्रचण्ड गुट, बाबुराम उपगुट अनि प्रकाश थपिँदा गुटैगुट । डोजर र कमिसन, रक्तचन्दन र तस्करी अनि यार्सा र जग्गा प्लटिङको संस्कृति काटीकुटी उस्तै हो । थपिएको एउटा फरक संस्कृति माओवादी, एमाले र फेरि माओवादी बन्नु हो । अनि कांग्रेस-मसाल-एमाले-माले र माओवादी हुँदै एमाओवादी बन्न सक्ने चरम दलबदल संस्कृति । स्खलनको रूप र सार उही हो, समय मात्र फरक । त्यसैले काठमाडौंबाट पनि वायुकै गतिमा एउटा खबर आयो, ‘प्रज्ञा भवन वरिपरि इतिहासकै सबैभन्दा धेरै पान, पानपराग र चुरोट बिक्यो । जात्रा अवधिभर सुनधाराका होटल र लजहरूबाट ट्रकका ट्रक रक्सीका खाली बोतलहरू निस्किए ।’
माओवादीका नौजवानहरूले उपयोग गरेका त्यस्ता चिज सुनधाराका होटल साहुहरूलाई व्यवस्थापन गर्न बुटवलको जस्तो सकस परेन । सुनधाराबाट निस्किएका रक्सीका बोतल, विष्णुमती-वागमती र एमाओवादी लहरै उभिएका पीपलजस्ता छन् । समाज बदल्ने सपना बोकेर जनयुद्ध लड्दै यहाँसम्म आइपुगेका माओवादी युवाभित्र झ्याङ्गिएको रक्सी संस्कृतिलाई काठमाडौं, काठमाडौंका वामपन्थी सोच भएका जनमन र यो खबर सुन्ने आम जनहरूले कसरी लिए होलान् ? माक्र्स र लेनिनसँगै माओ पनि योङ कम्युनिस्ट लिगको सम्मेलनमा सहभागी भएका भए सांस्कृतिक संश्लेषण कसरी गर्थे कुन्नी ?
गधा पच्चीसे युवा एकाबिहानै डेरामा आयो । मसँगै प्लास्टिकको रातो कुर्सीमा बस्यो । के छ भाइ ? भनेर सोधेको मात्र के थिएँ, ऊ त ‘क्वाँ-क्वाँ’ गरी रुन पो थाल्यो । किन रोको भन्यो, झन् ‘हिक्क-हिक्क….!’ गरेको गर्‍यै गर्छ । तारा अंकित रातो गञ्जी लगाएकोे युवा, व्यथा भरिएको आफ्नो कथा सुनाउँछ, ‘चौबीसै घन्टा पार्टीको काम गर्‍यौं भनेका छौं । सन्तुष्टिको सन्तुलन हुँदै भएन । म सर्वहारा हो कि लम्पट सर्वहारा, पूर्णकालीन कार्यकर्ता हो कि अंशकालीन, म जोगी हो कि भोगी, समस्या म हो कि सहयोद्धाहरू ? कोठा भाडा, पसलको उधारो र अरु ऋणको कारण कुन दिन प्रहरी कष्टडी पुग्ने हो, ठेगानै भएन । मन थाम्नै सकिन दाइ ।’ विषय र बिझाइ गम्भीर थियो । वातावरण निकै भावुक बन्यो । उसको आँसुको वेगले यता आँसु खसाली छाड्यो ।
आजका कम्युनिस्ट पार्टी र नेताहरूलाई छुन्छ कि छँुदैन, कुन्नी ? तर मलाई भने निकै भित्रसम्म छोयो । कम्युनिस्ट पार्टी, यसले परिकल्पना गरेको नागरिक, समाज र राष्ट्र । चन्दाकै भरमा पार्टी चलाउने र कार्यकर्ता पाल्ने संस्कृति, कति दिन टिक्ला र टिकाउला ? यतिमै सीमित भएन समस्या । चन्दामै भ्रष्टाचार, अपारदर्शिता र घर-जग्गा जोड्नेसम्मको विचलन विराजमान बन्दैछ । कम्युनिस्ट पार्टीको सदस्य हुनुको गौरव, चेतना र संस्कारका लागि श्रम र श्रमबाट पार्टीलाई लेबी तिर्ने सैद्धान्तिक व्याख्या । अफसोच ! दलाल पँुजीपतिहरूसँग लिएको चन्दाबाट पार्टीर् लेबी तिर्छौं हामी । यो संस्कृतिले कहाँ पुर्‍याउला हामीलाई ? गाढा रातो रंगको पार्टी सदस्यता कोटको गोजीमा हाल्छौं, मुसुक्क हाँस्छौं, तर आत्मनिर्भर अर्थतन्त्रको जगमा राजनीति बिर्सन्छौं ।
पूर्णकालीन कार्यकर्ता बनाउँछौं, तर उत्पादनसँग जोड्ने योजना न माथिबाट आउँछ, नत तल सिर्जनशील भएर निर्माण गर्न सक्छौं । यदि कोही कार्यकर्ता आय आर्जनमा जोडिएर आफ्नो व्यवस्थापन गर्न खोज्दैछ भने हामी उत्तेजित भइहाल्छौं र भन्छौं, ‘फलानो त पलायन भएछ, गद्दारी गरेछ र ऊ त भगौडा हो ।’ पुरै चन्दा खाएर कम्युनिस्ट पार्टीको पूर्णकालीन सदस्य बन्नुभन्दा त श्रमसँग जोडिएर समर्थक सदस्य बन्नु हजार गुणा नैतिकवान हो । कुराको गुदी कसले बुझ्ने ? मौसमे जुलुसमा जानु नै परिचालनको सफलता र असफलता नाप्छौं । अन्यथा न पार्टीले खोज्छ, नत हामी सोध्छौं ? पार्टीको काममै छ कि चोरी
तस्करीमा ? कार्यक्षेत्रमै खटिएको छ कि रेडलाइट एरियामा बरालिंँदै ? फुर्सदको बेला पार्टी साहित्य पढ्छ कि दिनभरि टिभी हेरेर सुत्छ ? खोजखबर, लेखाजोखा र अनुगमन गर्ने संस्कृति नै छैन । माथिकाले आदेश ठोक्छ, तलकाले गाली । आलोचनाको रंगमा पार्टी र नेतालाई यसरी सराप्छ कि मानौं ऊ तलब लिने सर्तमा पार्टीमा भर्ती भएको हो । हाम्रो आफ्नै मन, मस्तिष्क र संस्कार नबदली न अरुलाई बदल्न सक्छौं, नत सामूहिक चेतनाको आन्दोलन नै उठाउन । आमूल परिवर्तकारी यात्राको पहिलो पाइलो आफूभित्रको पुरातनपन्थी चेतना पुरै बदल्नु हो ।
कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने संस्कारै बेठीक हो । आजै पार्टी प्रवेशसँगै सदस्यता प्राप्त गर्नु र सदस्यता प्राप्त गरे लगत्तै नीति निर्माणको तहमा बसाइनु विषय, विधि र नैतिकताले दिन्छ कि दिँदैन ? यसको फैसला नगर्ने हो भने कम्युनिस्ट पार्टी र आन्दोलन, शोषणको साधन बनाइयो भनेर निष्कर्ष निकाल्नुपर्छ । यसरी नियाल्दा अरुका निम्ति मर्ने संस्कृति आज आफ्नालागि मात्र सोच्ने संस्कृतिमा फेरिएपछि कुसंस्कृतिको सिकार स्वयम् संस्कृति हुने नै भयो । मरेर बाँच्न सिकाउने कम्युनाडहरूको संस्कृति बाँचेर पनि मरेतुल्य संस्कृतिमा बदलिएपछि थबाङ, दण्डकारण्य र आयकुचो अलगावमा परेजस्तो हुने नै भयो । आन्दोलन-परिवार, पार्टी-घर र अगुवा-अभिभावक बन्ने-बनाउने संस्कृति सम्बन्धविच्छेदमा परेपछि स्वयम् रगतले इतिहास लेख्ने संस्कृति डोेलायमान हुने नै भयो ।
हामी कम्युनिस्टले जनताको सेवालाई यति अमूर्ततामा कैद गरिदिएका छौं कि स्वयम् हामीले नै बुझ्दैनौं । सेवामा समर्पित हुने न योजना बन्छ, नत दैनिकी । न व्यावहारिक चेतना निर्माण भएको देखिन्छ, नत संलग्नताको तस्वीर । किसानलाई खेतको काम वा कुलो सफा गरेर सघाउनु, गाउँलेलाई इनार सफा वा बाटो मर्मत गरेर सघाउनु, सामूहिक श्रम गरेर श्रमप्रतिको सम्मान गर्नु वा उत्पादन संघर्षमा सहभागी भएर ज्ञान आर्जन गर्नु कम्युनिस्टहरूको दैनिकी हो । तर जमिनदारले कुत उठाए जस्तो कम्युनिस्टहरूले जनताबाट सित्तैमै मेवा खोज्न थाल्यौं । सपनाको हत्यासँगै बाह्रैमास तुवाँलोले क्षितिज ढाकेपछि कुहिराको काग हुने नै भइयो ।
पार्टी सदस्यताको मूल्य सगरमाथाको शिरजस्तो हुनुपर्ने तर सेयर बजार पो बन्न थाल्यो । विचरा ! हाम्रो पार्टी सदस्यता जग्गा दलालको फित्ताले खण्ड-खण्ड बनेको छ र बचेको टुक्रा चन्दाबाट खरिदेको लालपुर्जा सुँघेर छट्पटाइरहेको छ । मन लागेको बेला जुलुसमा आउनु बाहेक गोजीको रातो सदस्यता कार्ड आम्स्टर्डमको रेडलाइट एरियाजस्तो बनाइएको छ । भट्टीको खोयाबिर्केमा, ठमेलका मसाज घरमा र डान्सबारमा रातो कार्डको दुरुपयोगले हामी कम्युनिस्टलाई उठ्नै नसक्नेगरी बदनाम बनाएको छ । तर हामी आफूलाई चे र चुतेह भन्न छाड्दैनौैं । लड्यो-लड्यो, मर्‍यो । राम्राजति सिद्धियो । बेइमानहरू यसै पनि बाँच्ने । बाँचेका इमानदारहरू पनि बेइमान हुँदै जाने र पाखण्डको सगरमाथा ठडिने । यसो हुँदै जाँदा हिजोको ‘कम्युनिस्ट आउ, हामीलाई बचाउ’ भन्ने जनबोली आज ‘भो नआइज, हामीलाई नसता’ भन्नेमा बदलिने खतरा पो देखियो । उफ ! ढोंँगको ढुङ्ग्रो कति फुक्ने ?
सिधै कम्युनिस्ट बन्न पाइँदैन र सकिँंदैन भनेर कम्युनिस्ट बन्ने-बनाउने कारखाना योङ कम्युनिस्ट लिग । यस्तो कारखाना हाम्रोमा विकृतिको केन्द्रमा बदलिएको छ । तर मान्छेहरू विकृतिमै गौरव गर्छन् र भन्छन्, ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ ।’ प्रसङ्ग एकजना योङ कम्युनिस्ट कमाण्डरको हो । उनले भर्खरै एकैदिनमा एउटै दुलहीसँग तीनपटक र तीन आइटमका विवाह गरेर दुनियाँलाई चित खुवाए । कम्युनिस्ट बन्ने कारखानाको धज्जी उडाए । बिहान दुलहीका आफन्तलाई तामाको ताउलामा योङ कम्युनिस्टको गोडा धुवाए र पानी खुवाए, तर पनि कामरेड कम्युनिस्ट बनिरहे । दिउसो सबभन्दा चल्तीका कम्युनिस्ट -?) नेता ल्याएर पाँचतारे होटलमा जनवादी विवाह गरे, तर पनि कामरेड कम्युनिस्ट बनिरहे । साँझपख जग्गे घुम्दै पञ्चैबाजा बजाएर दुलही र दाइजो भित्र्याए, तर पनि कामरेड कम्युनिस्ट बनिरहे प्रमोसनसहित । कम्युनिस्ट पार्टीको घोषणा, सदस्यले पालना गर्ने आत्मानुशासन र हामीबाट समाजले सिक्ने संस्कार सबै कन्टेनरमा हाल्दा पनि कामरेड बढुवाको पत्रसहित कम्युनिस्ट भइरहे । उफ ! कम्युनिस्टले भित्र्याएको भ्रष्टीकरण ।
कम्युनिस्ट आन्दोलनभित्र भ्रष्टीकरणको केन्द्रमा पढेलेखेका डाक्टरहरू नै देखिए । अरु विषयमा होइन, पाखण्डमा पो विद्यावारिधि गरेजस्तो लाग्न थाल्यो । आफू सरकारमा हुँदा पुराका पुरा चाकरी र ढोंँगमा बिताए । जब कुर्सीबाट झरे अनि पाखण्डी विषय बोले, ‘म सरकारमा भएको भए, उसलाई जेल हाल्थंेँ । हाम्रो सार्वभौमिकतामाथि बर्दिया र तनहँुबाट ठाडो हस्तक्षेप भयो, कति सहने ?’ दलाल संस्कृतिका स्रोतहरू यसरी खुल्दै गर्दा चार्टर गरेको हेलिकप्टर चढेर पीएको बिहेमा पुग्न पनि छाड्दैनन् । सिन्दूर, पोते र कल्कीको के कुरा ? बिहेमा सन्दुक, सुन र सुनपानी । १५ लाखको त खसीको मासुमात्र । हल्लाले अवध हल्लिएको थियो । हिजो के गरिन्छ भनिन्थ्यो, आज के गरिंँदैछ । उल्टो पुष्टि भयो । हिजोको उर्दी अरुका लागि थियो,
आजको फुर्ती आफ्नैनिम्ति । उफ ! कसरी सकेको कम्युनिस्ट भोगी, ढोंँगी र छली बन्न ?
सुन निलेको कुरा धेरै आयो, कुरो नबुझ्ने को होला र ? जनयुद्धले आधा बाटो छिचोलेपछि माओवादीमा मिसिएका मास्टर कमरेड, जनयुद्धको बाँकी समय ‘र’को नजरमै बिताए । जनयुद्धको अवसानपछि मालदार नियुक्ति खाए र सबभन्दा धेरै बजेट हुलिएको मन्त्रालयको मन्त्री बने । छोरा-बुहारी, छोरी-ज्वाइँ, भाञ्जी-भाञ्जी-ज्वाइँ कैयौंलाई विना काम नियुक्ति गरे र ब्रह्मलुट मच्चाए । सञ्चार हाउस खोले, काठमाडौंको भीआईपी क्षेत्रमा चाइनिज इँटाको हवेली ठड्याए र कार कुदाए । मास्टर कामरेड मापको दामरेडमा बदलिए लगत्तै बढुवासमेत भकुरे । बदलिएका दामरेडकी छोरी पाँचै औंला देखिनेगरी गालामा हात राखेर तस्वीर खिच्छिन् । पाँचै औंलामा सुनका अंगुठी र नाडीमा तीन फन्काको सुनकै बाला देखाउँछिन् । सुन प्रदर्शनीको यही तस्वीर हालेर फेसबुक वालमा शासकीय बोली बोल्छिन्, ‘हामी खान नपुग्ने भिखारी होइनांै ।’ उफ ! भ्रष्टीकरणको भद्दा नमुना, सांस्कृतिक रूपान्तरणको उल्टो दिशा र गति ।
सिन्धुपाल्चोक घर, राजनीतिक परिवार, सांस्कृतिक मोर्चामा काम गर्ने कलाकार र आफ्नै पि्रय जीवनसाथी गुमाएकी सहिद परिवार । रगत, पसिना र आँसुले लेखिएको गौरवान्वित इतिहास । तिनै महिला आज काठमाडौंको भव्य पार्टी प्यालेसमा आफ्नो जन्मदिन मनाएको तस्वीर सार्वजनिक गर्छिन् । जतिऔं जन्म दिन हो, त्यति नै किलोको केक काटेको तस्वीर, विकृतिको उत्कर्ष । गोडाका सबै औंलामा विच्छु लगाएका सम्भ्रान्त महिलाहरूको हुलमा ताली बज्छ र गुञ्जिन्छ, ‘ह्याप्पी बर्थडे टु यु  !’ उफ ! सांस्कृतिक भ्रष्टीकरण । पाखण्डको पहाड । कसरी बुझ्ने, बुझाउने र छिचोल्ने ?
सांस्कृतिक मोर्चाकी यी महिला कलाकार, सर्वहारा दामरेडकी छोरी कामरेडको सुन र शौख, १५ लाखको मासु जन्तीलाई खुवाएर दुलही भित्र्याउने डाक्टरका पीए, एकैदिन एउटै दुलही तर तीन प्रवृत्तिको विवाह गर्ने योङ कम्युनिस्ट कमाण्डरसँग मेरो छेवैको रातो कुर्सीमा बसेको छातीमा तारा चम्काउने युवालाई तुलोमा हालेर तुलना गर्न मन लाग्छ । मूल्यमा आएको स्खलन देख्न नसकेर एउटा ग्वाँ-ग्वाँ रुन्छ, अर्को त्यही स्खलनमा खित्का छाडेर हाँस्छ । एउटा सांस्कृतिक भ्रष्टीकरणले पोल्यो भन्छ र आँसु झार्छ, अर्को यो त सांस्कृतिक अग्रगमन हो भन्छ र थुक उछिट्याउँदै हाँस्छ । एउटा उपभोक्तावादले घेर्‍यो र सिध्याउने भयो भन्दै लडाइँको तयारी खोज्छ, अर्को उपभोक्तावाद नै युद्धको लक्ष्य थियो भन्दै खाउँ, पिउँ र भकारी भरौंको स्वार्थ अटेस-मटेस डकार्छ ।
इतिहासको महारोग, घुमिफिरी रुम्जाटार । पँुजीवाद, पँुजीवादी संस्कृति र बुर्जुवा जीवन र दैनिकी भर्सेज जमिन, जमिनमा टेक्ने जनता र जनताले देखेको मुक्त आकाशको सपना । आखिर अन्तिममा सपनाकै हत्या ।
लेखक नेकपा-माओवादीका केन्द्रीय सदस्य हुन् ।
- See more at: http://www.sknepal.org/2013/09/27/7193.html#sthash.ZrjDVTWt.dpuf

No comments:

Post a Comment