Thursday, February 12, 2015

नेपाली कम्युनिस्टहरु किन अझै धार्मिक छन् ? - आहुति

नेपाली कम्युनिस्टहरु किन अझै धार्मिक छन् ?



-आहुति
Aahuti Photo 111
क. धर्म र नेपाली कम्युनिस्ट नीति
कार्लमाक्र्सले एउटा महान् संश्लेषण गर्नुभएको थियो, ‘धर्म मानिसको लागि अफिम हो ।’ नेपाली कम्युनिस्ट आन्दोलनले धर्मबारे लिएको नीति यही वाक्यका वरपर यहाँसम्म कि यो वाक्यको भित्री तहसम्म समेत पुग्न नखोजी केवल नतमस्तक भएर घुमिरहेको देखिन्छ । नेपालमा धेरैजसो कम्युनिस्टले यो वाक्यको अर्थ कसरी बुझेका छन् भने अफिम लठ्याएर बेहोस बनाउने लागू औषध हो, त्यसैले यसलाई प्रयोग गर्न हुँदैन, धर्म पनि त्यस्तै लागू औषध हो । माक्र्सको अभिप्राय त्यो होइन । त्यतिबेला असाध्य रोग लागेकाको शारीरिक पीडा कम गर्न कुनै ‘पेन किलर’ औषधि बनेको थिएन, त्यसकारण त्यतिबेला त्यस्ता रोगीको पीडालाई भुल्याउन अफिम सेवन गराइन्थ्यो । यस अर्थमा माक्र्सको अभिप्राय के थियो भने पीडाग्रस्त मानिसलाई गलत तरिकाले नै भए पनि धर्मले अफिमले जसरी पीडाबाट छुटकारा दिने गरेको छ । माक्र्सले धर्मलाई गलत भन्नुभयो साथमा धर्मले नकारात्मक ढंगले पारेको सकारात्मक प्रभावको पनि शानदार ढंगले उजागर गर्नुभयो ।
नेपाली कम्युनिस्ट आन्दोलनले धर्मलाई गलत र यसको विरोध गर्नुपर्दछ भन्ने अत्यन्त सरलीकृत नीति मात्र अघि सारेको देखिन्छ । धर्मको ऐतिहासिक भौतिकवादी विश्लेषणसहित विश्वदृष्टिकोण परिवर्तनको अभियानसँग गाँसेर यसबारे गम्भीर नीति अघि सारेको देखिँदैन । नेपाली कम्युनिस्ट आन्दोलनले धर्मबारे लिएको अर्को नीति के थियो भने राज्य धर्मनिरपेक्ष हुनुपर्छ । ५० को दशकभन्दा अघिसम्म त कम्युनिस्ट आन्दोलन केवल धार्मिक स्वतन्त्रताको मात्र वकालत गथ्र्यो, त्यसपछि भने धर्मनिरपेक्षताको पक्षमा उभिन थाल्यो । हिन्दू धर्म नेपालमा शासक धर्म रहिआएकोले मुख्य प्रहारको निशाना हिन्दू धर्मले सिर्जना गरेका उत्पीडनलाई नै बनाउनु ठीक थियो तर यो द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण निर्माणको प्रश्नसँग सम्बन्धित भएकाले हिन्दूबाहेकका अन्य धर्मको जनविरोधी मानवविरोधी चरित्रमाथि पनि प्रहार गरिनुपर्दथ्यो । त्यसोचाहिँ हुन सकेन । केवल हिन्दू धर्म मात्रै गलत भए जस्तो, अरु धर्मप्रति भने उदारता अपनाएजस्तो कम्युनिस्ट आन्दोलनको नीति रह्यो, जुन त्रुटीपूर्ण छ ।
baburam
ख. नेपाली कम्युनिस्टको व्यवहार र धर्म 
नेपाली कम्युनिस्ट आन्दोलनमा रहेको धर्मबारे घनिभूत, व्यापक र दूरगामी रणनीतिको अभावका कारणले धर्मबारे नेपाली कम्युनिस्टको व्यवहार मूलतः ढोंगी र अवसरवादी प्रकारको रहन गएको छ । धर्मको विरोध वामपन्थी बालरोग जसरी चर्को रुपमा प्रकट हुने, त्यसपछि समयक्रमसँगै महादेवको तस्वीर कोठामा टाँस्नेस्तरमा एक सय असी डिग्री फन्को मार्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा हुनु धर्मबारेको छिपछिपे बुझाइका आधारमा गरिएको विरोध बाहेक केही होइन । कम्युनिस्ट आन्दोलनमा अहिलेसम्म कुनै न कुनै रुपमा जातपात कायम रहनु, महिलालाई दोस्रो दर्जाकै व्यवहार गरिनु अनि भाषण गर्दा धर्मको विरोध तर जनै लगाउन नछोड्नु, तामाङ नेता भए स्वयम्भूमै जलाउनु पर्ने, हिन्दू भए पशुपतिमै लाँदा राम्रो मान्नु, घरभित्र सबै धार्मिक अनुष्ठान तर बाहिर परिवारले मान्दैनन् भनी उम्किनु, भूमिगत होउन्जेल दशैंको विरोध तर खुला भएपछि सबैभन्दा ठूलो टीका उनकै निधारमा– यी र यस्ता प्रशस्त व्यवहारहरू छन् नेपाली कम्युनिस्टका जसले धर्मबारेको उनीहरूको उद्घोष वास्तवमा ढोंग पाखण्ड बाहेक अरु केही थिएन भन्ने प्रष्ट हुन्छ । करिब साढे ६ दशकको कम्युनिस्ट आन्दोलनमा पैदा भएका अत्यन्त थोरै नेता कार्यकर्तामात्र धर्मसँग सम्बन्ध विच्छेद गरेका पाइनु भनेको अँध्यारोमा टुकी अवश्य हो, तर झलमल उज्यालो भने हुँदै होइन ।
ग. नेपाली कम्युनिस्ट र केही टिठलाग्दा गल्तीहरू 
नेपाली कम्युनिस्टहरूले परम्परागत चाडपर्वलाई प्रगतिशील चेतना बाँड्न उपयोग गर्ने नीति लिँदै आए । तर चाडपर्व भने हिन्दू चाडपर्व मात्र रोजे, त्यो पनि आर्य खस चाडपर्व मात्र । मधेसी र जनजातिको चाडपर्वका बारेको कम ज्ञान किनभने लामो समयसम्म ठूला कम्युनिस्ट नेता आर्य खस उच्च जातका मात्र रहे अनि मधेसी र जनजाति ठूला नेता कार्यकर्ता नभएका कारणले मधेस र जनजातिका चाडपर्वलाई उपयोग गर्ने प्रस्ताव नै बन्न सकेन । परिणामतः कम्युनिस्ट पार्टीका समारोहहरू हिन्दू पहाडिया उच्च जातीय ढाँचामा ढालिए । कोही नेता चुनियो भने रातो टिका र फूलको माला प्रचलन नै बसालियो अनि मुसलमान र इसाई चुनियो भने पनि स्वाभावैले उसको मान्यता विपरीत माला र टिका लगाइयो । द्यौसी भैलोमा कम्युनिस्ट पार्टीले निर्णय गरेर ‘मह्पूजा’ गर्न जानुपर्ने नेवार युवती कायकर्तालाई रातभरि नचाइयो र ऊमाथि हिन्दू चाड लादियो, उसको आफ्नो चाड मान्न वञ्चित पारियो । लिंग पूजाको तीजसँग कुनै सरोकार नराख्ने लिम्बू महिलालाई सभापति बनाएर ज्यापु महिलालाई नचाइयो । स्कुल क्याम्पसको लागि पैसा बटुल्ने नाममा पार्टीका नेताको संयोजकत्वमा हिन्दू पुराण वाचन कार्यक्रम आयोजना गरियो । अझ कम्युनिस्ट नेताले उद्घाटनसमेत गर्ने गरियो । यस्ता अनगिन्ती उदाहरणहरू छन् जसमा कम्युनिस्ट पार्टीमा लागेका गैरहिन्दूहरूलाई हिन्दू कर्ममा निर्णय गरेर लगाइयो, विडम्बना लगाइँदैछ । यहाँसम्म कि जनयुद्धमा युद्धविराम गर्दासमेत दशैंको निम्ति भनेर गरियो । यसरी गम्भीरतापूर्वक हेर्दा के देखिन्छ भने कम्युनिस्टहरू एकहदसम्म चाहे त्यो थोरै नै किन नहोस्, गैरहिन्दू माथि हिन्दूकरण लाद्ने औजार बन्न पुगे । वास्तवमा यथार्थ यही हो– कम्युनिस्ट पार्टी साँचो अर्थमा धर्मनिरपेक्ष समेत बन्न सकेन । यी इतिहासका टिठलाग्दा गल्तीहरू कम्युनिस्टले तुरुन्तै सच्याउन जरुरी छ । तर दुःखद् पक्ष यसतिर ध्यान धेरैको छैन ।
jhalanathainthenameofgod
घ. दर्श वर्षको जनयुद्ध र धर्म 
तत्कालीन नेकपा (माओवादी) पार्टीले जनयुद्ध सुरु गर्नुभन्दा पहिलासम्म कम्युनिस्टको धर्मबारेको नीति या त ढोंग पाखण्डमा सीमित थियो या त केही योद्धाहरूको विशिष्ट व्यवहारमा सीमित थियो । तर जनयुद्धले धर्मद्वारा लादिएको तीनवटा गम्भीर नकारात्मक सामाजिक व्यवहारमाथि गम्भीर प्रहार गर्यो । एक, गाईको पवित्रतामाथि प्रहार गर्यो । जनयुद्धमा हाम्फालेका सबै हिन्दू समुदायबाट आएकाले (अपवाद पनि होलान्) गाईको मासु खाएर गाईको ईश्वरीय पवित्रतासम्बन्धी हिन्दू मान्यतालाई चुनौती दिए । अब नातासम्बन्ध जोड्दै जाने हो भने नेपालको कुनै पनि ब्राह्मण, क्षेत्री, सन्यासी परिवार, त्यसै स्तरका मधेसी समुदायका परिवार गाईसम्बन्धी आफ्नो मूल्यमा चोखो रहेका छैनन् । यथार्थ यही हो । नेपालमा जनजाति र दलितमाथि थोपरिएको यो अपवित्रताको साङ्लो जनयुद्धले कमसेकम बौद्धिकस्तरमा चकनाचुर पारिदिएको छ । गाई जनावर हो, धेरै दूध दिने जनावर त्यसलाई त्यही रुपमा मात्र बुझ्ने दृष्टिकोण बनाउन ढोका खोलिदिएको छ ।
दुई, जनयुद्धले दलितमाथिको जातपात छुवाछुत भेदभावका विरुद्ध ठूलै परिवर्तन ल्याएको छ । भेदभावलाई घटाउन र दलित जागरण ल्याउन त्यसले ऐतिहासिक भूमिका खेलेको छ । कहिल्यै हतियार बोक्न नपाएकालाई हतियारधारी बनाएर, छुवाछुत भेदभावलाई व्यवहारमा दण्डनीय बनाएर अनि दलितलाई नीतिनिर्माणमा नेतृत्व दिने प्रक्रियाको सुरुआत गरेर जनयुद्धले वर्णव्यवस्थाको ढाडमा धेरै पटक वज्र प्रहार गरेको छ । तीन, महिलालाई सशस्त्र बनाएर जनयुद्धले महिलामाथिको हिन्दू र अन्य सबै धर्मको उत्पीडनलाई गम्भीर चुनौती दिएको छ । निश्चित रुपमा जनयुद्धले धर्मसँग अभिन्न रुपमा सम्बन्धित यी विषयमा गम्भीर परिवर्तन ल्याएकै हो । तर ती परिवर्तन आमसमाजको सांस्कृतिक रुपान्तरणको रुपमा नभएर केवल जनयुद्धको बलमा भएका परिवर्तनको स्तरमा मात्र रहेकाले जनयुद्धको समाप्तिपछि ती उपलब्धी प्रतिगमनमा जाने गम्भीर खतरा उपस्थित भइसकेको छ । दलित र गैरदलितबीचको अन्तरजातीय विवाहमा भइरहेको सम्बन्ध विच्छेद त्यसको ज्वलन्त उदाहरण हुन् । त्यसकारण जनयुद्धले भत्काएका धार्मिक मूल्यमान्यतालाई पुनर्जीवित हुन नदिन र अग्रगामी बाटोमा अघि बढ्न कम्युनिस्ट क्रान्तिकारीहरूले ठोस योजना बनाउन तत्काल जरुरी छ ।
Madhav Nepal
ङ. नेपाली कम्युनिस्ट र धर्मनिरपेक्ष राज्य एवं गणतन्त्रको स्थापना 
तमाम गल्ती कमजोरीका बावजुद नेपाली कम्युनिस्ट आन्दोलन– त्यसमा पनि विशेषतः जनयुद्ध र त्यसको जगमा विकसित वि.सं. २०६२÷०६३ को जनआन्दोलनले नेपालमा गणतन्त्र र धर्मनिरपेक्षता स्थापित गरिछाड्यो । यो निकै ठूलो क्रान्तिकारी उपलब्धी हो । गणतन्त्रको अर्थ हो नेपालको शासकीय धर्म हिन्दूधर्मको राजकीय संरक्षण अन्त्य र धर्म निरपेक्षताको अर्थ हो धार्मिक स्वतन्त्रतासहित नास्तिक बन्ने नागरिकलाई वैधानिक अनुमति– निष्कर्षमा द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको प्रचारलाई वैधानिक स्वीकृति । यो उपलब्धीमाथि टेकेर नेपाली कम्युनिस्टले धेरै काम गर्न सक्ने स्थिति सिर्जना भएको छ । जरुरी छ, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा र सिंगै समाजको अधिभूतवादी प्रत्ययवादी विश्वदृष्टिकोण बदलेर द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण निर्माण गर्ने अभियान सञ्चालनको गुरु योजना ! त्यो गुरुयोजना बनाउन सक्छ कि सक्दैन भन्ने कुरामा नै नेपाली कम्युनिस्टको धर्मबारेको भविष्य निर्धारण हुनेछ ।
(‘धर्म र नेपाली कम्युनिस्ट’ शीर्षक लेखको एक अंश)

- See more at: http://kathmandutoday.com/2015/02/77765.html#sthash.XMKWotPH.dpuf

No comments:

Post a Comment