राजनीतिका मुख्य दुईटा धार हुन्छन्, एउटा बामपन्थी र अर्को दक्षिण पन्थी । यसो पनि भनौं एउटा प्रगतिशील र अर्को प्रजातन्त्रबादी । सोझै भन्दा एउटा कम्युनिष्ट र अर्को कांग्रेस । नेपालको सन्दर्भमा तीन वटा धार छन् तेश्रो धार हो राजाबादी । तेश्रो धार वास्तवमा हुन्न र नहुनु नै पर्ने हो र पनि यहाँ छ यो अनौठो कुरो हो । पार्टी कति छन् यो सामान्य कुरा हो । यो तेश्रो धारको मार्गचाहिँ प्रतिगामी देखि यथास्थितिबादी सम्म हो । जसरी समय अथवा काल दुई प्रकारका मात्र हुन्छन् । हामीले तीन प्रकारका काल मानेका हुन्छौँ । भविष्य र भुतकाल । गहिरिएर हेर्ने हो भने बर्तमान काल हुँदैन । जो बित्यो भुतकाल हो र आउने भविष्यत काल हो । एक सेकेण्ड पनि बितेको भुत काल हुन्छ र आउने सेकेण्ड भविष्य नै हो । हामीले घडि हेर्ने हो भने स्पष्ट हुन्छ अघिल्लो सेकेण्ड गयो पछिल्लो सेकेण्ड आउनै बाँकी छ । तेश्रो धार भनेको गाईले घांस खान्छ र निल्छ, अर्थात बिचमा राख्छ । पछि उग्राएर चपाउँछ अनि अन्तिम पटक निल्छ । पहिले निलेर उग्राउनुपूर्बको समयलाई बर्तमान भनिन्छ । राजाबादी पनि त्यस्तै हो । राजनीतिमा राजाबादीको अवस्था उग्राउनु पूर्बको जस्तो हो । उग्राएर पुनः निलेपछि राजतन्त्रबादीको आयु समाप्त हुन्छ । नेपालमा यो तेश्रो धारको आयु समाप्त हुने प्रकृयामा छ । मान्छेले उग्राउन्न तसर्थ राजनीतिक दर्शनका हिसाबले तेश्रो धार समाप्त भएको छ । कमल थापाको राजनीतिक बिचार कांग्रेस हो । पहिलो र दोश्रो धार असफल भएको अवस्थामा तेश्रो धार सकृय देखिएको भान हुन्छ । भएको पनि यस्तै छ ।
मान्छेले जब बिपनामा केही गर्न सक्दैन वा बिपना प्रति बिश्वाँस गर्दैन सपनापछि दौडन्छ ऊ मानसिक रोगी हो । राजतन्त्र आउँछ भन्नु सपनामा रमाउनु हो । मान्छे सपनामा हिड्छन् । सपनामा देखेको पैसाको थैलो बिहान सिरानीमुनि खोज्छन् । सपनामा फलानो कुरा देखियो भनेर बिपनामा जाति र नजाति हुने कुरामा समय खेर फाल्छन् । मरेर बदला लिन्छु वा यमलोकमा गएर बदला लिन्छु भने जस्तै हो । सपना त कल्पनाको बिशृंखलित तानाबाना मात्र हो । यदाकदा सपनाले बिपनासंग मेल खाने संकेत पनि दिएको हुन्छ । यसैको जोखना गरेर राजाबादीहरुले खरानी घसेका हुन्छन् वा छन् । यसबारे यो भन्दा बढी नभनुँ । प्रश्न उठ्न सक्छ, के बिगतको राजतन्त्र सपना नै थियो त ? हो, समय त्यस्तै थियो फलानो राजाले यस्तो सपना देख्यो भन्ने आधारमा नीति बन्दथ्योे, युद्धको तयारी हुन्थ्यो दण्ड सजायँ हुन्थ्यो र मान पगरी दिइन्थ्यो । तसर्थ त्यो समय बढी सपनाकै आधारमा चल्दथ्यो ।
धारको सन्दर्भमा दुइटा मात्र धार हो भने यति धेरै दलहरु किन त ? प्रश्न यो पनि उठ्न सक्दछ । एउटै धारमा पनि सबैको स्तर बराबर हुँदैन । सबैको सोँच एकै नासको हुँदैन । सबै पास भएका बिद्यार्थीको अंक बराबर हुँदैन । ३२ प्रतिशत अंक ल्याउने र ९५ प्रतिशत अंक ल्याउनेको खरिदार पदमा प्रतिस्पर्धा गर्ने हक बराबर हुन्छ । कोही कडा खाले कम्युनिष्ट होलान् कोही नरम खाले होलान् । आजसम्मको मान्यतामा माक्र्सबाद, लेनिनबाद तथा माओबाद मान्नेहरु कम्युनिष्ट हुन् , अरु सबै कांग्रेस हुन् । नेपाली कांग्रेस नाम राखेको दल एउटा छुट्टै दल हो । बाणिज्य बैंक धेरै छन् राष्ट्रिय बाणिज्य बैंक नामको एउटा छुट्टै बाणिज्य बैंक हो । नाममा कुनै बाद नलेखिएको मजदुर किसान पार्टी पनि कम्युनिष्ट पार्टी हो । उसले बाद स्वीकारेको छ ।
पास भएका बिद्यार्थी र फेल भएका बिद्यार्थी अलग राख्दा ३२ प्रतिशत ल्याउने र ९५ प्रतिशत ल्याउनेको एउटा समुह हुन्छ भने प्रतिशतमा फष्ट डिभिजन छ तर बिषय लागेर फेल भएको छ भने ऊ फेल भएकाहरुको समुहमा बस्नु पर्दछ । राजनीतिक दलको अवस्था पनि त्यस्तै हो । एमाले खराब भए पनि कम्युनिष्ट हो र नेपाली कांग्रेस जति असल भए पनि कांग्रेस हो ।
राजनीतिक दलहरुमा एउटा बर्ग र आस्थाको एउटा समुह बन्नु पर्दछ । त्यस मानेमा बिभिन्न नामका कम्युनिष्टहरु एउटै मोर्चामा हुनु पर्दछ । त्यस्तै नाम जे सुकै भए पनि सबै गैह्र कम्युनिष्टहरु वा सबै कांग्रेसहरु एउटै मोर्चामा बस्नु पर्दछ । यसो भयो भने देशले कुन मोड लिने हो कुन दर्शनको आधारमा देशलाई लैजाने हो भन्ने किटान हुन सक्दछ । ३२ प्रतिशत अंक ल्याएर पास ग¥यो भन्दैमा एमालेलाई पाखा र ८० प्रतिशत अंक ल्याएर पास ग¥यो भन्दैमा नेपाली कांग्रेसलाई काखा गर्नु हुँदैन । नक्कली प्रमाण पत्र देखाएर पास छु भन्नेहरु पनि राजनीतिक दलमा सामेल छन् यस्तालाई आफ्नो समुहमा प्रवेश गर्न दिनु हुँदैन । बिडम्बना नेपालमा यस्तै भएको छ र राजनीतिले गति लिन सकेको छैन ।
माओबादीहरुले माले वा एमालेलाई देख्न नसक्ने, एमालेले तेश्रो धार समेतसंग एकता गरेर माओबादीहरुको पुत्ला जलाउने, चित्र बहादुरहरुले पनि तेश्रोधारकै भलो हुने काम गर्ने देखिएको छ । हुँदा हुँदा माओबादीबाट फुटेर गएका उसका उपग्रहहरुले परिक्रमा भने माओबादको गर्ने र फूल प्रसाद भने कांग्रेस वा तेश्रो धारमा चढाउने अवस्था देखिएको छ । यो ब्रह्माण्डकै अप्राकृतिक चरित्र हो । त्यस्तै अप्राकृत चरित्र मोहन बिक्रम सिंह र सिपी मैनालीले गरेका छन् जसले गर्दा एक्लो बृहस्पति भएर बस्नु परेको छ । सिद्धान्तका हिसाबले नरकमा गएका केशरमणि पोखरेल हालै बैतरणी तरेर एमालेमा प्रवेश गरेका छन् । ठीक त गरे तर उनको इतिहासको रातो टीका सधैको लागि कालो भएको छ । अर्का नेता राधाकृण मैनाली राजाको काखमा गएर बिटुलिएकोमा एकाएक माओबादीमा डुबुल्की मारे । चोखिने प्रयासमा माओबादीमा प्रवेश गरेका मैनालीको अवस्था पनि केशरमणिको भन्दा फरक होइन ।
अंशबण्डामा नमिलेका भाइहरुले सम्पत्तिको लोभमा आफ्नै दाजुभाइको हत्या गर्छन् । दलहरु फुटे भने पनि यस्तै हुने गरेको देखिएको छ । तै एकिकृत माओबादीबाट अलग भएको बैद्य समुहको माओबादीमा झगडाको त कुरै छाडौं साई सुईं शब्द पनि दुबै तिरबाट सुनिएको छैन । निकै तहल्का पिट्ला भन्ने हल्ला पनि क्रमशः सेलाएको छ । एउटै बिधिको कुलायन गर्न अलग भएको बैद्य समुहको दलमा सगोत्रीहरुको भन्दा परगोत्रीसंग सांठगांठ बढी भएको देखिँदा सबै नारा फुक्ला साबित भएका छन् । न जनसंघर्ष, न जनयुद्ध, न चुनाव, न जनबिद्रोह, न जनतामा उत्साह, बरु एक आपसमा गाँण कोराकोरले समग्रमा देशकै अधोगति हुनु सिबाय अरु केही होला जस्तो लाग्दैन । एकै ठाउमा हुंदा त लुतो सञ्चो नभएको अवस्थामा फुटेर बरु क्यान्सर होला शुन्यतामा पनि रहने अवस्था छैन । मातृका यादवले म बाहेक माओबादीमा कोही नेता ठीक छैनन् भन्न छाडेका छैनन् तर कार्यकर्ताहरु जर्सी गाईका बाच्छाको हालतमा भएको बुझिन्छ । नेपालका कम्युनिष्टमा झोला बोकेर पाहुना बन्दै पेट पाल्ने संस्कारको अन्त्य भएको छैन । यस्तो संस्कार भनेको राजनीतिक पुरेतबाद नै हो । हामीले हिन्दुसंस्कारमा टपरे बाहुन भनेर आलोचना गर्दछौं । कर्मकाण्डी टपरे चरित्र कम्युनिष्टमा झनै बिकृतिको रुपमा रहेको छ । ४ जना नेता मिल्न नसक्ने हुर्दुङ्गाहरुको हैसियत गयाका पण्डा भन्दा के फरक छ त ?
जे होस् सैद्धान्तिक हिसाबले आम जनता जम्मा दुई धारमा हुने छन् वा हुनै पर्दछ । छिरलिएका दलहरु वा नेताहरु सपना तथा सनकको भरमा भौंतारिका छन् । आफुलाई दार्शनिक ठान्दैमा दार्शनिक भइन्न । मिलेर हुने काम फुटेर सम्पन्न हुंदै हुन्न । एउटा दलमा मिलेर जनताको काम गर्न नसक्नेले फुटेर बाघ मार्छु भन्नु नामर्दहरुको भाषा हो । नेता नेता त मिल्न नसकेकाहरु जनतालाई आकर्षण गरेर ठूलो भाग खान्छु भन्नु बुढी स्वास्नीले माइत जान्छु भनेर घुर्की दिए जस्तो हो । नेपालमा संबिधान बन्न नसकेको कारणले आम नेताहरु, दलहरु, सभासदहरु, मन्त्रीहरु सबै घृणका पात्र छन् जनताका नजरमा । दश जनाले गर्न नसकेको काम दुई जनाले मात्र हामीले सक्छौं भनेर आए भने जंड्रयाहाको गफ जस्तो हुनेछ । जनता भनेका साइबेरियाका मालचरा होइनन् । सबैले कुरो बुझेका छन् । यसै त लोप्पा खुवाउन तम्सिएका छन् अझ बालीघरे नेताहरु भाग उठाउन जनता सामु आए भने बाँकी राख्लान् ?
९ जेठ ०६९
No comments:
Post a Comment