Sunday, March 22, 2015

प्रचण्डले गरे गौदान, साढे सातपछि अढैया सुरु

प्रचण्डले गरे गौदान, साढे सातपछि अढैया सुरु

Comrade Chabilal Dahal Prachanda Gau Dan
काठमाडौँ, ८ चैत ।
पाँचवर्षअघि भ्यालेन्टाइन डे अर्थात् १४ फ्रेबुअरीमा सुनसरीको चतरा पुगेर भैँसीपूजा गरेपछि अत्यन्त आलोचित बनेका एकीकृत नेकपा माओवादीका अध्यक्ष छविलाल दाहाल प्रचण्डले यस्तै अर्को धार्मिक अनुष्ठान गरेका छन् । अत्यन्त गोप्य ढंगसँग उनले केही समयअघि काठमाडौँमै ग्रहशान्ति गर्दै गाईदान (गौदान) गरेका हुन् ।
पार्टीमा अस्थिरता, राजनीतिक भूमिकामा उस्तै अशान्त र भाँडभैलो अनि अस्थिर मनस्थितिका कारण समस्यामा परेका प्रचण्डलाई गौदानसम्मको अनुष्ठानको कार्य गर्न लगाउने उनका व्यापारिक साझेदार अजेयराज सुमार्गी पराजुली हुन् । सुमार्गीले किनेको नयाँ घरमा करिब छ साताअघि प्रचण्डले गौदानसम्मको कार्य गरेको विषयलाई अत्यन्त गोप्य राखिएको छ ।
अस्थिर छन् प्रचण्ड
छविलाल दाहाल लामो समयदेखि अस्थिर राजनीतिक भूमरीमा फसिरहेका छन् । एकातिर पार्टीमा बाबुराम भट्टराईले नयाँ शक्ति आवश्यक भनेर लामो समयदेखि बहस चलाएपछि शीर्ष नेता बसेर वैशाखपछि बाबुरामलाई अध्यक्ष दिएर सर्वमान्य नेताका रुपमा बस्ने तयारी भएको थियो । त्यसो हुँदा पनि पार्टीमा सबै सन्तुष्ट नहुने देखिएपछि प्रचण्ड तनावमा परेका हुन् । उनी हरेक साता नयाँ विचार ल्याएर एजेन्डा बिर्सने र विषयान्तर गरिरहने पात्रका रुपमा परिचित नै छन् । यतिखेर नेकपा–माओवादीसँग सहकार्य गर्ने भनेर फेरि चर्चा चलिरहेका बेला प्रचण्ड नै अध्यक्ष रहेर एकीकरणको अभियान थालिएको छ ।
राशी नै त्यस्तो
विकिपिडियाले पनि छविलाल दाहाल प्रचण्ड भनेपछि नेपालका धेरै ज्योतिषहरु प्रचण्डको राशी मिथुन मान्छन् । कम्युनिष्ट नेताको जन्मकुण्डली गोप्य राखिएको छ । प्रचण्डको राशी भने कन्या हो । कन्या राशीकालाई मंसिरदेखि चैतसम्म साढे सातको खड्गोले सताइरहेको छ । त्यसैले कन्या राशीका धेरैले यसपटक होमहवन गरेर गौदान गरिरहेका छन् । एमाओवादीकै भ्रातृसंगठन क्रान्तिकारी पत्रकार संघका एक केन्द्रीय सदस्य पनि कन्या राशीका छन् । उनको र प्रचण्डको खड्गो उस्तैउस्तै देखिन्छ । उनी भन्छन्, ‘माघ–फागुन–चैतमा कुनै पनि कार्यमा सफलता मिल्दैन, वैशाखदेखि राम्रो हुन्छ भनेका छन् ।’ उनले पनि होमहवन गरेर गौदान गरेका छन् । ‘नाम चैँ नदिनुस्, तर प्रचण्डले गौदान नै गरे भने मैले चैँ गाईआकारको मूर्ति दान गरेँ,’ उनले भने, ‘मैले पनि त्यही गरेँ, तर अहिलेसम्म राम्रो संकेत आइरहेको छैन ।’
कन्या राशीका मानिस अरुलाई अधिक विश्वास लागे पनि मनमा जहिले शंका गर्ने स्वभावका हुन्छन् । झल्याँस्स हुने, विश्वास कुनै पनि बेला टुट्न सक्ने अवस्था देखाउने स्वभाव पनि हुन्छ । प्रचण्डमा यो शतप्रतिशत लागु भइरहेको छ ।
सुमार्गीको जोहो
प्रचण्डलाई सुनसरीको चतरा पु¥याएर भैँसीपूजा गर्न लगाउने काममा त्यतिखेरका केही हिन्दूवादी पनि लागेका थिए । ब्राम्हणलाई भनेर उनलाई भैँसीपूजा गर्न लगाइएको थियो । यतिखेर भने स्वामी कमलनयन आचार्य र अजेयराज सुमार्गीको गठजोड राम्रो छ । सुमार्गीले नै यो सबै जोहो गरेर प्रचण्डलाई गौदान गर्न लगाएका हुन् । तर, यो घटनालाई अत्यन्त गोप्य राखिएको छ ।
साढेसातले संविधानमा अन्यौल
प्रचण्डको अस्थिर राजनीतिका कारण अहिले कुनै सहमति भइरहेको छैन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अडानसँग असन्तुष्ट बन्दै बेलाबखत ‘माधवकुमार नेपाल खोइ ?’ भन्दै प्रचण्ड हिँड्ने गरेका छन् । माधवकुमार नेपालले पनि फोन गरेर सहमतिमा आउनुस् भनेर ढाडस दिने गरेका छन् । कहिले सँगै फिल्म हेर्न जान्छन् । तर कन्या राशीका मानिसलाई परेको खड्गोका कारण प्रचण्डले सोचेजस्तो हुन सकिरहेको छैन । राजनीतिक संयन्त्रमा सहमति जुटेको छैन । ३० दलीय मोर्चामा पनि अडान र स्पष्टता छैन । नेकपा–माओवादीसँग मिलन पनि सहज छैन । प्रचण्डलाई परेको खड्गोका कारण संविधानको मिति जुर्न सकेको छैन ।
के थियो प्रचण्डलाई ?
कन्याराशीका प्रचण्डलाई साढे सातको दशा थियो । त्यो बिस्तारै सकिँदैछ । पण्डितहरुले चैतसम्ममा साढेसातको दशा सकिने भन्दै गौदान गर्न लगाएका हुन् । वैशाखदेखि राम्रो हुने भनिए पनि प्रचण्डलाई अझै साढे दुई वर्ष समस्याले सताइरहने देखिएको छ ।
उनलाई अब अढैयाका दशाले छोएको छ । पण्डित देवीप्रसाद नेपालका अनुसार, अढैयाको दशा लागेका व्यक्तिलाई भनेको कुरा नपुग्ने, मन अस्थिर हुने, योजना धेरै बनाउने तर पूरा नहुने, निर्णयक्षमता कमजोर हुनेलगायतका समस्या देखा पर्छन् । प्रचण्डको राजनीतिमा यो अवस्था दैनिकी नै बनेको छ ।
अढैया दशा लागेकाले के गर्नुपर्छ ?
पण्डित देवीप्रसाद नेपाल भन्छन्, ‘त्यस्ता व्यक्तिले तिल, जौ, फलाम, कालोमास, कालो कपडा, एउटा हतियार, सखर, सानो घैँटामा पानी राखेर शनि मृतुञ्जयको पाठ गरेर जोगीलाई दान गर्नुपर्छ ।
– मोहन बास्तोला

 http://www.nepalese.org बाट साभार 

No comments:

Post a Comment