Sunday, March 22, 2015

'मिस टिन'मा छोरीलाई भोट माग्ने 'क्रान्तिकारी' नेताका कुरा- विश्वभक्त दुलाल आहुती

विश्वभक्त दुलाल आहुती, पोलिटब्युरो सदस्य, एनेकपा माओवादी












नेपालमा २००६ सालदेखि चलेको कम्युनिष्ट आन्दोलनमा माओवादी आन्दोलन नेपालको सामन्तवादमाथिको
 सबैभन्दा ठूलो प्रहार थियो। १० वर्षे जनयुद्धले नै नेपालको सांस्कृतिक, राजनीतिक तथा सामाजिक क्षेत्रमा 
ठूलो परिवर्तन ल्याएको थियो। अब माओवादी आन्दोलन पुनर्गठनको प्रक्रियामा नजाने हो भने म के देख्छु 
भने १० वर्षको जनयुद्ध र माओवादी आन्दोलनले नेपाली समाजमा जे जति सकारात्मक परिवर्तनहरु 
ल्यायो, त्यसको कम्तिमा पनि सय गुणा बढी नकारात्मक कुरा स्थापित गर्ने छौँ। 

एउटा सानो उदाहरण राख्न चाहन्छु। 

यो मञ्चमा बस्ने अधिकांश पुस्ता सुन्दरी प्रतियोगिताको विरोध गरेर आयो। त्यसको विरोध हामी मध्ये धेरैको 
टाउको फुटेको छ। तर केही समय अगाडि कुनै माओवादीको सेन्ट्रल लिडरको छोरीले मिस टिन 
प्रतियोगितामा भाग लिनुभयो। उहाँले फेसबुकमा फोटो राख्नुभयो। उहाँको बुबा अर्थात माओवादीको 
केन्द्रीय नेताले पनि छोरीका लागि भोट माग्नुभयो। भनेपछि मलाई के लाग्दछ भने हामीले यो 
अभियान नथाल्ने हो भने जति उपलब्धि भएको थियो त्यो भन्दा बढि नकारात्मक चिज नेपाली 
समाजमा दिएर बिदा हुने छौँ। यो निकै नै डरलाग्दो कुरा लागेको छ।


सोमवार प्रज्ञा प्रतिष्ठानमा भएको माओवादी पुर्नगठन अभियानको एक झलक, नन्दकिशोर पुन बोल्दै । 

दोश्रो कुरा हामी माओवादी भनेर जति ओटा पार्टीमा जतिथरी मान्छेहरु छौँ, म माओवादीमा 
चारथरी मान्छे देख्छु। पहिलो, बिग्रनका निम्ति मौका नखोजिकन सद्दे बँचेकाहरु। दोश्रो, 
बिग्रने मौका नपाएर सद्दे बँचेकाहरु। तेश्रो, बिग्रिएर प्रदुषित भएका तर पस्चाताप 
गरिरहेकाहरु। र चौँथो, बिग्रिएर भित्रभित्र आनन्दित भएकाहरु। यी चारथरी मान्छेहरु 
सबै पार्टीमा छरिरएर बसेका छन्। कुनैमा धेरै होलान्, कुनैमा थोरै।

इसाइहरुको चर्चमा कन्फेसन बक्स भन्ने हुन्छ। त्यो भनेको पश्चाताप गर्ने बाकस वा कोठा। 
हत्या बलात्कार जे जे गरेर गए पनि त्यहाँ भित्र बसेर (पादरी एकापट्टी र आफू अर्को पट्टी) 
मैले यस्तो यस्तो अपराध गरेँ, ईश्वरलाई खबर पुर्‍याइदिनुपर्‍यो, तपाईँले भनेर माफ गराइ 
दिनुपर्‍यो भनेर अपराधीले पादरीलाई भन्छ। अनि पादरीले ल ईश्वरकहाँ तेरो खबर जान्छ, 
तँ चिन्ता नगर अब निश्चिन्त भएर जा भनेपछि ऊ आफ्ना सबै पाप त्यही बाकसभित्र पाखलेर 
आउँछ। हामी माओवादीहरुसँग रेड कन्फेसन बक्स छ ? यो अभियानले त्यस्तो रातो पस्चाताप 
बक्स सिर्जना गर्न सक्छर ? मलाई लाग्छ सक्नुपर्छ। त्यसो गर्न सकियो भने मात्र यसलाई पुनर्गठन 
गर्न सकिन्छ। नत्र सानो चानचुने कुराले यो पुनर्गठित हुने म देख्दिनँ। त्यसको निम्ति धेरै नै ठूलो 
मेहनत जरुरी छ।

हामी सबैलाई थाहा छ, माओवादीको कुनै नेता बिग्रिएको समाचार आयो भने एक घण्टामा त्यो 
समाचार हराइसक्ने अवस्था आयो। जमाना यस्तो पनि थियो कि माओवादीको राज्य समितिको 
नेताले गल्ती गर्‍यो भने त्यो राष्ट्रिय स्तरको समाचार बन्थ्यो र त्यो महिनौँ टिकिरहन्थ्यो। तर, 
अहिले केन्द्रीय स्तरको कुनै नेता सडेको बिग्रिएको खबर आयो भने त्यो एकघण्टा पनि समाचार 
नबन्ने बेला भयो। किन ? किनकि हामी समाचारमा उठाउन नालायक बन्दै गैरहेका छौँ। यो निकै 
नै डरलाग्दो परिस्थिति हो।

पुनर्गठन अभियानमा मेरो शुभकामना छ तर विभिन्न समूहमा छरिएका माओवादीहरु एकताको 
अभियान पुनर्गठनको अभियान कति प्रतिशत हो भन्छ भने म ४९ प्रतिशत भन्छु र रुपान्तरको 
प्रतिशत कति हो भन्छ भने म ५१ प्रतिशत भन्छु।

रुपान्तरण बिनाको एकता हुनेवाला छैन। एकतामात्र भयो भने यो बुर्जुवा पार्टी भन्ने बन्ने खतरा 
हुन्छ। रुपान्तरणसहितको एकता भयो भने कम्युनिष्ट पार्टी बन्ने सम्भावना हुन्छ। त्यसैले 
रुपान्तरणसहितको एकता माओवादी आन्दोलनको अनिवार्य सर्त हो।

(काठमाडौंमा सोमबार आयोजित माओवादी आन्दोलन पुनर्गठन अभियान घोषणा कार्यक्रममा मन्तव्य राख्दै, 
आहुतीको फेसबुकवाट )

No comments:

Post a Comment