मानवद्वारा निर्मित दोस्रो प्रकृति नै संस्कृति हो। मानव समाजको उत्पत्तिसँगै संस्कृतिको अभ्युदय भएको हो। समाजको परिवर्तनसँगै संस्कृतिको पनि रूपान्तरण हुँदै जाने हुँदा संस्कृतिले तत्कालीन समाजको चरित्र, योग्यता र वस्तुस्थितिको प्रतिबिम्वित गर्दछ। समाज व्यवस्था जति उन्नत हुन्छ, संस्कृति पनि त्यति नै उन्नत र सभ्य बन्दै जान्छ। यो लेखमा संस्कृतिका विविध पक्ष तथा समाज व्यवस्थाका रूपहरूभन्दा पनि मूलतः नेपालको वर्तमान सांस्कृतिक धरातलमा मावनीय प्रेम विद्यमान छ अथवा पशुहरूप्रतिको मोह बढ्दैछ भन्नेबारे चर्चा गरिनेछ।
आजको विकसित वैज्ञानिक युगमा पनि नेपाली समाजले जातीय छुवाछूत, भेदभाव जस्ता घृणित प्रथाबाट उन्मुक्ति पाउन सकेको छैन। पुरानो रूढिवादी समाजको सांस्कृतिक स्तर र अहिलेको सांस्कृतिक स्तरमा मात्रात्मक सुधार त आएको छ तर गुणात्मक रूपमा सुधार भएको छैन। अहिलेको युवा पिढी तथा सचेत विद्यार्थी वर्गमा समेत पुरानो पिछडिएको रूढिवादी संस्कृतिले काखी च्यापिराखेको स्थिति छ। नेपालको वर्तमान परिस्थितिमा एकातिर, अहिले पनि मानवीय प्रेमको विकासको सट्टा भेदभाव, छुवाछूत या घृणाको अथस्था छ भने अर्कातिर, आज विशेषतः केही शहर बजार तथा सामान्यतः गाउँघरसम्म समेत मानिसहरूमा विभिन्न प्रकारका पशुप्रतिको मोह बढेको पाइन्छ। निश्चय पनि मानवीय प्रेमको ठाउँ पशुमोहले लिन्छ भने त्यसलाई सन्तोषजनक मान्न सकिन्न। त्यो संस्कृतिको विकसित रूप नभई पतनोन्मुख रूप हो। मान्छेहरूमा कुनै पनि अर्थमा अन्य पशुहरूप्रति माया, प्रेम हुनु गलत भन्न खोजिएको होइन तर मूल कुरा यो हो कि मानव–मानवका बीचमा भेदभाव, छुवाछूत कायम हुने, एक–अर्काले छोएकोसम्म नखाने, अर्कातिर, तिनै मानिसले कुकुर, बिरालो जस्ता जनावरका जुठो समेत खाने? यो सही कदम कदापि होइन। यसलाई कुनै पनि रूपमा संस्कृतिको विकास मान्न सकिँदैन।
कतिपय विकसित पुँजीवादी देशहरूमा कुकुर, बिराला पाल्ने गरेको, तीनको हेरचाहमा करोडौँ खर्च गर्ने गरेका समाचार बारम्बार पत्रपत्रिकामा प्रकाशित भइरहेको हामीले देख्ने गरेको थियौँ। तर त्यही प्रकारको स्थिति हाम्रो देशका कैयौँ भागमा रहेकोतर्फ भने हामीमा त्यति ज्ञान नहुन सक्छ। तर सत्य के हो भने अहिले नेपालका केही शहर बजारहरूमा कैयौँ घरमा पर्याप्त मात्रामा कुकुर, बिरालाहरू पाल्ने, तिनीहरूको हेरचाहमा कैयौँ रकम खर्च गर्ने, तिनै जनावरसँग समय बिताउने, बस, मोटरसाइकल यात्रा वा अन्य यात्रामा पनि सँगसँगै लैजाने जस्ता काम गर्ने गरेको भेट्न सकिन्छ। समाचार माध्यममा आए अनुसार त अझै अगाडि बढेर तिनै जनावरहरूसँगै यौन सम्बन्ध समेत राख्ने गरेका घटना पाइएको बताइन्छ। के यो सांस्कृतिक उन्नति हो? किमार्थ होइन। एकातिर, यस्तो चरम विलासिता छ, अर्कातिर, आज पनि नेपालका कैयौँ मान्छेहरू खान नपाएर मर्ने गरेका छन्। कैयौँ आधा पेट खाएर बाँचेका छन्। सोखका लागि पशु पाल्ने र पशुका निम्ति हजारौँ खर्च गर्नेहरूमा मूलतः तथाकथित ठूलावडा उच्च घरानियाँ शहरवासी नै छन्। तर त्यसैको देखासिकीमा मध्यम तथा निम्न वर्गका र गाउँवासी मानिसहरू पनि उन्मुख भएको पाइन्छ। कतिपय व्यक्तिवादी, छाडा स्वतन्त्रतावादीहरूले यो मोहलाई स्वाभाविक एवं सांस्कृतिक विकास समेत मान्ने गर्दछन्। तर मानवीयताको कुनै पनि दृष्टिकोणबाट त्यो सांस्कृतिक उन्नति हुँदै होइन। विषयवस्तु त्यत्तिमै सीमित नभएर केही घरहरूमा त परिस्थिति कैयौँ गुणा जटिलतातर्फ पुगेको छ। कुकुर, बिरालोप्रतिको त्यो मायाप्रेम र तिनीहरूको हेरचाहमा त्यत्रो खर्च गर्नेहरू अर्कातिर, आफ्नै परिवारप्रति, आफ्नै बालबच्चाप्रति समेत हेरचाहमा कमी ल्याएका कैयौँ उदाहरण बाहिर आउने गरेका छन्। त्योभन्दा ठूलो गैरजिम्मेवार संस्कृति के हुन सक्छ? तिनबाट समाजले के आशा गर्ने? अत्यन्तै निराशाजनक स्थिति देखिन्छ।
मानव जाति विकसित र सचेत प्राणी भएकाले उसमा मायाप्रेमको मात्रा पनि उच्च रहनु आवश्यक हुन्छ। तर आज मानवहरूमा त्यो प्रकारको मानवीय प्रेमको अत्यन्तै कमी देखिन्छ। मानव कुनै विशुद्ध, अलग प्राणी मात्रै नभएर समाजको महत्वपूर्ण सामाजिक प्राणी पनि हो। त्यसैले उसमा सामाजिक चेतना, सामाजिक प्रेम तथा उच्च सामुहिक सहयोगी भावना अनिवार्य रहनु पर्दछ। तर के आज त्यो श्रेष्ठता मानवमा जीवित छ? प्रश्नको उत्तर नकारात्मक नै पाइन्छ। विश्वको विद्यमान साम्राज्यवादी, पुँजीवादी संस्कृतिले मान्छेलाई सामूहिक, उन्नत र सभ्य संस्कृतिको विकासमा होइन, व्यक्तिवादी, छाडा, यौनवादी, निराशावादी संस्कृतिमा जोड दिन्छ। त्यसैको परिणामस्वरूप व्यक्तिगत स्वतन्त्रतालाई नै प्रधानता ठान्ने गरेको पाइन्छ। नेपालमा पनि एकातिर, त्यही साम्राज्यवादी र अर्कातिर, सामन्ती पिछडिएको संस्कृतिका कारण सभ्य संस्कृति, जनवादी संस्कृति होइन, व्यक्ति पूजा, शक्ति पूजा र छाडा संस्कृतिकै बोलवाला पाइन्छ। त्यस्तै व्यक्तिवादी सौखिन संस्कृतिको विकासले पनि काफी मात्रामा ‘पशु मोह’ एउटा सोखको रूपमा विकसित भई मानवीय प्रेममा खलबल पैदा गरेको छ। विभिन्न प्राणीहरूप्रति मानिसले बेग्ला–बेग्लै रूपमा बेग्ला–बेग्लै प्रकारले मायाप्रेम दर्साउने गरेका छन् र दर्साउन कतिपय अवस्थामा आवश्यक समेत छ। त्यो अनुचित विषय होइन। तर प्रश्न के होभन्दा एकातिर, मान्छे खान, लाउन नपाएर मर्ने, अर्कातिर, कथित व्यक्तिगत आनन्द या सोखका निम्ति पशुमोह राख्दै हजारौँ धनराशी खर्च गरिनु―के यो जायज हो? मान्छे–मान्छेबीच भेदभाव कायम हुने, छुवाछूत कायम हुने, एक–अर्काप्रति प्रेम नभै घृणा रहने, अनि पशुमोह असाध्यै बढ्ने? यो सांस्कृतिक विचलन हो र यसले मानवीय प्रेममा गम्भीर बाधा पुराउने हुँदा गलत पनि हो। हामीमा संस्कृतिको त्यतापट्टिको पतन होइन, उन्नत, सभ्य र सामुहिक हितलाई प्रधान ठान्ने जनवादी संस्कृतिको विकासतर्फ अगाडि बढ्न आवश्यक छ। त्यो नै सांस्कृतिक उच्चता र सुन्दरता हो।
No comments:
Post a Comment