Tuesday, May 19, 2015

किराँत राई र साकेवा पर्व- अर्जुन 'यावा'


"किराँत राई जातिको यदाकदा पाइने इतिहासअनुसार किराँतीहरू 3000 वर्षभन्दा पुराना जाति हुन्‌ । ' 21 जनवरी, 2005-को दिन सिक्किमको राजधानी गान्तोकस्थित होटल रेन्दबूमा आयोजित दुइ दिनव्यापी "अन्तरराष्ट्रिय किराँत सम्मेलन जातीय एकता र आपसी सम्पर्क'-लाई सम्बोधन गर्ने क्रममा "नेपाल किराँत केन्द्र समिति'-का महासचिव राजबहादुर राईले भनेका थिए । यद्यपि, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य बुलु मुकारुङसितको साक्षात्कारमा उनले भनेका थिए- "थेलेदोङ' (राईहरूको मितिथिति) को आधारमा किराँतीहरू 5000 वर्षअघिका जाति हुन्‌ र यलम्बर राजाकै कुरा गर्दा पनि यो कुरा प्रष्ट हुनसक्छ । यसभन्दा अझ अघिदेखि कै अथवा पुरानो जाति पनि हुनसक्छ । विश्वका धेरै देशहरूमा किराँत राई समुदाय पाइने भए तापनि यस जातिको मूल थलो नेपाल अधिराज्य हो भन्ने धेरै इतिहासकारको मत रहेको छ । किराँत ऐतिहासिक दर्पणअनुसार हरि चोङवाङ (सेनछेनहाङ) को भनाई यस्तो छ, वर्तमान नेपालमा आदिमकालदेखि बसोबासो गरिआउने प्रमुख जातिहरू नै किराँत भनी इतिहासले साबित गरिसकेको छ । नेपाली बृहत्‌ शब्दकोशले भनेको छ, पूर्वी नेपालमा पर्ने माझ किरात तथा पल्लो किराँतका नामले प्रसिद्ध एक प्रदेशमा बसोबासो गर्ने प्राचीन एक जाति राई-लिम्बू अर्थात्‌‌‌ प्राचीन नेपालमा शासन गर्ने एक राजवंश हुन्‌ किराँत राई जाति । हिन्दू धर्मग्रन्थअन्तर्गत वेद, उपनिषद्‌ तथा महाभारत कालमा उल्लेखित हिमवर्त खण्डमा शिकारबाट जीविका चलाउने, आदिम पहाडी जनजाति, जसमा भील्ल यक्ष किन्नर, गन्धर्व इत्यादि भन्ने उल्लेख्य रहेको इतिहासकारहरूले बताएका छन्‌ ।
यता सिरिया सूर्याको आधारमा किराँतलाई असूर पनि भनिन्छ । इतिहासले मानव जातिलाई चार वर्गमा विभाजित गरेको पाइन्छ । अफ्रिकन (निग्रो जाति ककेसियन (आँख कुइरो र अन्य) मङ्गोलाइट (आँखा चिम्से, रातो-पिरो देखिने) र आर्यन । तीमध्ये मङ्गोलाइटमा पर्ने एक जाति हुन्‌ किराँत राईहरू । मानव जातिको सृष्टिपछि बिस्तारै सभ्यताको विकास हुँदैआएको पाइन्छ । खाद्य पूरा गर्नको निम्ति खेती गर्नथाले । तत्पश्चात खेती तथा अन्नबाली, फसल सप्रियोस्‌ भन्ने सोच राख्दै भूमिपूजा गर्नथाले किराँत जातिहरूले । त्यही भूमिपूजालाई नै "साकेवा' भनिएको मानिन्छ । यस विषयमा किराँत जातिको साकेवा र खेतीपातीको सम्बन्ध रहेको तापामा र सियामा (दिदी-बहिनी) ले तान बुन्थे भन्ने इतिहासमा पाइन्छ, जसका आमा बाउ थिएनन्‌ । भाइ हेचाकुपा मात्र थिए । हेचाकुपा दिनभरि शिकार खेल्ने र दिदीहरू तान बुन्थे र खेती गर्थे । एकदिन भाइ हरायो । तर ढुकुर मारेको बेला भेटाए । ढुकुरको मासु उनीहरूले खाए तर ढुकुरले खाएको मकै, जौं, कोदो इत्यादि भएको गॉंड फालेको हुनाले त्यसबाट उब्जनी भयो भन्ने लोककथा छ । त्यसपछि मात्र साकेवा पर्व (पूजा) गर्न अर्थात्‌ मनाउन थालेको अनुमान लगाइएको छ ।
यद्यपि साकेवाको शाब्दिक अर्थ हुन्छ- सा भन्नाले मासु, के भन्नाले ढोल (पूजामा चलाइने) र वा भन्नाले (पानी) । सबै जातिको आ-आफ्नै भाषा, संस्कृति, भेषभूषा, रीतिरिवाज, पर्व-परम्परा आदि हुन्छन्‌ । यही नै मानव जातिको परिचायक अनि सिङ्गो राष्ट्रकै सभ्यता तथा सम्पत्ति पनि मान्न सकिएला । त्यस्तै "साकेवा' किराँत राईहरूको पर्वका साथै एउटा संस्कृति, एउटा परिचायक पनि हो, जसलाई पौराणिक कालदेखि नै मानिल्याएको बुढापाकाहरूको भनाइ छ । यसरी साकेवा पर्वलाई प्रत्येक वर्ष मनाउने अर्थात्‌ मनाउँदै आएको हामीसमक्ष प्रत्यक्ष छँदैछ । अघि भनेझैं यो पूजा गर्दा भूमिपूजा अर्थात्‌‌‌ नायुमा (नाग)-को पूजा गर्नु पनि हो, जसले गर्दा अन्न-बालीमा बढोत्तरी हुन्छ अथवा सप्रिन्छभन्ने लोकविश्वास रहेको छ । सिक्किममा पनि यो पूजा धेरै अघिदेखि प्रत्येक वर्ष (नेपाली नयॉं वर्ष) वैशाखी पूर्णिमाको दिनदेखि पञ्चमीसम्म गरिन्छ । परम्परागत हेर्नु होभने यो पूजा दुइपल्ट गरिन्छ । पहिलो हो "उँभौली' जसलाई नयॉं वर्षलाई अभिवादन चढाउने र वर्षको उब्जनी राम्रो होस्‌ भन्नाखातिर वैशाखी पर्वको रुपमा अथवा वैशाखमा गरिन्छ भने अर्को "उँधौली' जो मङ्गसिरमा गरिन्छ । यतिबेला अन्नबाली तथा फसल उठाएर वर्षभरि भएको अन्न उपार्जनमा सह रहोस्‌ भनी मुन्धुमसहित उही नायुमाको पूजा अर्चना गरिन्छ ।
साकेवा मनाउँदा कुनै एउटा घर-परिवारले मात्र नमनाएर यसलाई सामाजिक रूपमा सबै भेला भई प्रत्येक वर्ष एउटै ठाउँमा मनाउने गरिआएको छ । मुख्य कुरा के हो भने यतिबेला राई जातिमात्र नभएर सबै जातिका मानिसहरू भेला भएका हुन्छन्‌ । यसको अर्थ हो मानव एकता तथा मैत्रीभावको विकास गर्नु । यतिबेला विधिपूर्वक पूजा-पाठका साथमा धार्मिक नृत्य (साकेवा शिली) पनि प्रस्तुत गरिन्छ अथवा नाचिन्छ । यो चलन नेपालतिर विशेष रूपले पाउन सकिन्छ । साकेवा नृत्य अर्थात्‌‌‌ साकेवा शिली गर्दा अथवा नाच्दा आ-आफ्नो गाउँ-टोलबाट झुुण्ड-झुण्ड भई झ्याम्टा, ढोल बजाउँदै चामर (चौरीको पुच्छर) हल्लाउँदै खुर्मी (काट्‌ने सानो हॅंसिया जस्तै) खेलाउँदै सामूहिक नृत्य गरिन्छ । यो पनि एउटा ऐतिहासिक तथा पैराणिक परम्परा नै हो । साकेवा नेपालका विभिन्न उपत्यकादेखि सिक्किम, दार्जीलिङ, आसाम, हङकङ, दुबई, मलेशियातिर पनि भव्यताका साथ मनाउने गरिएको थाहा लागेको छ । सिक्किमका विशेषगरि पश्चिमेली क्षेत्रहरूमा साकोवा पर्व धुमधामले मनाउँने गरेको पाइन्छ । राज्यको पूर्व जिल्लामा पनि साकेवा पर्व पहिलेदेखि नै मनाउँदै आउने गरेको भए पनि 1990-को दशक यता किराँत राईहरू आफ्नो संस्कृति-परम्पराको संरक्षणमा गम्भीर देखिन्छन्‌ । सिक्किममा अखिल किराँत राई सङ्गठन (एकेआरएस) नामक सङ्गठन नै खोलिएको छ । यस सङ्गठनका शाखाहरू जिल्ला स्तरीय तथा खण्ड स्तरीय रुपमा चारै जिल्लामा सक्रीय रुपमा कार्यरत छन्‌ ।
उदाहरणस्वरुप राङ्का, लुम्से, तादोङ्‌ आदि । किराँतीहरूको मौलिक परम्पराको रूपमा रहेको साकेवाको साकेला, तोषी, तोस, सकिला आदि पर्यावाचिक शब्दहरू पनि पाइन्छन्‌ । साकेवा पूजा गरेपछि उपस्थित जनमाझ वाचिपा बॉंडिन्छ । अन्य भाषामा सायद यसको अर्थ लाग्दैन तर किराँती जातिको यो शब्दले जातीय चिन्हारीका साथै खाद्य परम्परा बोकेको हुन्छ । वाचिपालाई शाब्दिक अर्थमा यसरी हेरिएको पाइन्छ वा अर्थात्‌ कुखुरा अनि चिपा अर्थात्‌ तीतो । यहॉंबाट सिधैं अर्थ लाग्छ, वाचिपा कुखुराको मासुबाट बनाइन्छ । कुखुरा (विशेष गरी भाले) काटेर यसलाई पोलिन्छ । अघि नै वाचिपा कुखुराको मासुबाट बनाइने कुरा बताइएको भए पनि वास्तवमा कुखुराको डढेको प्वाँख (जो तीतो हुन्छ), मासु अनि त्यसमा भात पनि मिलाएर एक प्रकारको खाद्य परिकार बनाइन्छ । डढेको प्वाँखको धूलोले गर्दा यो तीतो-तीतो भए पनि पिरो र नुनिलो तथा मरमसला (विशेष गरी अदुवा)-ले गर्दा यसको स्वाद खुबै मीठो हुन्छ । प्रसादको रूपमा बॉंडिने यो वाचिपा आजभोलि जातीय भोजको रूपमा होटलतिर पनि राखिएको पाइन्छ । यसरी किराँत राई जातिको विश्वमा नै छुटै परिचय छ । आफ्नै रीतिरिवाज छ, आफ्नै संस्कृति छ, जसलाई हामीले बॅंचाउनुपर्छ । किराँत राई र साकेवा पर्व विषयमा यतिकुरा पर्याप्त हुँदैनन्‌ । त्यसै पनि यो छोटो लेखमा धेरै कुराहरू समावेश गर्नसकिन्न । प्रत्येक विषयको गहिराइसम्म पुग्नुपर्दा ग्रन्थ नै बन्ने हुन्छ । अर्कोतिर यी विषयहरूलाई केलाउन अझ धेरै खोजी गर्न बॉंकी नै रहेको देखिन्छ । यो अझै अनुसन्धानको विषय नै रहेको छ । यो त एउटा सङ्‌क्षिप्त जानकारीमात्रै हो ।
अर्जुन 'यावा
(समय दैनिक 27.05.२००८)

http://www.majheri.com बाट साभार 

No comments:

Post a Comment