यमरि–एक चाड एवं जात्रा

यमरि पूर्णिमा–नेवारहरुको महान चाडपर्व मध्य एक रहिआएको छ । मार्ग शुक्ल पूर्णिमाका दिन विशेष गरी उपत्यकाका नेवार समुदायले यो पर्व मनाउने गर्दछन् । यो पर्वमा विशेष रोटिको भोग गरिन्छ जसलाई यमरि भनिन्छ जुन भगवान लक्ष्मीले प्रदान गरेको प्रसादको रुपमा लिने गरिन्छ । आज सम्म पनि कसै कसैको घरमा यस यमरिलाई भगवान लक्ष्मी मानेर नयाँ भित्रेको धान भित्र राखि चार दिन सम्म पुजा गरि चार दिन पस्चात मात्र लक्ष्मीको प्रसाद भनि त्यसलाई निकाली आफुले पनि खाने र परिवारका अन्य सदस्यहरलाई पनि खुवाउने चलन रहि आएको छ । यस्तो गर्नाले धुकुटिबाट जति धान निकाले पनि कहिले नसकिने गरी भगवान लक्ष्मीले वरदान दिइन्छ भन्ने उक्त यमरि खानाले सबै परिवारका सदस्यहरु हृस्तपुस्त भई स्वस्थ रहने विश्वास गरिन्छ ।
आफ्नो जिवन पस्चात स्वर्गको भोग गर्न र पर जन्ममा पनि लक्ष्मीको प्राप्तिको निमित नेवारहरुले मार्ग शुक्ल पूर्णिमाका दिन यमरि बनाई माग्न आउने सवैलाई वितरण गर्दछन् भने लक्ष्मीको वरदान पाउने उक्त दिन नेवारहरु यसरी माग्न जाने पनि चलन पनि रहि आएको छ ।
यमरि एक जात्रा
यमरिको नेवार समुदायमा एक जात्रा पनि हुने गर्दछ । कोजाग्रत पूर्णिमाका दिन भक्तपुरको गोल्मढी तोलमा अवस्थित ने सं ७८९ चैत्र श्ुक्ल सप्तमीका दिन मञ्जुराम एवं अन्य व्यक्तिद्धारा निर्मित चैत्यमा विशेष पुजा गर्नुको साथै दुईमाना चामलको पिठोको ६ वटा यमरि वनाई पुजा गरिन्छ । त्यसैगरि मार्ग शुक्ल पूर्णिमाका दिन ललितपुरको लुभूमा भगवान महादेव र पार्वतीको ठूलो जात्रा गरी यमरि चढाउने समेत चलन रहि आएको छ ।
यमरिको प्रकार
यमरि पूर्णिमाका दिन वनाइने यमरिहरु जम्मा दुई किसिमका यमरिहरु पाइन्छ । १) त्रिकोणात्मक यमरि २) लतु (लम्चो) यमरि । त्रिकोणात्मक यमरिलाई भगवान पार्वतीको बासस्थानको रुपमा पनि लिने चलन छ भने लतु यमरिलाई भगवान महादेवको आकारमा लिने गरिन्छ । लतु यमरि भित्र चाकु, तिल राखेर वनाउने गरिन्छ भने त्रिकोणात्मक यमरि भित्र ७ प्रकारको दालहरु राखि अलि नुनिलो परिन्छ । तर अहिले आएर यसमापनि चाकु र तिल राख्ने चलन चलिसकेको छ ।
यमरि एक शुभ रोटि
यमरिको महत्व कोजाग्रत पूर्णिमा र मार्ग शुक्ल पूर्णिमामा मात्र नरहि नेवार समुदायमा बच्चाहरुको जोडि
यमरि बनाई यसको माला बनाई लगाई दिने चलन पनि रहि आएको छ र शुभकामना दिन आउने सवैलाई यमरि खुवाउने चलन रहिआएको छ ।
यमरि सम्बन्धी कथा
पहिले पञ्चाल देश (हालको पनौती) मा एक सुचन्द्र नामक धर्मात्मा ब्राह्मण बस्दथे । उनकी पत्नी पनि लोग्ने जस्तै धर्मकर्म प्रति आस्था भएकी स्त्री थिईन । एक दिन आफ्नो घरलाई सफा स्वच्छ गरी यमरि वनाई आफुले पनि खाई आफन्तहरुलाई पनि दिएर बस्दा भगवान कुवेरले यी ब्राह्मण ब्राह्मणी कतिको दानविर रहेछ भनेर परीक्षण गर्नका लागि भगवान गरिव ब्राह्मण भई भिक्षा माग्न गए । आफ्नो घरमा एक गरिब ब्राह्मण भिक्षा माग्न आएको देखि ब्राह्मणलाई माथि बोलाई आफ्नो असल लुगा लगाउन दिइ, यमरि खुवाए । यो भाव भक्ति देखि भगवान अत्यन्त प्रशन्न भएर आफ्नो असलि रुप देखाई यमरिको महत्वको बर्णन गरे र यसलाई धानमा राखि चार दिनसम्म पुजा गर्ने र चार दिन पछि निकालेर प्रसाद ग्रहण गर्ने, जस्ले गर्दा ठूलो फलिफाप हुनेछ भनि यमरिको महत्व बताई अन्तरध्यान भए ।
http://www.majheri.com बाट साभार
No comments:
Post a Comment