नेपाल अधिराज्यको रानधानी काठमाडौंदेखि ७ कि.मि.
मात्र दक्षिण-पश्चिम पर्ने समुन्द्र सतहवाट ४४६४ फिट उचाइमा रहेको एउटा गाउँ हो पांगा। यो पांगाको पूर्वतिर चोबहार,
पश्चिममा नःगाउँ र छुगाउँ,
उत्तर ऐतिहासिक नगर कीर्तिपुर रहेको छ भने दक्षिणतिर चम्पादेवी डाँडा रहेको छ जसलाई स्थानीय भाषामा धिनाचो पनि भनिन्छ। खास गरेर नेवारजातिको नै वस्ती रहेको यस पांगाको अर्को नाम शंखापुर वा शंकरपुर हो।
"शंखापुर"
भनेर नाउँ कसरी रहन गयो भन्ने कुरामा बुढापाकाहरुको विभिन्न भनाइ अनुसार यो गाउँलाई
"शंखापुर"
भनेर धेरै पहिलेदेखि नै भन्ने गर्थ्यो। पांगाको धुसि टोलमा रहेको गणेशलाई हरिविनायक मन्दिर,
लाछि टोलमा रहेको नारायण मन्दिरलाई हरिशंकर नारायण भनिन्छ भनिन्। यी देव मन्दिर र लाछिमा नै रहेको विष्णुदेवी,
भुजिन्दमा रहेको नारायणको मन्दिर तथा दिगुखेलको बालकुमारी मन्दिरहरु पुरानो हो भनिन्छ। यी पुराना मन्दिरहरु मध्ये हरिविनायक र लाछि टोलको हरिशंकर मन्दिर प्रमुख हुन्,
हरि भन्नाले विष्णु भगवान्
हुन्,
विष्णु भगवान्को एउटा हातमा रहने एउटा आयुध शंख हो,
तसर्थ विष्णु भगवान्को आयुधको नाउँ आउने गरी
"शंखापुर"
भन्ने गरिआएको हो भन्ने सुनिन्छ।
पांगाको दिगुखेल टोलमा रहेको दाफा गुठी(दाफा भजन)को
"थ्यासफू मे"
(हस्तलिखित गीत)मा पनि पांगालाई श्री शंकरपुरी भनेर प्रस्तुत गरेको पाइन्छ। जस्तै
जे श्री संकरपुरिथाहानं हादे हरिसंकर नारायण
नंदिभिंदि नात्येश्वर हादे भगवान मंजसली
कुमारी विष्णुदेवि इश्वरी आनंद विराज्य
नंदिभिंदि नात्येश्वर हादे भगवान मंजसली
कुमारी विष्णुदेवि इश्वरी आनंद विराज्य
विशेष गरेर यस ठाउँ पांगाको नाउँले नै सम्बोधन गर्ने गरी आएको छ। यो ठाउँको नाउँ पांगा कसरी रहन गयो भन्ने सम्वन्धमा विभिन्न जनधारणा पाइन्छ। योगी नरहरिनाथसंकलित
"देवमाला वंशावली"
(पृष्ट ९४)मा उल्लेख गरिए अनुसार
"पांगा शहर"
शीर्षकमा
"नेपाल संवत् ६२९।६३० सालमा राजा रत्नमल्लको पालामा भोटको"
कूं कूं नाम गरेको भोटे देवानले धेरै भोटेहरुसाथ लिई रात्री विशेष चोरी लुटपाट गरी दुनियाको बालीलाई ३।४ वर्ष सम्म दुःख दिएका हुनाले ती भोटेको लुटपिटवाट बचाउनलाई चौकीको खातिर ३०० घरको शहर बसाइ दिएका हुन् मल्लकालीन राजाहरुको समयमा कीर्तिपुरलाई संरक्षण गर्नको लागि पहरा दिने गाउँको रुपमा रहेकोले
"पाले गाउँ"
अर्था नेपालभाषामा पालेको अर्थ
"पा"
गाउँको अर्थ
"गां"
भई
"पा गां"
नाउँ रहेकोमा अहिले प्रचलनमा
"पांगा"
भन्ने गरिआएको छ। माथि वर्णन गरेका ती कुरालाई मनन गरी हेर्दा पांगाको वस्ती विकास विसं १५६८ तिर भएको देखिन्छ। अहिलेको हेर्दा ४८७ वर्ष अगाडि यो पांगा स्थापना भैसकेको छ।
पांगा,
यस वस्तीलाई देख्नासाथ यो नेवार जातिको वस्ती हो भनि चिन्न सकिन्छ। यो गाउँमा रहेका वासिन्दाहरु जातको हिसावले हेरियो भने महर्जन ९५%
र बाकी अन्य जातका जस्तैः श्रेष्ठ,
दुवाः,
नापित,
कसाही,
नकर्मी तथा कुस्लेहरु रहेका छन्। केही संख्यामा मात्र पर्वतीय समुदायका मानिसहरु रहेका छन्। पांगा एउटा मात्र वस्ती हो जो राजनीतिक कारण विसं २०१७ साल पछि देउताको नाउँ विष्णुदेवी र बालकुमारी पंचायत भनेर नामकरण गरी दुई ठाउँ जस्तो पारिएको थियो। फेरी विसं २०३२ सालदेखि २०३७ साल गाउँफर्क राष्ट्रिय अभियानले पांगा गाउँ पचायत भनी एउटै गाउँको रुप दिइएको थियो। नेपाल राजनीतिक परिवर्तनको क्रमसंगै २०४८ सालदेखि कीर्तिपुर नगरपालिका बन्नु अघि सम्म देवीहरुकै नाउँ विष्णुदेवी र बालकुमारी दुई गाउँ विकास समितिमा विभाजित गरिएको थियो। हुनत यो पांगा लगायतको कीर्तिपुर नगरपालिका क्षेत्र विसं २०१३ साल अगाडि सम्म ललितपुर जिल्ला भित्र रहेको पछिमात्र काठमाडौं जिल्ला अन्तर्गत पारिएको थियो।
कुनै पनि ठाउँको वस्तुस्थिति जान्नको निम्ति त्यसको नजिक रहेको रितिरीवाज,
धर्म,
संस्कृति र ऐतिहासिक कुरा पनि जान्नु आवश्यक हुन्छ। जस्तै
: पांगाको उत्तरतिर डांडामा अवस्थित ऐतिहासिक शहर कीर्तिपुरसँग सीमाना हिसावले नजिक रहेको छ भने धर्म,
संस्कृति र सामाजिकले पनि अगाध सम्बन्ध जोडिएको छ। पांगा र कीर्तिपुरको कस्तो सम्वन्ध छ भन्नेबारे उदाहरण पनि पाइन्छ। जस्तै
: पांगामा हुने जात्राको सम्वन्धमा प्रत्येक वर्ष मंसिर महिनामा हुने सातगाउँलेजात्राको अवसरमा हुने बालकुमारी र विष्णुदेवी जात्राको अवसरमा सम्पन्न हुने सिन्दुर जात्राका दिनमा पांगा देवपाटी
(द्यःफल्चा)मा विष्णुदेवी र बालकुमारीको खट
(द्यःख)
उठाउन कीर्तिपुरबाटै द्वारे पुजा नआइकन सो देवखट नउठाउने परम्परा थियो। यो पहिसम्म पनि चलिरहेको छ। त्यस्तै पांगामा गाईजात्रा चलाउने सन्दर्भमा आयोजक घर
"कजिछेँ"
को मूल मानिसलाई चाहिने
"तिर ख्वाःपाः"(रातो मुकुण्डो)
कीर्तिपुरको
"देय् गुथि"बाट ल्याउनु पर्छ। हाल सम्म पनि यो चलन चलिआएको छ।
"म्हुकं ख्वाःपाः"
(च्याउको मुकुण्डो)
चाहिं जहाँबाट ल्याए पनि हुने परम्परा रहेको पाइन्छ। यसरि हेरिंदा भौगोलिक हिसावले मात्र अर्थात् पांगा र कीर्तिपुर वीचको सानो खोला चीखुले सीमाना छुटाए तापनि पांगाको कीर्तिपुरसँगको सम्वन्ध धार्मिक तथा सांस्कृतिक आधारमा अत्यन्त नजिक तथा घनिष्ट रहेको पाइन्छ।
वि.सं १८९० साल अगाडि हालको नम्ख्वा भन्ने ठाउँ नै पांगाको पहिलेको वस्ती थियो। वि.सं १८९० को महाभूकम्प पछि सो वस्ति ध्वस्त भई हालको ठाउँमा वस्ती विकास भएको भन्ने कथन पनि सुनिन्छ। पांगा क्षेत्र विशेष गरेर हिन्दूधर्मका मन्दिरहरु अधिक मात्रामा पाइन्छ। यस सन्दर्भमा भारतको एक जना हिन्दू धर्मप्रचारक श्री शंकराचार्य नेपालमा आएर यस ठाउँमा बसेर हिन्दू धर्म प्रचार गर्नुका साथै यो ठाउँको नाउँ शंकरपुर भनेर नामकरण गरेर गएको भन्ने भनाइ पनि सुनिन्छ।
[साभार:
कीर्ति
(सामयिक अनुसन्धानात्मक पत्रिका,
कीर्ति अध्ययन तथा अनुसन्धान मण्डल,
कीर्तिपुर),
१:१
(नेसं ११२७ स्वांयापुन्हि/ई.
२००७ मे),
पौ ७३-७५।]
No comments:
Post a Comment